अछाममा पहिरोमा परी मृत्यु भएकाको सामूहिक दाहसंस्कार

अछाममा बाढी र पहिरोमा परी ज्यान गएका २३ जनाको आइत्बार सामूहिक दाहसंस्कार गरिएको छ । जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए । 

शुक्रबार रातिको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एकजना गर्भवती महिला, १७ बालबालिका सहित २३ जनाको ज्यान गएको थियो ।

परिवार पूरै सखाप हुने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । जिल्लाको कमलबजार नगरपालिका ६ विपथमा ७ जना, वडा नम्बर ८ ढाँकुमा ५ जना, तुर्माखाँद ५ नाडामा ९ जना र ढकारी ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एक–एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  

कमलबजार ६ विरपथकी २० वर्षीया धना जनाला ६ महिनाकी गर्भवती रहेकी र पेट काटेर हेर्दा गर्भमा छोरा रहेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ  ।

भौतिक क्षतिसमेत ठूलो नै भएको र त्यसको विवरण संकलन कार्य जारी रहेको डिएसपी डाँगीको भनाइ छ । स्थानीय तहले जथाभावी सडक निर्माण गर्ने गरेका कारण अछाम जिल्ला नै पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरो गएका सबै ठाउँमा सडकको कारण प्रमुख रहेको पाइएको छ । गत साउन ८ गते राति तुर्माखाँद २ भुलुमा पहिरो गई तीनजनाको मृत्युको कारण पनि घरमाथिको सडक रहेको जनाइएको छ ।



विनातयारी अध्ययनविना नै डोजरले बाटो खन्ने क्रम बढ्दो छ । पहिरो गएका आसपासका र अन्य संवेदनशील क्षेत्रमा अझै जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । 

पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटीलगायतले राहत दिन समेत थालेका छन् । सडक अवरुद्ध भएका कारण घटना स्थल सम्म जान समेत समस्या रहेको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका सभापति रत्नप्रसाद ढुंगानाले बताए । 



पहिरोमा परी घाइते ११ जना मध्ये तीनजनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । 

  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार २०:२६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया