खगराज अधिकारीलाई प्रश्नः तपाईं किन प्रदेशमा झर्नुभएको ?

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले आसन्न प्रदेश सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र कबाट उम्मेदवारी दिएका छन् । 

केन्द्रीय गृहमन्त्री, स्वास्थ्यमन्त्री तथा सांसद बनिसकेका अधिकारी यसपटक प्रदेशमा नेकपा एमालेबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहेर प्रदेशमा चुनावी अभियानमा होमिएका छन् । यसले नेकपा एमालेमामात्र होइन, गण्डकी प्रदेशको राजनीतिक वृत्तमा पनि नयाँ तरंग ल्याएको छ । 

गृहमन्त्रीसमेत बनिसकेका अधिकारी प्रदेशको मुख्यमन्त्रीको आकांक्षी रहँदै किन प्रदेशमा उम्मेदवारी दिन पुगे त ? फरकधारले उनलाई यही प्रश्न गरेको छ । 

फरकधारको यो प्रश्नसँगै अधिकारीले गण्डकी प्रदेशले भौगोलिक, विकास, साँस्कृति तथा पर्यटकीय अथाहा सम्भावना बोकेको र आफूले यी सम्भावनाहरुलाई मूर्त रुप दिएर विकास गर्नका लागि प्रदेशमा उम्मेदवारी दिएको बताए । 

‘सबैभन्दा पहिलो कुरा त म पार्टीको वफादार सिपाही हुँ,’ उनले भने, ‘पार्टीले मेरो आवश्यकतालाई प्रदेशमा देखेका कारण र गण्डकी प्रदेशमा हामीले उत्कृष्ट काम गर्न सकेको खण्डमा देशको मुहारसमेत फेर्ने सकिने सन्दर्भलाई लिएर पार्टीले मलाई प्रदेशमा उम्मेदवारी दिनु भन्ने निर्देशन दिएको हो, त्यसैले मैले प्रदेशमा उम्मेदवारी दिएको हुँ ।’

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनपछि नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा प्रदेश सरकार बनेको थियो । ‘हाम्रो पार्टीको यसअघिको सरकारले प्रदेशमा थालनी गरेका कतिपय कामहरु अझै पूर्ण भइसकेका छैनन्, ती जनपक्षीय कामहरुलाई अगाडि बढाउनु पर्ने छ,’ अधिकारीले भने, ‘ती कामहरु फत्ते गर्नका लागि पनि म पार्टीबाट प्रदेशमा खटिएको हुँ ।’



त्यस्तै पछिल्लो समय गठबन्धन नेतृत्वको प्रदेश सरकारले गरेका क्रियाकलापहरुका कारण पनि प्रदेशको औचित्य नै नभएको आवाज उठेकोले यो भ्रमलाई चिर्न पनि आफू प्रदेशमा केन्द्रित हुनु पर्ने अवस्था आएको अधिकारीले बताए । ‘हामीले जनतामाथि शासन गर्ने होइन, जनताको सेवा र सुशासन भएमा मात्र विकास सम्भव हुन्छ,’ अधिकारीले भने, ‘गण्डकी प्रदेशका सबैलाई सरकार आफू अनुकूल छ भन्ने महसुस गराउनका लागि पनि मैले प्रदेशमा यसपटक उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’ उनले गण्डकी प्रदेशमा अब बन्ने नेकपा एमालेको सरकारले जनतालाई आफू नजिकको सरकार हो भन्ने प्रत्याभूति गराउन आफू लाग्ने पनि बताए । 

‘जनतासँग घरदैलोमा गएर अबको सरकारले काम गर्नेछ, सरकार र जनताको सम्बन्ध सुदृढ हुनेछ,’ उनले भने, ‘सिंहदरबार र जनताको सरकारको सुसम्बन्ध कायम गर्नका लागि पनि पार्टीले मेरो आवश्यकतालाई प्रदेशमा देखेको हो ।’



पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, कोराला नाकाको प्रभावकारी सन्चालन, कालिगण्डकी कोरिडोर सम्पन्न गर्नका लागि पनि प्रदेशमा बलियो र जनमुखी सरकार आवश्यकता भएको सन्दर्भमा आफ्नो प्रदेशमा उम्मेदवारी भएकाले त्यसले जनतालाई आशा र भरोसा जगाएको पनि अधिकारीले बताए ।

‘गण्डकी प्रदेशमात्र होइन, नेपाललाई नै बदल्न सक्ने केही लाइफलाइन प्रोजेक्टहरु छन्,’ अधिकारीले भने, ‘उत्तरको रेलमार्ग पोखरासम्म ल्याउन र अन्य लाइफलाइन प्रोजेक्टहरुलाई पूर्णता दिनका लागि पनि मैले प्रदेशमा उम्मेदवारी दिए ।’ उनले आफूसँग पोखरा र प्रदेशका विभिन्न स्थानलाई पर्यटकीय, शैक्षिक, स्वास्थ्य तथा रोजगारीको राजधानी बनाउने योजना रहेकोले आफ्नो आवश्यकता प्रदेशमा महसुस गरिएको पनि बताए ।

  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १४:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया