मुगुमा पहिरोमा परी आठजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
लगातार वर्षाका कारण पहिरोको डरले आठजना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका प्रनाउ हमालले बताए । उनीहरुको सनाखत हुन सकेको छैन ।
पहिरोमा परी तीनजना अझै बेपत्ता छन् । बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले बताए । घटनास्थल सदरमुकामबाट तीन घण्टाको पैदल दूरीमा छ ।
पहिरो गएको सालिम गाउँमा झण्डै ३५ परिवारको बसोबास रहेको थियो । पहिरो आएपछि उनीहरु सबै सुरक्षित स्थानतर्फ लागेको प्रनाउ हमालले जानकारी दिए ।
जिल्लाका धेरैजसो ठाउँमा अत्यधिक वर्षाले क्षति पुर्याएको छ । जतातततै पहिरो गएको छ । बाटोघाटो अवरुद्ध तथा निरन्तर बाढी र पहिरो आएका कारण प्रहरी उद्धारमा खटिन नसकेको हमालको भनाइ छ ।
यसैबीच उद्धार तथा राहतका लागि सुर्खेतबाट आउने भनिएको हेलिकप्टर अबेर साँझसम्म गमगढी आउन नसकेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला कालिकोटमा समेत पहिरोमा परेकाहरुको उद्धार गर्न आएको हेलिकप्टर उतैबाट सुर्खेत फर्किएको बताइएको छ ।
मंगलबार बिहानै उद्धार र राहतका लागि हेलिकप्टर आउने प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न खोलाबाट उत्पादित बिजुली बन्द छ । जिल्लामा टेलिफोन सेवासमेत अवरुद्ध छ ।
पहिरोले मुहानै बगाएपछि जिल्लावासी बिजुलीविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।