नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनका तर्फबाट काठमाडौं–५ मा आसन्न प्रतिनिधि सभा निर्वाचनमा सदस्यका लागि उम्मेदवारी दिएका प्रदीप पौडेलले आफ्नो पहिलो उद्देश्य राजनीति सफा गर्ने भएको बताएका छन् ।
बिहीबार काठमाडौं–५ ले आयोजना गरेको क्षेत्रीय प्रतिनिधि भेलामा सम्बोधन गर्दै पौडेलले अहिलेको प्रमुख आवश्यकता भनेको राजनीति सफा गर्नु भएको बताएका हुन् ।
‘देशमा धेरै विकृतिहरु छन्,’ उनले भने, ‘राजनीतिमा पनि विकृतिहरु नभएका होइनन् । अब राजनीतिलाई पहिले सफा गरेर देशलाई र राजधानीलाई सफा गर्नु पर्छ । मेरो पहिलो उद्देश्य राजनीति सफा गर्ने हो र देशको राजधानीलाई सफा गर्ने पनि हो ।’
उनले काठमाडौं–५ देशकै लागि महत्वपूर्ण भएको र यो क्षेत्रमा देशका प्रमुख कार्यालयहरु भएकाले पनि यसको विशेष भूमिका नीति निर्माणमा हुने बताएका छन् ।
आफूलाई मतदाताले विश्वास गरेको खण्डमा कसैलाई पनि धोका नदिने बताउँदै पौडेलले आफूले देशमा र देशको नीति बनाउने कुरामा प्रभावकारी भूमिका निर्वाह गर्ने पनि बताए । ‘म तपाईंहरु कसैको पनि शिर निहुरिन दिनेछैन,’ उनले भने, ‘तपाईंहरुलाई लाज हुने स्थिति मैले निर्माण गर्ने छैन, बरु मैले गरेका कामहरुबाट तपाईंहरुलाई गर्वको आभास गराउने छु ।’
उनले काठमाडौं–५ मा विकासका लागि पर्याप्त स्थान र अवसर भएको पनि बताएका छन् । ‘डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्रका रुपमा विकास गर्न पहल गर्नेछु,’ उनले भने, ‘यो क्षेत्र सूचना प्रविधि केन्द्रका रुपमा, प्रशासनिक केन्द्र तथा हेल्थ हबका रुपमा पनि विकास हुने सम्भावना छ, म त्यसमा पहल गर्नेछु ।’
पौडेलले कार्यक्रममा संसारका प्रदुषित सहरहरुको नाम लिँदा काठमाडौंको पनि नाम आउने भन्दै अब यसको शुद्धिकरण तथा सरसफाइ गर्नु पर्ने समय आसकेको बताए । उनले यसका लागि आफूले विभिन्न योजनाहरु ल्याउने पनि बताएका छन् । काठमाडौंको प्रमुख समस्या ट्राफिक जामलाई अन्त्य गर्न पनि आफूले योजनाहरुको खाका बनाएको प्रदीप पौडेलले बताए ।
उनले काठमाडौंको नेवार समुदाय सभ्यताको प्रतीक भएकाले त्यसलाई अझ संरक्षण गर्दै समृद्ध बनाउन पनि आफूले र आफ्नो क्षेत्रले भूमिका खेल्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।