केराको बिमा रकम नपाएपछि निजगढका किसान आन्दोलित

बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बिमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् ।मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् । 

बिमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन्। पटकपटक माग गर्दा पनि केराको बिमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको दुखेसो छ । उनीहरुले दुई दिनभित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

‘पटक–पटक माग गर्दा पनि बिमा कम्पनीले पाउनुपर्ने रकम दिएको छैन, अब दशैँ मनाउने पैसासमेत किसानसँग छैन,’ किसान साधुराम खरेलले बताए । समयमै केराको बिमाको रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको भनदै उनले दुई दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रुपमा चरणबद्ध आन्दोलन गर्ने बताए । 

यस्तै, बिमा रकम माग गर्दै संघका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निजगढका किसानहरुको अर्को टोली काठमाडौं पुगेको छ । टोलीले आइतबार कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरेर किसानको बिमा रकम तत्काल उपलब्ध गराउन माग गरेको छ । 

तत्कालीन हिमालयन इन्स्योरेन्स कम्पनी हाल हिमाल एभरेष्ट इन्स्योरेन्समार्फत निजगढका किसानले केरा खेतीको बिमा गरेका थिए । निजगढका किसानले कम्पनीसँग बिमाबापतको करिब ६ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । 

सम्झौताअनुसार बिमा कम्पनीले प्रतिकठ्ठा केराको क्षतिमा किसानलाई १४ हजारदेखि १५ हजार रुपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ ।



गत वैशाखको दोस्रो हप्ता आएको हुरीले क्षति गरेपछि किसानहरुले सबै प्रक्रिया पूरा गरेर सोही समयमा बिमा रकम दाबी गरेका हुन् । गत वैशाख १६ गते वर्षासँगै आएको हुरीले ५ करोडभन्दा बढी मूल्यबराबरको केरा खेती नष्ट गरेको थियो । 

स्थानीय किसानका निजगढमा करिब १२ सय बिघा केरा खेती गरिएकोमा करिब १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानले बताएका छन् ।



केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए ।

  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १८:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया