फेसबुकका १५ वर्ष, १५ मुख्य घटनाहरु

एजेन्सी– विश्वभर करिब २३२ करोड प्रयाेगकर्ता भएको सामाजिक सञ्जाल फेसबुक सोमबार १५ वर्ष पूरा गरेको छ । कलेज स्टुडेन्टको नेटवर्कबाट सुरु भएको फेसबुक अहिले ३४ लाख करोडको कम्पनी बनेको छ । 

फेसबुक लन्च भएको २ वर्षपछि याहूले यसलाई १०० करोड डलरमा किन्न अफर गरेका थियो । तर फेसबुकका फाउन्डर मार्क जुकरबर्गले याहूले दिएको मूल्य कम भएको भन्दै प्रस्ताव अस्वीकार गरे । 

फेसबुकको अहिलेको मूल्य याहुको प्यारेन्ट कम्पनी भेरिजोन कम्युनिकेसनको भन्दा दुईगुणा बढी छ । भेरिजोनको मार्केट कप १६ लाख करोड रहेको छ । यसले २०१७ मा भेरिजोनले याहू ३४, ०८० करोडमा किनेको थियो । 

१५ वर्षको अवधिमा फेसबुकमा भएका मुख्य घटनाहरुः 

१. एक महिनामा पपुलर बनेको फेसबुक

मार्क जुकरबर्ग, डस्टिन मोस्कोविट्स, क्रिस हगेस र एडुआर्डो सेवेरिनले हावर्ड विश्वविद्यालयका विद्यार्थीका लागि ४ फेबु्रअरी २००४ मा फेसबुक लन्च गरे । एक महिनापछि यो कोलम्बिया र स्टेनफोर्डका स्टुडेन्ट्सबीच पनि लोकप्रिय भयो । एक महिनाको अवधिमा नै फेसबुक अमेरिकी कलेजहरुमा पपुलर बन्न पुग्यो । 



२. जुन २००४ः पहिलो पटक ५ लाख डलरको लगानी 

फेसबुकलाई अगाडि बढाउन जुकरबर्गले हावर्ड युनिभर्सिटी छोडेर क्यालिफोर्नियाको पालोअल्टोमा भाडामा घर लिए । जुकरबर्गले अनलाइन म्युजिक सर्विसेज फर्म नेप्सटरको सिन पार्करको टिममा सहभागी भए । यही क्रममा पेपल केका फाउन्डर पिटर थिलले फेसबुकमा ५ लाख डलर लगानी गरे । 



३. डिसेम्बर २००४: १० लाख युजर 

डिसेम्बरदेखि फेसबुकले द वाल फिचर लन्च गर्यो । जसका कारण फेसबुक प्रयोगकर्तालाई आफ्ना साथीहरुसँग कुरा गर्न सजिलो भयो । यो फिचर प्रयोगकर्ताले निकै मन पराए । एक डिसेम्बर २००४ मा फेसबुकले आफ्ना प्रयोगकर्ता १० लाख पुगेको घोषणा गर्यो । 

४. जुलाई २००६ मा याहुको प्रस्ताव 

याहुले १०० करोड डलरमा फेसबुक किन्ने प्रस्ताव गर्यो । तर जुकरबर्गले फेसबुकको क्षमता र मूल्य बढी भएको भन्दै यो प्रस्ताव अस्वीकार गरे । 

५. अक्टोबर २००७ :माइक्रोसफ्टले १.६ सेयर खरिद गर्यो 

माइक्रोसफ्टले २४ करोड डलरमा फेसबुकको १.६ प्रतिशत सेयर किन्यो । यसपछि फेसबुकको मूल्य १५०० करोड डलर पुगेको थियो । एक महिनापछि फेसबुकले प्रयोगकर्ताको बानीलाई ट्रयाक गर्न एक एड प्रोग्राम लन्च गर्यो । जुन निकै विवादित बन्यो । 

६. मार्च २००८ : सिओओ नियुक्त 

फेसबुकले सेरिल सेन्डबर्गलाई सिओओमा नियुक्त गर्यो । यो भन्दा पहिलो सेन्डबर्ग गूगलमा थिए । उनमा राजनीतिको ज्ञान पनि थियो । किनकी गूगलभन्दा पहिला बिल क्लिन्टनको समयमा यूएस ट्रेजरी डिपार्टमेन्टको चीफ अफ स्टाफको रुपमा काम गरेका थिए ।  

७. डिसेम्बर २०१० : सामाजिक सञ्जालको शक्ति 

ट्युनिशियाका तानाशाह अल आबेदिन बिन अलीलाई गद्दीबाट हटाउने संघर्ष सुरु भयो । यस समयमा पूरै अरब क्षेत्रमा परिवर्तनको लहर फैलियो । लाखौं मानिस सडकमा उत्रिए । मध्य पूर्वमा यस क्रान्तिलाई अगाडि बढाउन फेसबुकले निकै सहयोग पुर्याएको मानिन्छ । 

८. अप्रिल २०१२: पहिलो अधिग्रहण 

फेसबुकले १०० करोड डलरमा इन्स्टाग्राम खरिद गर्यो । सामाजिक सञ्जालमा स्न्यापच्याटको निकै प्रभाव बढिरहेको बेला यो निकै महत्वपूर्ण सम्झौता बनेको थियो ।

९. मे २०१२ : जुकरबर्गको विवाह 

फेसबुकको लिस्टिङ हुनुभन्दा ठिक पहिलो दिन १९ मे २०१३ मा मार्क जुकरबर्गले गर्लफ्रेन्ड प्रिसिला चानसँग विवाह गरे । 

१०. मे २०१२ : टेक कम्पनीको सबैभन्दा ठूलो आइपिओ 

फेसबुकले आइपिओको माध्यमबाट १६०० करोड डलर जुटायो । यो टेक्नोलोजी कम्पनीको सबैभन्दा ठूलो आइपिओ थियो । १८ मे २०१२ मा फेसबुकको सेयर अमेरिकी सेयर बजारमा ३८ डलरसम्म पुगेको थियो । 

११. सेप्टेम्बर २०१२:  फेसबुकको सेयरमा ठूलो गिरावट 

फेसबुकको सेयरमा पहिलो पटक ठूलो गिरावट आयो । सेयर घटेर १८ डलरभन्दा पनि तल पुगेको थियो । मोबाइल प्रयोगकर्ताको कमाईको चिन्ताका कारण यो गिरावट आएको बताइएको थियो ।

१२. फेबु्रअरी २०१४: सबैभन्दा महंगो अधिग्रहण 

फेसबुकले १९०० करोड डलरमा वाट्सऐपको खरिद गर्यो । अहिले यसका प्रयोगकर्ता १५० करोड भन्दा धेरै छन् । 

१३. जुन २०१७ : युजर बेस २०० करोड 

फेसबुकको एक्टिभ प्रयाेगकर्ताकाे संख्या प्रत्येक महिनामा २०० करोड पुग्छन । यो इन्टरनेट कम्पनीका लागि अत्यन्त ठूलो तथ्यांक हो । 

१४. मार्च २०१८:  फेसबुकमा विवाद 

२०१६ मा डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि काम गर्ने फर्म क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ८.७ करोड युजरको डेटा लिएको थियो । पछिल्लो वर्ष मार्चमा यसको खुलासा भयो । यसका कारण विश्वभरि युजर्सले फेसबुकप्रति कम विश्वास गर्न थाले । यो खुलासापछि फेसबुक युजरको संख्या घटेको थियो । यस विवादपछि फेसबुकको सेयरमा भारी गिरावट आएको थियो । 

१५. नोभेम्बर २०१८ : जुकरबर्गले सिइओको पद छोड्न अस्वीकार 

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार फेसबुकले एप्पल कम्पनीको दुष्प्रचारका लागि पिआर फर्म हायर गरेको थियो । जुन कुरा सिओओ सेरिल सेन्डबर्गलाई थाहा थियो । यसपछि जुकरबर्गलाई सिइओ पद छोड्न फेसबुक युनिटबाटै दवाब बढ्न थाल्यो । जुकरबर्गले आफूले पद नछोड्ने बताएका थिए । लगानीकर्ताहरु फेसबुकको चेयरम्यान र सिइओ अलग–अलग व्यक्ति हुनुपर्ने माग राख्दै आएका थिए । 

  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार १२:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया