मोरङ - ६ (ख) मा पर्शुराम बस्नेतले दर्ता गराए उम्मेदवारी

मोरङ क्षेत्र नम्बर ६ (ख) बाट युवा नेता पर्शुराम बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ता र शुभचिन्तकहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रदेशसभा सदस्यका लागि नेता बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि जसपासँग तालमेल गरेको एमालेले सो क्षेत्र खाली राखेको थियो । 

सो क्षेत्र जसपालाई छाडेपछि तल्लो तहका एमाले कार्यकर्ताहरू निराश बनेका थिए । नेता बस्नेतले टिकट नपाएका कारण चर्को असन्तुष्टि बढेपछि उनलाई पार्टीले अन्तिम समयमा उम्मेदवार बनाएको हो । एमाले नेताहरूका अनुसार जसपासँग नयाँ समझदारी बनेको छ ।  निरन्तर विभिन्न सामाजिक कामहरूका कारण पर्शुराम बस्नेत जनता माझ निकै लोकप्रिय छन् । उनै बस्नेत आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका हुन् । 

उनको उम्मेदवारीसँगै सो क्षेत्रका जनता निकै उत्साहित भएका छन् । निरन्तर जनता माझ घुलमिल भइरहने बस्नेत जनताका हरेक सुख दुखमा साथ दिँदै आइरहेका छन् । जनताका हरेक समस्यामा साथ दिँदै आएका उनले उम्मेदवारी दिएसँगै सो क्षेत्रका जनतामा यति बेला उत्साह बढेको कार्यकर्ताहरू बताउँछन् ।  

बस्नेतले कोरोना महामारी मात्र होइन, बर्षेनी सताउने बाढी र विभिन्न समस्यामा निरन्तर सहयोग गर्दै आएका छन् । त्यसो त कुनै पनि साह्रो गाह्रो र अप्ठ्यारोमा बस्नेतको दह्रो साथ रहँदै आएको छ । बस्नेत कहिल्यै पनि जिम्मेवारी पछि नहट्ने युवा नेताको पहिचान देशव्यापी रूपमा बनाएका छन् । सुरु देखिनै नेकपा (एमाले) मा आबद्ध उनी पार्टीको विभिन्न जिम्मेवारीमा रहेर निरन्तर सामाजिक कार्यहरूमा अग्रसर हुँदै आएका छन् ।

हाल नेकपा (एमाले) को प्रदेश कमिटी सचिवालय सदस्य रहेका बस्नेत लाखौँ युवाहरूको आशा र भरोसाका केन्द्र हुन् । उनी देशव्यापी रूपमा लाखौँ युवाहरू संगठित भएको सबै भन्दा ठुलो सङ्गठन नेपाल खेलकुद महासङ्घको केन्द्रीय अध्यक्षसमेत हुन् ।

युवाहरू भविष्यका नभई वर्तमानका साझेदार हुन् भन्ने दह्रो अडान राख्ने बस्नेत युवा मात्र होइन, आम जनतामाझ पनि काम गर्न सक्ने सक्षम युवा नेता हुन् भन्ने छाप छोड्न सफल भएका छन् । बस्नेतले दुखको साथी नामक संस्थादेखि अन्य विभिन्न दर्जनौँ सङ्घसंस्थामा आबद्ध भएर निरन्तर सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन् । 



कुनै पनि समस्या लिएर आफूकहाँ आउने जो कोही भए पनि उनी तत्काल समस्या समाधानमा गर्न अघि सर्ने गरेका छन् । उनले आर्थिकरुपमा विपन्न परिवारका सदस्यहरूको उपचार सहयोगदेखि महामारीको बेला खाद्यान्न सहयोग मात्र होइन डुबान भएको बेला डुबान पीडितहरूलाई उद्धार र सहयोग गर्न तल्लीन हुँदै आएका छन् ।

तत्कालीन नेकपा (एमाले) को युवा सङ्गठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा आबद्ध भएर राजनीति सुरु गरेका उनी राष्ट्रिय युवा संघको केन्द्रीय उपाध्यक्ष समेत भए । युथ फोर्स मोरङका संस्थापक अध्यक्ष समेत रहेका बस्नेत पार्टीको तीन कार्यकाल जिल्ला कमिटी सदस्य भएर काम गरिसकेका छन् ।



प्रदेश १ को खेलकुद विकास बोर्डको संस्थापक सदस्य सचिव भएका उनले खेलकुद क्षेत्रमा धेरै उदाहरणीय कामहरू गरेका छन् । खेलकुद विकास बोर्डको संस्थापक सदस्य सचिव भएपछि उनले प्रदेश १ मा खेलकुद क्षेत्रको चौतर्फी विकासका लागि जग बसाल्ने काम गरे । खेलकुद क्षेत्रमा उनले थुप्रै नमुना र उदाहरणीय योजनाहरू अघि सार्न सफल बने ।

आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने पहिचान बनाएका उनै बस्नेतको उम्मेदवारीले निकै चर्चा चुलिएको छ । २०६२/६३ को जनआन्दोलन पछि भएको मधेस आन्दोलनका क्रममा सामाजिक सद्भाव कायम राख्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पुर्ख्यौली थलो दोलखाबाट विराटनगर आएर संघर्ष गरेका उनी थुप्रै उतारचढावहरू पार गर्दै अघि बढी रहेका छन् । मजदुरबाट सुरु भएको उनको राजनीतिक जीवनमा थुप्रै संघर्षहरु गरेका छन् । त्यसो त उनी कतिपय सन्दर्भमा उनलाई पार्टीभित्रकै केही व्यक्तिहरूले तारो बनाए पनि उनी कहिल्यै विचलित भएनन्, बरु उल्टै संघर्ष गरिरहे ।

उनले आफूलाई पार्टीले पत्याएर ठुलो जिम्मेवारी दिएको र अब आगामी निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भई आम जनताको प्रतिनिधि भएर अरूभन्दा नमुना र उदाहरणीय कार्य गरेर जनताको मन जित्न सफल हुने बताए ।

बस्नेत युवा पुस्ताले परिवर्तन चाहेको बताउँदै आफू परिवर्तनको संवाहक बन्न सक्ने बताउँछन् । उनले विगतमा आफूले भोगेको कठिनाइ र संघर्षबाट राजनीतिमा पनि धेरै परिवर्तन भइसकेको बताउँदै परिवर्तनबाट नै समृद्धि प्राप्त हुने बताए । संघर्षबाट नै केही सिकिन्छ भन्ने सोचाई राख्ने बस्नेत संघर्षबाट पछि हट्न नहुने बताउँछन् ।

सम्पूर्ण युवाबिच मात्र नभई बस्नेत यस क्षेत्रका उद्योगी, व्यवसायी, बुद्धिजीवीलगायत आम जनताबिच निकै लोकप्रिय युवा नेता हुन् । उनै बस्नेतलाई आगामी निर्वाचनमा जनताले आफ्नो जनप्रतिनिधि चुन्न आतुर देखिएका छन् ।

उम्मेदवारी दर्तापछि नेता बस्नेतले आम युवाहरूले परिवर्तन चाहेको बताए । उनले आफू परिवर्तनको संवाहक बन्ने र त्यसका लागि आम जनताले अत्यधिक मत दिएर निर्वाचित गराउने विश्वास व्यक्त गरे । 

उनले यसअघि निर्वाचित सांसदहरूले गरेको कामको हिसाबकिताब आम जनताले राखेको बताउँदै यस पटक नयाँ अनुहारका रूपमा आफू उम्मेदवार रहेकाले जनताको साथ र आशीर्वाद रहने बताए । 

  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १५:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया