रोचक चुनावी भिडन्त : पहिलेका सहकर्मीसँगै हुँदैछ प्रतिस्पर्धा

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मकवानपुरका नेता तथा कार्यकर्ताहरूले आफ्नो तयारी थालिसकेका छन् । जिल्लामा चुनावी माहौल तातेको छ । अहिले उम्मेदवारी दर्ता गराएर निर्वाचनमा होमिन लागेकाहरूको दौडधूप बढिरहेको छ । 

त्यसो त आगामी संघीय निर्वाचनमा मकवानपुरमा रोचक भिडन्त हुने आकलन छ भने गत २०७४ को प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचनमा एउटै दल भएर मत माग्दै हिँडेका हरु आगामी निर्वाचनमा प्रतिस्पर्धाको भूमिकामा उभिने भएका छन् । 

दुई वटा प्रतिनिधि सभा क्षेत्र तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा गत निर्वाचनमा नेकपा एमाले तथा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका र उम्मेदवारलाई सघाएका हरू आगामी निर्वाचनमा मैदान उत्रँदै छन् । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह र राप्रपाबाट अलग्गिएर राप्रपा नेपाल ब्युँताउँदै केन्द्रीय अध्यक्ष बनेका कमल थापा बीचमा कडा प्रतिस्पर्धा हुने भएको छ । 

कमल थापा र दीपकबहादुर सिंह

तत्कालीन राप्रपा पार्टी एक हुँदा एकै सर्कुलरमा रहेर निर्वाचनमा सघाउँदै आएका थापा र सिंहबीचमा नै चुनावी भिडन्त हुँदा माहौल पक्कै रोचक बन्ने छ । त्यसो त थापा र सिंह दुवै जना चुनावमा पराजित भइरहने चर्चा चलेका व्यक्तिहरू हुन् । पटक पटक निर्वाचनमा हार खाएका थापा यो पटक एमालेको सहारामा विजयी हुने दाउमा छन् । ६ पटकसम्म पराजित भएका थापाले एक पटक मात्र जितेका छन् । 



२०४८ मा मकवानपुर १ मा प्रतिनिधिसभा सदस्य चुनाव लडेका उनी एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भए । २०५२ मा मकवानपुर १ र ३ दुवै क्षेत्रमा उम्मेदवार बने । १ मा जितेका उनी ३ मा पराजित भए ।  २०५६ मा १ र ३ मा उठेका उनी दुवै क्षेत्रमा पराजित भए । २०६४ मा काठमाडौं–५ र मकवानपुर ३ मा चुनाव लडे, तर दुवैमा पराजित भए । २०७० मा समानुपातिक पद्धतिमा बसेर संविधानसभा सदस्य भएका थापा २०७४ मा कांग्रेसको समर्थनमा मकवानपुर १ मा उम्मेदवार बनेका थिए, तर फेरि पराजित भए । एमालेका कृष्णप्रसाद दाहाल ४० हजार ६३१ मतका साथ विजयी हुँदा थापाले ३४ हजार ६५८ मत पाएका थिए ।

यता, थापासँग प्रतिस्पर्धामा उत्रन लागेका सिंह पनि चार पटकको निर्वाचनमा नै पराजित भैसकेका छन् । उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन देखि प्रख्यात बनेका थिए । स्थापनाकालदेखि नै राप्रपामा सक्रिय रहेका उनी २०५४ सालमा  हेटौंडा उपमहानगरपालिकाको मेयरका प्रत्याशी एमालेका डोरमणि पौडेलसँग ६ सय मतान्तरले पराजित भएका थिए । 



त्यसपछि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका उनले तत्कालीन नेकपा एमालेका उम्मेदवार रहेका विरोध खतिवडासँग १५ सय मतान्तरले पराजित भएका थिए । 

त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग २ हजार मतान्तरले पराजित हुन परेको थियो भने गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीकी मीना लामासँग २५ सय मतान्तरले पराजित भएका थिए । चार पटकको निर्वाचनमा पराजित भएका उनी पाँचौँ प्रयासस्वरुप मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को लागि राप्रपाका उम्मेदवार हुन् । 

सिंहको कडा प्रतिस्पर्धी को रूपमा रहेका कमल थापालाई एमालेको पनि साथ रहेपछि चुनौती समेत थपिएको छ । एकै दलमा रहँदा एकले अर्कालाई जिताउन को लागि मैदानमा उत्रिएका थापा र सिंह पनि मकवानपुर १ का लागि कडा प्रतिस्पर्धी हुन् । 

विरोध खतिवडा​ र महेश बर्तौला

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए । आगामी निर्वाचनमा पनि खतिवडाको सम्भावना बलियो छ ।

 तर यो पटक उनी एकीकृत समाजवादीबाट मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।  ५ पुस २०७७ मा संसद विगठन भएपछि नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा लागेका खतिवडा आगामी निर्वाचनका लागि पनि बलियो दावेदार हुन् ।

त्यसो त, उनको प्रतिद्वन्द्वीका रूपमा अघिल्लो निर्वाचनमा खुलेर भोट माग्दै हिँडेका युवा नेता छन् । खतिवडाले आफ्नो कडा प्रतिस्पर्धीको रूपमा आफ्नै चेलालाई पाएका छन् । गत निर्वाचनमा उनलाई जिताउन चुनावी मैदानमा खटिएका उनकै चेला आगामी निर्वाचनमा उनलाई हराउन मैदानमा उत्रिएका छन्। एमाले युवा नेता महेश बर्तौला कुनै समय राजनीतिमा खतिवडाका चेला थिए । 

कुनै समय गुरुचेलाका रूपमा रहेका उनीहरू मंसिर ४ को चुनावमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । रोचक विषय के हो भने ४ पटकसम्म निर्वाचन लडेर विजयी भएका खतिवडा सँग पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेका बर्तौलाको भिडन्त हो । खतिवडाले मकवानपुरबाट २०४८, २०५१, २०५६ र २०७४ मा गरी चार पटक प्रत्यक्ष निर्वाचन जितिसकेका छन् भने बर्तौलाको पहिलो उम्मेदवारी रहनेछ । 

महालक्ष्मी उपाध्याय (डिना) र भरतप्रसाद पराजुली

त्यसो त जिल्लामा अर्को रोचक भिडन्त हुने भएको छ । यसअघिको निर्वाचनमामा एकै पार्टी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय(डिना) लाई सघाएका कांग्रेसका पुराना नेता भरतप्रसाद पराजुलीसँग आगामी प्रतिनिधि सभाको निर्वाचनमा भिडन्त हुने भएको हो । 

पार्टीले अवसर नदिएको भन्दै नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका पराजुली आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यसो त उपाध्याय पनि क्षेत्र नम्बर २ बाट नै प्रतिनिधि सभा निर्वाचनका लागि एकल सिफारिसमा परे अनुसार नै मकवानपुर २ मै उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीगत हिसाबले हितैषी रहेका व्यक्तिहरू पार्टी परिवर्तन सँगै प्रतिस्पर्धीका रूपमा उभिन लागेका हुन् । 

लामो समयसम्म नेपाली कांग्रेसमा रहेर पार्टीको हितका निम्ति लागिपरेका पराजुली पहिलो पटक निर्वाचनमा होमिन लागेका नयाँ अनुहार हुन् । त्यसो त उम्मेदवार सँगै पार्टी र पार्टीको चुनावी चिन्ह समेत नयाँ रहेका पराजुली पनि पहिलेका सहयात्री सँग प्रतिस्पर्धा गर्न लागेका हुन् । २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । 

२०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन् । २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन् । २०७४ सालमा भएको निर्वाचनमा पनि डिना पुनः एक पटक खतिवडासँगै पराजित हुन पुगिन् । अघिल्ला निर्वाचनहरूमा हार व्यहोर्न परेता पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन भए विजयी हुने पक्का पक्की छ । 

  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १२:४५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया