अध्यात्मवादले समाजमा विभेद र अपमान गर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले धर्मका नाममा ढुंगा पुज्दै हिँड्न विज्ञानसम्मत नभएको जिकिर गरे । उनले भने, ‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ । अध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरूलाई फुटाउनेतिर गएको छ । मैले अहिले यसमा डिबेट ठूलो गर्न लागेको होइन । हामीकहाँ त अब तेत्तिस कोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ नि । मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है । चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन् त । तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरीकन भनेको हो । हामी घरैपिच्छे पूजा गर्दै हिँड्ने मान्छेलाई पूजा गरे, गरिबलाई पूजा गरे कति राम्रो हुन्थ्यो । यो डिबेट हाम्रो समाजमा नै राम्रो डिबेट गर्नुपर्ने विषय छ ।’

अध्यक्ष प्रचण्डले अध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरूलाई फुटाउनेतिर लैजाने बताए । उनले विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठूलो बहस चलाउन आवश्यक रहेको बताएका हुन् । 

उनले यस्ता संस्कारले देशको विकास र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताए । उनले विज्ञानको दुरुपयोग र सदुपयोग दुवै हुने उल्लेख गर्दै विज्ञानको धेरै भन्दा धेरै सदुपयोग गरी देशको विकास गर्न जरुरी रहेको बताए । उनले सही विचारलाई बोकेर विज्ञानको प्रचारप्रसार र प्रयोग गर्न सके जनताको विकासलाई सहयोग पुग्ने बताउँदै देश विकासका लागि सबैले आफ्नो सोचाइ र हेराइको दृष्टिकोणलाई बदल्न वैज्ञानिक छलफल गर्न आवश्यक रहेको बताए ।  





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १२:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया