जन परीक्षामा पर्शुराम बस्नेत !

सरकारले ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन गर्ने घोषणापछि नेपाललाई चुनावी माहोलले अहिले छपक्कै छोपेको छ ।

विभिन्न राजनीतिक दलका नेताहरु उम्मेदवारका आकांक्षी भएका छन् । टोलटोलमा चुनावी अभियानहरु सुरु भएका छन् । नेपाली हिन्दूहरुको सबैभन्दा ठूलो चाड बडादशैंको अवसर भएकाले पनि यस्ता कार्यक्रमले अझ बढी तीव्रता पाएका छन् ।

चुनावमुखी कार्यक्रममा मोरङ पनि अछुतो छैन । नेपालमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामध्येको एक हो, मोरङ । ६ निर्वाचन क्षेत्र भएको मोरङमा ऐतिहासिक जित निकाल्ने योजनामा छ, नेकपा एमाले ।

त्यही जिल्ला निर्वाचन क्षेत्र ६ बाट प्रतिनिधिसभा उम्मेदवार हुने भएका छन्, लालबाबु पण्डित । यसअघि पनि त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य भइसकेका थिए, पण्डित । 

मोरङ–६ को प्रदेश सभामा यसपटक नेकपा एमालेले कृष्ण बस्नेत (पर्शुराम) लाई उम्मेदवार बनाउने लगभग पक्कापक्की भएको छ । मोरङ ६ ‘ख’बाट प्रदेश सभाका लागि पहिलो पटक उम्मेदवार बन्न लागेका बस्नेत मोरङका लागि मात्र होइन, प्रदेश १ र नेपालकै लागि भने नयाँ अनुहार होइनन् ।

२०४८ सालदेखि नेकपा एमालेमा संगठित भएका बस्नेतले पछिल्लो समय नेकपा एमालेकै महत्त्वपूर्ण भातृसंगठन नेपाल खेलकुद महासंघको नेतृत्व सम्हालेका छन् । तिनै बस्नेत अब प्रदेश सभामा उम्मेदवार भएर ‘जन परीक्षा’का लागि आफूलाई तयार पारिरहेका छन् ।



‘संसदीय व्यवस्था भएको देशमा जनताको पूर्ण सेवक भएर काम गर्नका लागि संसदीय निर्वाचनमा होमिनै पर्ने रहेछ,’ बस्नेत भन्छन्, ‘मोरङका जनताको सेवामा मैले काम गरेको ३ दशकभन्दा बढी भइसकेको छ, अब उहाँहरुबाट यो परीक्षामा उर्तिण भएर थप सेवा गर्न मन छ ।’

त्यसो त मोरङ वा विराटनगर वा प्रदेश १ का लागि पर्शुराम बस्नेत नयाँ अनुहार वा नयाँ नाम होइन । देशमा तत्कालीन नेकपा माओवादी सशस्त्र द्वन्द्वमा हुँदा होस् या २०६२/६३ को जनआन्दोलनपछि पनि समाजमा राजनीतिक आवरणमा भएका अराजकताहरु किन नहुन्, बस्नेतले डटेर त्यसको सामना गरे, विराटनगर र आसपासमा भड्किँदै गएको सामाजिक सद्भावलाई कायम राख्न उनले खेलेको भूमिका विराटनगरवासीले मात्र होइन, उनकै पार्टी नेकपा एमालेका नेताहरुले पनि बारम्बार स्मरण गर्ने गरेका छन् ।



‘हामीले देशमा हिंसात्मक आन्दोलन हुनु हुँदैन र विराटनगरमा त झन् हुनै हुँदैन भनेर विभिन्न कार्यक्रमको योजना बनाउन थाल्यौँ,’ बस्नेत भन्छन्, ‘सामाजिक सद्भाव र्याली हामीले निकाल्न थाल्यौँ, हिंसात्मक आन्दोलनको विरोधमा कार्यक्रमहरु गर्न थाल्यौँ ।’

‘डर र त्रासबाट होइन, समाज विकास जनताको मन जितेर र सद्भावका साथ अगाडि बढाउनु पर्छ भन्ने मेरो मनमा थियो,’ बस्नेतले भने, ‘यही कुरामा पार्टी नेतृत्व पनि विश्वस्त थियो । त्यसैले हामीले मोरङमा राजनीतिका नाममा हिंसाका घटनाहरु हुन दिएनौँ ।’

यो २०६४ सालको कुरा हो । बस्नेतमाथि त्यही समयमा गोली प्रहार गरियो । ‘भूमिगत संगठनको नाममा ममाथि गोली प्रहार भयो,’ उनी भन्छन्, ‘दाहिने हातमा गोली लाग्यो, बाँच्न सफल भएँ ।’

आफूमाथि गोली प्रहार भएपछि बस्नेतले झन् दृढ भएर अठोट गरे– राजनीतिबाट समाजमा चेतना फैलाउने । त्यसपछि उनी थप सक्रिय भएर राजनीतिमा लागे ।

‘राजनीतिक जीवनको यही यात्राले मलाई अहिले झन् दृढ बनाएको छ,’ बस्नेत भन्छन्, ‘यही यात्रालाई म अझ बढी जनतासँगको यात्रा बनाउन चाहन्छु ।’

  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार २२:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया