दूधे बालक श्रीमानको जिम्मा लगाएर गीता चौधरी चुनावी मैदानमा

२९ वर्षीय गीता चौधरी कञ्चनपुर २ ‘क’ बाट नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सांसद बन्ने सपनासहित चुनावमा मैदानमा छिन् । नेपाल ल क्याम्पसबाट २५ वर्षको उमेरमा नै एलएलएम (स्नातकोत्तर) प्रथम श्रेणीमा पास गरेकी चौधरी उम्मेदवारी दर्ता भए देखि दैनिक मतदाता सँग भोट माग्न ब्यस्त छिन् । उनको राजनीतिक यात्रा भने अनेरास्ववियुबाट सुरु भएको हो ।

चौधरी अनेरास्ववियुको इकाइदेखि केन्द्र सम्म, मानवअधिकार एलाइन्सको केन्द्रीय सदस्य हुँदै काठमाण्डौ–कन्चनपुर सम्पर्क मञ्चको उपाध्यक्ष पनि भइन् । यस्तै, उनको अनुभव थारु विद्यार्थी समाजको केन्द्रीय उपाध्यक्ष, युथ एडभोकेसी नेपालको महासचिव, राष्ट्रिय युवा परीषद्को निवर्तमान सदस्यसम्मको पनि छ । तर, त्यतिले मात्रै उनलाई पुगेन र प्रत्यक्ष राजनीतिमा होमिएर सांसद बन्ने सपना देखिन् । ‘महिला, युवा, कमैया, जनजाति र व्यवसाय को मुद्दा उठाउँदै आएकाले त्यो राजनीतिबाट मात्रै सम्भव देखेर उम्मेदवार बनेँ,’ उनले भनिन् । रेशम चौधरीकी श्रमती रन्जिता चौधरी अध्यक्ष भएको पार्टीले उनलाई उम्मेदवार बनाएको छ ।

‘जहिलेदेखि मैले राजनीति गर्न खोजेँ तिमीसँग पैसा कति छ ? भन्ने प्रश्नले घोचिरहन्थ्यो । तर, मैले धेरै राजनीतिशास्त्र अध्यन गरेँ, जसमा कहिल्यै पैसाको कुरा देखिनँ,’ उनले भनिन्,’ त्यसो भए हेरौ ँन त अनुभव नै गरौँ भन्ने लागेर चुनाव मा होमिएको हुँं । अझ धेरैले तिमी सानै छौ, अझै करिएर बनाउ भन्ने सुझाब पनि आए । तर, मैले विश्व राजनीतिको समाचार पढ्दा मेरो उमेर त पाको भइसकेको पाएँ र सोचे यही हो सही समय जनतासामु जाने ।’

उनले थारु महिला भएर समानुपातिकमा बस्नुपर्ने दबाब पनि आएको बताइन् । ‘तिमी थारु अनि महिला किन प्रत्यक्षमा जाने समानुपातिक पाइहाल्छौ नि भन्ने पनि धेरै थिए, तर परिवर्तन आफैँले गर्नुपर्छ भन्ने लाग्यो । म प्रत्यक्ष लड्न सक्षम छु भन्ने पनि लाग्यो । समानुपातिक भनेको जसको लागि हुनुपर्ने हो, त्यसले कहिल्यै पाएन तर मैले आफैँले त्यता नजाने भनेर समानुपातिकको बाटो रोजिनँ ,’ उनले भनिन् ।

उनी अहिले १८ महिनाको बच्चा श्रीमानको जिम्मा लगाएर चुनावी प्रचारमा छिन् । उनलाई परिवारले पनि पूरा समर्थन गरेको छ । पार्टी नयाँ भएकाले संगठन पनि बनाउनुपर्ने मतदातालाई उम्मेदवार भएर भोट माग्नुपर्ने हुँदा बढी प्रेसर भएको उनको भनाइ छ । उनले ठूला पार्टीमा युवालाई सहजै टिकट दिने अवस्था अझै नभएर उन्मुक्ति पार्टीको रोजेको बताइन् ।

‘म ठूलो पार्टीमा बसेर सायद बुढो भएपछि मात्रै टिकट पाउँथे होला,’ उनले भनिन्,’ त्यसैले मैले गर्दै आएको मुद्दा पनि मिल्ने र मजस्तो युवा लाई अगाडि बढाउने पार्टी उन्मुक्ति भएकाले सोही पार्टी रोजेँ ।’ उनले आफ्नो चुनावको मुद्दा पनि युवालक्षित नै रहेको बताइन्  ।



‘आफ्नो पहिचान, सांस्कृतिक पहिचानको अधिकार प्राप्तिका निमित्त, विश्वमा भइरहेको मुद्दा र स्थानीय मुद्दालाई सम्बोधन गर्ने मेरो चाहना पनि छ । जस्तैः क्लाइमेट चेन्ज, दिगो विकास, महिला र युवा को नेतृत्व स्थापित गर्नका निमित्त र युथ ब्रेनडेन रोक्नका लागि पनि मेरो उम्मेदवारी हो ,’ उनले भनिन् । ‘म उम्मेदवारको हैसियतले धेरै गर्न नसकुँला, तर म शुशासन , सदाचार, भष्ट्राचारप्रति निर्मम ढंगले संसदमा प्रस्तुत हुनेछु । सदाचारीलाई पुरष्कृत, भष्ट्राचारीलाई दण्डित गरिनुपर्ने माग जोडदार रुपमा राख्नेछु ।’



  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १६:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया