सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, सिट बाँडफाँटमा जुट्ला सहमति ?

सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । सोमबार सिट बाँडफाँटको विषयमा सहमति जुट्न नसकेपछि बैठक आज बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

सोमबार बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरूबीच सिट बाँडफाँटको विषयमा बालुवाटारमा छलफल भएको थियो । तर, छलफलमा सहमति जुट्न सकेन । सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिटमा असन्तुष्टि जनाएका थिए ।

यादवले कांग्रेस र माओवादीले पेलेको भन्दै सिट बाँडफाँटमा आफूहरूको असन्तुष्टि सम्बोधन नभए गठबन्धनबाटै बाहिरिनेसम्मको चेतावनी दिँदै आएका छन् । सोमबारको बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो । 

कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन । रोल्पा रुकुमका प्रदेश सभामा कांग्रेसको दाबी भए पनि माओवादीले त्यसको सट्टामा कांग्रेसको प्रभाव क्षेत्रमा दाबी गरेको छ । त्यस्तै, जाजरकोटका दुवै प्रदेश सभा कांग्रेसले दाबी गरेको छ भने एउटा प्रदेश सभा माओवादीले दाबी गरिरहेको छ ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्र र नेकपा एसका बीचमा समेत केही क्षेत्रमा विवाद रहेको छ । अछाम, सल्यान, उदयपुर र खोटाङमा दुई दलबीच अझै विवाद कायमै छ । 





  • प्रकाशित मिति : असोज १८, २०७९ मंगलबार ७:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया