तिहार सुरु भएसँगै मकवानपुरका किसानलाई फूल टिप्न भ्याइनभ्याई

फूलैफूलको पर्वको रूपमा चिनिने तिहार सुरु भइसकेको छ । तिहार सुरुसँगै फूल व्यवसाय गर्ने किसानकाे व्यस्तता बढेको छ । उनीहरूलाई अहिले फूल टिप्न, माला उन्न र बजारसम्म पुर्याउन भ्याइनभ्याई छ ।

अरू समयमा पनि राम्रो बजार पाइरहेको सयपत्री फूल तिहारको बेला अझै माग बढ्ने गर्छ । जसअनुसार हेटौंडाका फूल व्यवसायीलाई यतिबेला बजारको माग धान्न धौधौ भइरहेको छ । 

मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ आल्दमारको फाँट यतिबेला सयपत्री फूलले मनमोहक देखिन्छ । ढकमक्क फूलेका फूलको सुवासले साँच्चै तिहारलाई पछ्याइरहेको आभास हुन्छ । हिन्दू धर्मावलम्बीको दोस्रो मुख्य चाडको रूपमा परिचित शुभ दिपावली फूल र झिलिमिलीको पर्वको रूपमा चिनिने गरिन्छ ।

यसैलाई मध्यनजर गर्दै आल्दमारमा उत्पादन भएको सयपत्री फूललाई बजारसम्म ल्याउनको लागि यहाँका किसान व्यस्त छन् । ​आल्दमारका सुरज थिङले ४ महिनाअघि लगाएका सयपत्री फूल ढकमक्क फुलेपछि उनलाई यतिबेला फूल बजारमा ल्याउने चटारो सुरु भएको छ । अन्य समयमा पनि फूलको माग भइरहने भएपनि तिहारको बेला फूलबारीमै आएर फूल किन्नेहरूको समेत भिड हुने गरेको छ ।

साथै, किसानलाई फूल टिपेर माग अनुसारको उपलब्ध गराउन समेत भ्याइनभ्याइ भइरहेकाे स्थानीय कुसुम घ्वाबा बताउँछिन् । अरू बेला पनि फूल टिप्ने माला उन्ने काम भए पनि अहिले तिहारका लागि स्थानीयकै माग धान्न मुस्किल भइरहेको बताउँदै उनले भनिन्, ‘माला बनाउन त भ्याएकै छैन । फूल टिपेर दिन पनि भ्याइनभ्याई छ । पहिले सबै फूलहरू बजार लानुपर्थ्यो भने अहिले बजारदेखि नै फूल किन्न यहीँ फूलबारीमा आउने गरेका छन् ।’

उनका अनुसार अहिले दैनिक ५० देखि ६० हजार रुपैयाँ बराबरको सयपत्री फूल बिक्री भइरहेकाे छ । ​आल्दमारका युवा कृषक सुरज थिङले हेटौंडा आसपासमा फूलको माग धान्ने लक्ष्य नै लिएका छन् । डेढ बिगाहा जग्गा भाडामा लिएर लगाइएको सयपत्री फूल दशैँदेखि नै उत्पादन सुरु भइसकेको उनी बताउँछन् ।



तिहारमा मात्रै टिप्दा कुहिएर खेर जाने समस्या भएको कारण झण्डै ३ लाख बराबरको फूल कोल्ड स्टोरमा राखिएको र अब उक्त स्टोर गरिएको फूल पनि बजारमा लैजाने तयारी गरिएको उनको भनाइ छ ।

सुरुमा बिरुवा रोप्ने, थोपा सिँचाइलगायत गर्न १ लाख ५० हजार रुपैयाँ लागत परेको बताउँदै उनले भने, ‘डेढ बिगाहामा २५ हजार बिरुवा रोपेका थियौं । व्यवस्थित तरिकाले खेती गर्दा केही लागत बढेको पनि छ । तर, हाम्रो लागतअनुसारको उत्पादन पनि छ । साधारण हिसाबले हेर्दा पनि एउटा बोटबाट ५० रुपैयाँको एउटा मालाको हिसाबले जोड्ने हो भने पनि लगभग १० लाख रुपैयाँ बराबरको फूल उत्पादन हुन्छ । त्यसैले फूल खेतीमा फाइदा पनि छ । सजिलो पनि छ ।’



हेटौंडा बजार क्षेत्रमा प्रसस्त फूल खेती नभएको कारण उत्पादनभन्दा धेरै माग आएको छ । लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिक स्थल सिँगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले कामदार राखेर फूल टिप्ने गरेको हेटौंडाका पुष्प खेती गर्ने किसान बताउँछन् ।

मकवानपुरको हेटौंडा आसपासका क्षेत्रहरूसँगै इन्द्रसरोवर, भीमफेदी गाउँपालिका, थाहा नगरपालिकालगायत स्थानीय तहका कृषक पनि पछिल्लो समय नगदे बालीको रूपमा फूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । 

देशमै सबैभन्दा धेरै फूल खपत हुने ठाउँ बाग्मती प्रदेश हो । त्यसमा पनि आधाभन्दा बढी हिस्सा काठमाडौंले ओगटेको तथ्यांकले देखाउँछ । नेपालका प्रायः सबै भू–भागमा सयपत्री फूल खेती हुन्छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, चितवन, मकवानपुर र सिन्धुलीलगायत केही जिल्लामा व्यावसायिक फूल खेती हुँदै आएको छ । 

एसोसिएसनका अनुसार अहिले नेपालमा सात सय बढी पुष्प व्यवसायीहरू छन् । ४३ भन्दा बढी जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ । हाल लगभग १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १६:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया