कांग्रेस असन्तुष्ट नेताको चेतावनी : पार्टीभित्र राजा जन्मिए, आफ्नैका विरुद्ध उम्मेदवारी दिनुपर्ने स्थिति आउन सक्छ

नेपाली कांग्रेसका केही नेताहरूले सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सिट बाँडफाँटको विषयमा असन्तुष्टि जनाएका छन् । गठबन्धनका शीर्ष नेताहरूबीच आसन्न आमनिर्वाचनका लागि सिट बाँडफाँटको विषयमा लगभग सहमति जुटेसँगै कांग्रेसका केही नेताहरूले असन्तुष्टि जनाएका हुन् । 

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बताए । बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् । 

नेता केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेस भित्रै सही मूल्याङ्कन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए । उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्याङ्कन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए । नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको बताए ।

‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ । गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई सङ्गठित र सहमति पूर्ण निष्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण दायित्व हो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्याङ्कन र समीक्षा गरेर सहमति पूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ,’ नेता केसीले भने, ‘अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ । अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा गइरहेको एकातिर भने अर्कोतिर छिमेकीहरूको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ । यसलाई बचाउन सक्ने तागत भएको पार्टी नेपाली काँग्रेस नै हो ।’

कांग्रेस अर्का नेता खेमराज केसीले समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाए । उनले अझै पनि सूची संशोधन गरी समान रुपमा टिकट वितरण गर्न सके नेपाली कांग्रेसले आगामी निर्वाचनबाट दुई तिहाइको सरकार बनाउन सम्भव रहेको बताए । उनले पार्टीमा नातागोता र आफन्त वादलाई हेर्दा न्यायोचित रूपमा टिकट वितरण हुन नसकेको बताए  । नेता केसीले न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीविरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउन सक्ने चेतावनीसमेत दिए ।

‘दुई तिहाइ आउन नेपाली कांग्रेसले अत्यन्त मिहिनेत गर्नुपर्छ, टिकट वितरण गर्ने प्रणालीमा निष्ठावान्, त्यागी र ज्येष्ठ सदस्यहरू, जसले पार्टीमा विशिष्ट योगदान गरेका छन्, ती मानिसलाई टिकट दिएको खण्डमा यो सम्भव छ । कतिपय कुरा पार्टीमा आफ्नो नातागोता हेर्ने गरिन्छ, त्यो पद्धतिलाई त्यागेर, एकनासले गहन रूपमा वितरण गर्नुपर्छ,’ उनले भने, ‘न्यायोचित रूपमा टिकट वितरण भएको खण्डमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको रूपमा सरकार बन्न सक्दछ । न्यायोचित रूपमा संस्थापन र संस्थापन इतर पक्षले अत्यन्त संयम भएर एकै ठाउँमा बसेर टिकट वितरण गरेको खण्डमा यो सम्भव छ, तर न्यायोचित टिकट वितरण नभएको खण्डमा त्यो परिस्थिति पनि नआउला भन्न सकिँदैन ।’



नेपाली कांग्रेसका नेता धर्म परियारले नेपाली कांग्रेसले केन्द्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताए । उनले नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझै पनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे । 

उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरू नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले समानुपातिकमा आफ्ना श्रीमतीहरूलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरू नै आज पार्टीका राजा बनेको आरोप लगाए । 



सम्मानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली काँग्रेस २५ सिटमा खुम्चिन सक्ने भन्दै उनले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने विरोधको विकल्प नभएको बताए ।

उनले भने, ‘टिकट दिँदा समानुपातिक हुनुपर्छ । प्रधानमन्त्रीले आफ्नो पत्नीलाई समानुपातिकमा राख्ने, गृहमन्त्रीले आफ्नो पत्नीलाई राख्ने, उहाँहरूको त्याग, मिहिनेत होला तर यसले राम्रो सन्देश दिँदैन । राजाको विरोध गरिरहँदा काँग्रेसभित्रै राजा त भएका होइनन् ? नेपाली काँग्रेस २५ सिटमा सीमित हुने त होइन, त्यस कारण नेता सच्चिनुपर्छ । केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर त्यस्तो नियतका साथ उहाँहरू कुर्सीमा बस्नुहुन्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ ।’

नेपाली कांग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढङ्गले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाउँदै यसरी पार्टीभित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताए । उनले पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए विद्रोहको विकल्प नभएको बताए । 

पार्टीभित्रै निरङ्कुश र सामन्ती व्यवहार भएकाले आफूहरूले विरोध गर्नुपरेको भन्दै उनले संस्थापन पक्षले नेकपा माओवादीलगायतका गठबन्धनका दलहरूसँग मिलेर आफ्नो पार्टी भित्रका नेताहरूलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए । 

‘समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढङ्गले आफूसँग नजिक हुनेलाई, अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिइएको छ । यो गैर जिम्मेवार छ । यो पार्टीको हितमा छैन । देशको हितमा पनि छैन,’ उनले  भने, ‘यो सूचीबाट धेरै जनप्रिय मान्छेहरू छुट्नुभएको छ । पार्टीमा योगदानको कदर, क्षमताको, लोकप्रियताको कदर हुँदैन भने विद्रोह गर्नु आवश्यक छ । ’

त्यस्तै कांग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भए पनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताए । राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभई जनताको जीवन बदल्ने माध्यम भएको बताउँदै उनले अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए ।

उनले भने, ‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ । गठबन्धनसँग जनमत छ । राजनीति भनेको जनताको जीवनलाई बदल्ने माध्यम हो । मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै राजनीति होइन ।’

कांग्रेस नेता अजय बाबु सिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरू पनि विरोधमा गएको दाबी गर्दै समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताए ।

उनले गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्ने बताउँदै भने, ‘समानुपातिकतर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरू पनि विरोधमा गएका छन् । ठूलो असन्तुष्टि छ, यसको सम्बोधन नगरी चुनावमा गए यसको घाटा गठबन्धनलाई नै पर्छ । गठबन्धन अघि बढाउने हो भने बन्द सूची संशोधन हुनुपर्छ । २३ गतेबाट हुने उम्मेदवारमा पनि न्यायोचित टिकट वितरण हुनुपर्छ । हाम्रो टिकट वितरणमा न्याय भएन ।’ 

  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार १३:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया