अस्तव्यस्त हेटौंडाको खसी बजार : उपमहानगरले कर असुल्छ, भद्रगाेल छ व्यवस्थापन

दशैंका लागि खसीको जोहो गर्न मकवानपुरको हेटौंडामा पनि भीडभाड बढिसकेको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको खसी बजारको अस्तव्यस्तताले चाहिँ त्यस्तो राम्रो छनक दिँदैन, बरु सर्वसाधरणहरुलाई थप हैरानी दिएको छ ।

हेटौंडा ५ पिप्लेका बालचन्द्र दुलाल खसीबोका बिक्रीका लागि बिहिबार हेटौंडा १० मा रहेको खसीबजार पुगे । हातमा दुईवटा खसी डोहो¥याउँदै आएका उनले ग्राहक नभेट्दै ५० रुपैंया कर तिरे । उनले तिरेको कर हेटौंडा उपमहानगरपालिकालाई हो । उक्त कर संकलन उपमहानगरले ठेकेदार कम्पनीलाई ठेक्का दिएको छ ।

तर, कर तिरेर खसी बेच्न त्यसका लागि छुट्याइएको स्थानमा पुगे पनि दुलालको मनले शान्ति पाएन । त्यहाँ समस्याको चाङ भएको उनले अनुभव गरे । ‘तिर्खा लाग्यो, खानका लागि न खानेपानीको नै व्यवस्था रहेछ, न शौचालयको नै,’ उनले भने, ‘घाम लागोस् कि पानी परोस्, खसीबोका रुझाएर राखेर नै बेच्नु पर्ने रैछ ।’

मनहरी ४ बाट खसी बेच्न खसीबजार आइपुगेका ललित थिङको पनि व्यथा उस्तै हो, उनले उपमहानगरले यसअघिका वर्षजस्तै समस्यालाई व्यवस्थापन नगरेको बताए ।

‘हामी खसीबोका व्यापार गर्न थालेको धेरै भैसक्यो । पहिले पनि केहि व्यवस्था थिएन । अहिले त झन् ठाउँपनि फेरिदिएको समस्या उस्तै छ । पानीले भिजेर खसीबोका बिरामी हुन्छन् । सिघाँन निकाल्ने खोक्ने जस्ता समस्या हुन्छ । अनि नबिकेर घाटा लाग्छ । कर तिरेअनुसारको सुविधा भएको भए चित्त बुझ्थ्यो,’ थिङले भने ।

हिलो, झाडी, अव्यवस्थित पार्किङका कारण हेटौंडा–१० बसपार्कमा रहेको खसी बजार अस्तव्यस्त बनेको हो । दसैं नजिकिएसँगै खसीबोका खरिद गर्न उक्त स्थानमा पुग्ने सर्वसाधारणले हैरानी बेहोर्न बाध्य छन् । उनीहरुसँगै खसीबोका व्यापारका लागि आउने व्यवापारीहरु निकै हैरानी खेपिरहेका छन् । वर्षभर खसीबोकाको व्यापार हुने त्यसमा पनि दशैंको समयमा अझै धेरै मानिसहरुको चहलपहल हुने भए पनि यसलाई व्यवस्थित बनाउनेतर्फ कुनै पनि सरोकारवाला पक्षको ध्यान पुग्न सकेको छैन । 



हेटौंडा उपमहानगरपालिकाले खसीबोकाको कर उठाउन ठेकेदार कम्पनीलाइ ठेक्का दिइएको छ । सोही अनुसार एउटा खसीबोका बरावर २५ रुपैंया कर तोकिएको छ । बिक्रीका लागि ल्याइएका खसीबोकाबाट कर उठाएपनि खसीबोकालाई राख्न टहरा निर्माण समेत गर्न सकेको छैन । त्यतीमात्रै होइन व्यापारी तथा सर्वसाधारणको लागि शौचालय, खानेपानीको समस्या पनि उस्तै छ । यस बिषयमा ठेकेदारहरुले कर उठाएर उप महानगरपालिकालाई नै बुझाउने बताउँदै अरु व्यवस्थापनमा पनि उपमहानगरपालिकाकै ध्यान जानु पर्ने कर संकलक नारायण लामिछाने बताउँछन् । 



निर्माण, व्यवस्थापन र सेवा सुविधाको सबै जिम्मा उपमहानगरपालिकाकै रहेको बताउँदै उनले भने,  “हामीले कर संकलन गरेर बार्षिक रुपमा बुझाउने मात्रै हो । व्यवस्थापन गर्न उपमहानगरपालिका नै चुकेको हो । यहाँ शौचालाय, ट्रष्ट भवन लगाएतका थुपै्र कुराहरुको आवश्यक छ । तर हामीले जति माग राखेपनि पूरा हुन सकेको छैन ।” लामिछानेका अनुसार सर्वसाधारण, व्यवसायीहरुसँगै कर उठाउने व्यक्तिहरुले पनि ठुलो समस्या भोगिरहेका छन् । कर संकलनको लागि घामपानी ओत्ने विटको पनि अभाव रहेको बताइएको छ । 

कर मात्र संकलन गर्ने र बजार व्यवस्थित नगरेको भन्दै व्यापारी तथा सर्वसाधारणले आक्रोश पोखेका छन् । खसीबोका बाँध्ने स्थान, शौचालय, खानेपानी र ढककाँटाको आवश्यकता रहेको सर्वसधारणहरुको गुनासो छ । अरु बेलाको तुलनामा दशैंको समयमा सर्वसाधारणहरुले सास्ती खेप्न परेको गुनासोहरु आइरहेकोले यसको निकासमा आफ्नो उपमहानगरपालिकाको ध्यान केन्द्रीत भएको बताइएको छ । दशैं अघि नै नसकिए पनि दशैंपछि सबै व्यवस्थापन गरिने भन्दै ठेक्का आव्हान गरिएको बताइएको हो । 

अहिलेको दशैंलाई तयारी गर्न नसकेपनि आगामी दिनहरुलाई व्यवस्थित गर्नको लागि उपमहानगरपालिकाकाले ठेक्का दिइसकेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले बताए । उनका अनुसार जय श्री शिव निर्माण सेवाले ८ लाख ८ हजार ५ सय १६ रुपैंयामा ठेक्का दिइएको हो । ‘बजेटले सबै निर्माण गर्न नसकिने भएपछि सेड निर्माण लागतको स्टेमेन्ट हुँदैछ,’ प्रवक्ता न्यौपानेले भने ।

उक्त खसीबोका बजारबाट दशैंको समयमा दैनिक ३० लाख रुपैयाँसम्मको खसीबोकाको कारोबार हुने गरेको छ । हेटौंडा बजारमा मकवानपुरको मनहरी, फापरबारी, हटिया, हर्नामाडी, नामटार, सामरी र हेटौंडा आसापासबाट खसीबोका बिक्रीका लागि ल्याउने गरिएको छ । यस स्थानबाट दैनिक ३० लाख रुपैयाँसम्मको खसीबोकाको कारोबार हुने गरेको छ । खसीबोकाको व्यापार हुने भए पनि यसलाई व्यवस्थित बनाउनेतर्पm सरोकारवाला पक्षको ध्यान पुग्न नसकेको भन्दै सर्वसाधारणहरुको गुनासो बढिरहेको छ । 

  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार ११:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया