डेंगुका अधिकांश बिरामीहरूमा देखियो घाँटीमा समस्या

डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखा परेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन् । डेंगु सङ्क्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन् । 

अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउँदै डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताइन् । 

डा. गौतमले पछिल्ला दिनहरूमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताइन् । डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिँदै डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाउँदै ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गरिन् ।

‘डेंगुमा ज्वरो सुरुमा नै धेरै आउने, केही प्रतिशत बिरामीहरूको सामान्य ज्वरो पनि छ । रुघाखोकीको लक्षण त्यति देखिएन । तर धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ । घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौँ । धेरै झुक्किनुभएको छ टन्सिल हो कि भनेर । घाँटी दुख्न सक्छ, आँखाको नानी दुख्न सक्छ डेंगुमा पनि । टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने लक्षणहरु हामीले बढी देख्नसक्छौँ । अहिले ९० प्रतिशत केस डेंगुका आउनुभएको छ,’ उनले भनिन्, ‘कोही ज्वरो आउनेबित्तिकै आत्तिएर आउने बिरामीहरू हुनुहुन्छ भने कोही ७२ घण्टापछि बुझेर आएर जाँच गराउनेहरू हुनुहुन्छ । डेंगु सरुवा रोग होइन, यो लाग्नलाई लामखुट्टेले नै टोक्नुपर्छ । उहाँहरु दोधारमा हुनुहुन्छ । घरको सदस्यलाई टोकेको २ महिनासम्म त्यही लामखुट्टे घरमा छ भने अरु सदस्यलाई पनि हुने सम्भावना छ । सरेको होइन, त्यसले नै टोकेको हुनसक्छ । शतर्क हुन जरुरी छ । डेंगुका बिरामीहरूलाई झुलमा राख्ने उचित छैन । लामखुट्टेले टोक्ने भनेको बिहान र दिउँसोको समयमा हो । बिहान ६ देखि १० र साँझ ६ देखि १० मा बढी सक्रिय हुने हो । त्यो बेलामा हामीले लापरबाही गरिरहेको छौँ जस्तो लाग्छ । फुल बाउला भएको लुगा लगाउने । राति झुलमा सुतेर डेंगु लाग्दैन भन्ने सोच त्याग्नुपर्छ । ज्वरो घटेन भनेर सिटामोल धेरै खाने काम नगर्नुस् ।’

डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरू पाइरहेको र अस्पतालहरुमा डेंगुका बिरामीहरूको चाप बढेको बताइन् । उनले भनिन्, ‘भदौ महिनादेखि ज्वरो धेरै, उच्च तापक्रम भएका बिरामीहरू पाइरहेका छौँ । डेंगुका बिरामीको चाप धेरै छ । त्यसमा पनि डेंगुसँगै डेंगुजस्तै लक्षण दखिने फ्लूका बिरामीहरू, कोभिडका पनि केही बिरामीहरू पनि हामीले भेटिरहेका छौँ ।’

डा. गौतमले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेंगु र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताइन् । उनले सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने बताइन्। भाइरल ज्वरोका बिरामीहरू पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गर्दै धेरै घाँटी दुख्ने, सुरुमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्ने लगायतका लक्षण देखिए डेंगु हुनसक्ने तर ज्वरो आउने बित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घण्टापछि मात्रै अस्पताल जान सुझाव दिइन् । 





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार १२:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया