Sun, 21 Apr, 2019


१० वर्षीया छोरीलाई रिचर्ड डवकिन्सको चिठी
रिचर्ड डवकिन्स
फरकधार / माघ २३, २०७५

अनुवाद: राेशन शेरचन

स्नेही छोरी,

आज तिमी १० वर्षमा टेक्दै छ्याै । यो अवसरमा महत्वपूर्ण लागेको विषयमा तिमीलाई केही भन्छु । कहिलेकाहीँ तिमीभित्र जिज्ञासा उठ्ने गरेको होला, हाम्रो वरपर भइरहेका घटनाको विषयमा हामी कसरी थाहा पाउछौँ ? उदाहरणका लागि, आकाशमा देखिने ताराहरू वास्तवमा आगोको लप्कासहितको विशाल पिण्ड हुन् ।हामीलाई कसरी थाहा भयो ? हाम्रो पृथ्वी जुन आकारमा सानो छ, त्यसले आगोको लप्का भएको एउटा तारालाई फन्को लगाइरहेको छ, जसलाई हामी सूर्य भन्छौँ । यी र यस्ता प्रश्नको जवाफ हो । सबुत प्रमाण । 

सबुत प्रमाणको अर्थ आफैँले देख्नु, सुन्नु, अनुभव गर्नु, स्वाद लिनु र गन्ध लिनु......हो । सबुत प्रमाणकै सहाराले सत्य भएको थाहा पाउछौँ । अन्तरिक्षयात्रीले अन्तरिक्षको यात्रा गर्दा आफ्नै आँखाले देखेका हुन्, पृथ्वीको गोलो आकार । कहिलेकाहीँ हाम्रो आँखालाई यन्त्रको आवश्यकता पर्छ । बेलुका चम्किने ताराजस्तो देखिने पिण्ड टेलिस्कोपबाट हेर्दा मात्र शुक्र ग्रह भएको थाहा पाउछौँ । 

कहिलेकाहीँ हामी प्रत्यक्ष देखेर, सुनेर र अनुभवबाट सिक्छाैँ । त्यस्तो तरिकालाई अवलोकन भन्छौँ । प्रमाण स्वयंमा अवलोकन नहुन पनि सक्छ, तर त्यसको पछाडि कहीँ न कहीँ अवलोकन अवश्य हुन्छ । मानौँ, कसैको हत्या भयो । मारिने र मार्नेबाहेक अरू घटनाको साक्षी हुँदैन । तर, गुप्तचरले अवलोकनको माध्यमवाट असंख्य प्रमाण जुटाउँछ । जसको आधारमा हत्यारा पहिचान गर्न मदत मिल्छ । यदि कुनै व्यक्तिको औँठाछाप र चक्कुमा भेटिएको औँठाछाप दुरुस्त भए, त्यस व्यक्तिले चक्कु उठाएको पक्का हो, तर के सिद्ध हुँदैन भने उनी नै हत्यारा हो । त्यसको निम्ति थप प्रमाण आवश्यक पर्छ । थप प्रमाण जुटाउँदै गएपछि, ती प्रमाणबीच सम्बन्ध गाँसिदै जान्छ र गुप्तचर हत्याको रहस्यको नजिक पुग्छ । 

वैज्ञानिक, जो पृथ्वी र ब्रम्हाण्डका सत्य पत्ता लगाउने विज्ञ हुन्, गुप्तचरजस्तै हुन् । उनीहरू के सत्य हुन् भनी अनुमान गर्छन् । जसलाई हामी परिकल्पना (हाइपोथेसिस) भन्छौँ । त्यसपछि वैज्ञानिक सोच्छन्, यदि त्यो सत्य हो भने, यस्तो यस्तो हुन जरुरी छ । त्यसलाई पूर्वानुमान (प्रेडिक्सन) भन्छौँ । उदाहरणको निम्ति, पृथ्वी वास्तवमै गोलो छ भने, पूर्वानुमान गर्न सकिन्छ कि कुनै यात्री एउटै दिशामा निरन्तर यात्रा गरिरहे ऊ कालान्तरमा त्यही स्थानमा आइपुग्छ, जहाँबाट उनले यात्रा थाल्छ । 

याे चिठी यही पुस्तककाे एक अंश हाे ।

अर्को उदाहरण, डाक्टरले बिरामीलाई सर्सती हेरेकै भरमा ठेउला छ भन्दैन । बरु सोच्छ, ठेउला हो भने सोहीअनुसारका लक्षण भेटिनुपर्छ । लक्षण भए÷नभएको यकिन गर्न ऊ परीक्षण गर्छ । ठेउलाका बिबिरा हेर्छ, आँखाले । ज्वरो छ छैन, हातले छाम्छ । श्वासप्रश्वास सुन्छ । त्यसपछि मात्र निर्णय गर्छ, ठेउला हो । कहिलेकाहीँ त्यतिले नपुगेर रगत जाँच, एक्स–रे परीक्षण गर्न भन्छ । यस्तै विधि अपनाई प्रमाण जुटाएर वैज्ञानिकहरूले भनेका छन्, पृथ्वी सूक्ष्म र जटिल छ । विश्वास गर्न नहुने तीन खराब कारण पनि म बताउँछु । कारण तिमी सचेत होऊ । 

प्रथम, परम्परा । केही महिनाअघि ५० जना बालबालिकासँग कुराकानी गर्न म एउटा टिभी कार्यक्रममा निम्त्याइएको थिएँ । ती बालबालिका भिन्न–भिन्न धार्मिक पृष्ठभूमिमा हुर्किएका थिए । कोही क्रिश्चियन, कोही यहुदी, कोही इस्लाम, कोही हिन्दू र कोही सिख । माइक समात्ने व्यक्ति बालबालिकासँग सोध्दै थियो, तिमीहरू केमा विश्वास गर्छौ ? बालबालिकाले जस्तो जवाफ फर्काए, मैले भन्ने गरेको परम्परा, त्यही हो । प्रमाणसँग त्यसको कुनै साइनो थिएन । 

उनीहरू आफ्ना बाबा, आमा, हजुरबाबा, हजुरआमाले जे सिकाएका थिए, त्यही बोलिरहेका थिए । जब कि पुर्खाका विश्वास पनि प्रमाणमा आधारित थिएन । कोही भनिरहेका थिए, ‘हामी हिन्दू यो यो कुरामा विश्वास गर्छाैं ।’ कोही भनिरहेका थिए, ‘हामी इस्लामहरू अरू नै कुरामा विश्वास गर्छाैं ।’ कोही भनिरहेका थिए, ‘हामी क्रिश्चियन यो–यो कुरामा विश्वास गर्छाैं ।’ ती बालबालिकाले भिन्न कुरामा विश्वास गर्ने भएकाले ती एकसाथ सत्य हुन सक्दैनथे । 

माइक समातेको व्यक्तिलाई सबै आस्थाहरू स्वाभाविक लागेर होला, थप प्रश्न गरेन । बरु म प्रश्न गर्न चाहन्थेँ, ती विश्वास कहाँबाट आए ? ती परम्पराबाट आएका हुन् । परम्पराले सिकाएको विश्वास भनेको पुर्खाबाट हस्तान्तरण हुँदै र सन्ततिसम्म सर्दै जाने विश्वास हो । जस्तो, कुनै धार्मिक ग्रन्थ सदीयौँदेखि हस्तान्तरण हुँदै आएको छ । परम्पराले जन्माएको विश्वास प्रायः विनाप्रमाण जन्मिन्छ । थोर र जिउसको कथाजस्तो । कसैले सत्यजसरी नै त्यसलाई सुनायो । असंख्य पुस्ताले सुन्दै–सुनाउँदै, जति त्यो पुरानो भयो, पुरानो भएकै कारण मानिसले त्यसलाई सत्य भन्न थाले । 

मानिस यसकारणले विश्वास गर्छ कि ऊभन्दा अघिका असंख्य पुस्ताले सदीयौँदेखि त्यसलाई विश्वास गरेको छ । त्यही हो, परम्परा । परम्पराको दुर्बलता, कथा जति अघि बुनिएको भए पनि त्यो त्यस्तै रहन्छ । तिमीले कुनै असत्य कथा बुनेको छौ भने जति शताब्दीपछि पनि त्यो असत्य नै रहन्छ । 

इंग्ल्यान्डका धेरै मानिसहरू चर्च अफ इंग्ल्यान्डमा वाप्टाइज्ड हुन्छन् । वाप्टाइज्ड भन्नाले शुद्धीकरणको कर्मकाण्ड, जुन सम्पन्न गरेपछि मात्र औपचारिक रूपमा क्रिश्चियन भएको मानिन्छ । अन्य हाँगा पनि छन् । रसियन अर्थोडक्स, रोमन क्याथोलिक र मेथोडिस्ट चर्च । सबैका भिन्न विश्वास पद्धति । यहुदी र इस्लाममा पनि मतान्तर छन् । सामान्य मतान्तरमा पनि उनीहरू युद्ध गर्न हिच्किचाउँदैनन् । तिमी सोचौली, उनीहरूसँग आफ्ना विश्वासको प्रमाण होला । तर, उनीहरूसँग वास्तवमै प्रमाण छैन । उनीहरूमा विपरीत विश्वास हुनुको कारण परम्परा हो । 

कुनै एक परम्पराको कुरा गरौँ न । रोमन क्याथोलिक विश्वास गर्छन्, जिससकाी आमा मेरी धेरै विशिष्ट थिइन् । तसर्थ मेरी मरिनन्, बरु उनको शरीर उडेर स्वर्ग गइन् । क्रिश्चियनको अन्य परम्परा त्यस्तो मान्दैनन् । अन्य हाँगाले मेरीको चर्चा गर्दैनन्, न त रोमन क्याथोलिकले झैँ ‘स्वर्गकी रानी’ मान्छन् । मेरीको देह स्वर्गतिर उड्यो भन्ने विश्वासको परम्परा पनि धेरै पुरानो छैन । बाइबलले पनि मेरीको देहत्यागबारे चर्चा गरेको छैन । 

मेरीको शरीर उडेर स्वर्गमा गयो भन्ने विश्वासको सुरुवात छैटौँ शताब्दीतिर भएको हो । जिससको समयपछि । प्रारम्भमा कसैले मेरीको मृत्युको कथा बुन्यो, स्नो ह्वाइटको कथाजस्तै । समय बित्दै जाँदा मानिसले गम्भीर भई विश्वास गर्न थाले । कारण असंख्य पुस्ताहरू भएर त्यो विश्वास उनीसम्म आइपुगेको छ । परम्परा जति पुरानो, विश्वास उति नै गहिरो । सन् १९५० मा रोमन क्याथोलिक संस्थाले त्यसलाई लिपिबद्ध गर्यो । सन् १९५० मा त्यो विश्वास ६०० वर्षअघिको भन्दा रत्तिभर बढी सत्य भएन, जब कि त्यो कथा मेरीको मृत्युलगत्तै बुनिएको थियो ।

म चिठीको अन्त्यतिर पुनः परम्पराबारे चर्चा गर्छु । फरक दृष्टिकोणले । तर, त्यसअघि बाँकी दुई खराब कारणबारे भन्छु । अख्तियार (अथोरिटी) र आत्मज्ञान (रिभिलेसन) । अख्तियारी माने ओहोदावाला व्यक्ति वा संस्थाले भनेकैले विश्वास गर्नु । रोमन क्याथोलिक चर्चमा, सबभन्दा उपल्लो स्थानमा पोप भएकाले ऊ गलत हुनै सक्दैन । त्यसैले पोपको कुरामा विश्वास गर्नू । इस्लामको एक हाँगामा, महत्वपूर्ण पद ओगट्ने आयतुल्ला हुन्छ । असंख्य इस्लामी युवकहरू आयतुल्लाले भनेपछि कसैलाई मार्नसमेत सुरिन्छन् । सन् १९५० मा रोमन क्याथोलिकले औपचारिक रूपमा मेरीको शरीर उड्दै स्वर्गमा गएको कुरा लिपिबद्ध गर्यो । त्यसको अर्थ त्यही सत्य हो । र, अबदेखि रोमन क्याथोलिकले त्यसैमा विश्वास गर्नुपर्छ भनेको हो । 

कुरा सीधा छ । पोपले भनेपछि सत्य हो । पोपले भनेको जम्मै असत्य हुन्छ भन्ने होइन । कतिपय कुरा सत्य होलान् । तर, पोपले भनेकैले सबै सत्य मान्नु खराब विश्वास हो । एकजना अघिल्लो पोपले आफ्ना अनुयायीलाई परिवार नियोजन नगर्न आदेश दिएको थियो । यदि सबै क्याथोलिकहरूले पोपको आदेश शिरोपर गरे जनसंख्या विस्फोटको कारण भोकमरी, रोगव्याधि र युद्ध निश्चित छ ।

निश्चय नै विज्ञानमा पनि कहिलेकाहीँ हामी प्रमाण भेटाउँदैनौँ । त्यसैले कसैको मद्दत लिन्छौँ । प्रकाशले १८६,००० माइल प्रतिसेकेन्डको दरमा यात्रा गरेको मैले देखेको छैन । तर, विज्ञानमा म विश्वास गर्छु । हेर्दा यो पनि अख्तियारीजस्तो देखिन्छ । तर, त्यसो होइन । जुन वैज्ञानिकले उक्त तथ्य पत्ता लगाए, उनी प्रमाण जुटाएर नै उक्त निष्कर्षमा पुगेका छन् । शंका लागेमा जो–सुकैले प्रमाण हेर्न सक्छ । यो राम्रो पक्ष हो । वैज्ञानिक पोपजस्तो होइन, जसले विनाप्रमाण मृत्युपश्चात् मेरीको शरीर स्वर्गमा उडेर गएको कथा बुन्छ ।

तेस्रो कारण, आत्मज्ञान (रिभिलेसन) । कसैले पोपलाई सन् १९५० मा मृत्युपश्चात् मेरीको शरीर स्वर्गमा उडेको कुरा कसरी थाहा पाउनुभयो ? भनेर सोधेको हुन्थ्यो भने, उनको जवाफ हुन्थ्यो, आत्मज्ञान । पोपले बन्द कोठामा दिशा निर्देशको निम्ति ईश्वरलाई पुकारे । गहिरो ध्यान गरे । अकस्मात् ज्ञान प्रष्फुटित भयो । र, स्वर्गमा उडेको कुरा थाहा भयो । अधिकांश धार्मिक व्यक्ति भित्री ज्ञानलाई सत्य मान्छन्, किनकि त्यो भित्रबाट रहस्यमयी तरिकाले प्रष्फुटित भएको छ । यद्यपि, सत्य हुनलाई त्यो प्रमाण होइन । उनीहरू त्यसलाई प्रष्फुटित सत्य भन्छन् । पोप मात्र होइन, असंख्य धार्मिक व्यक्ति यसै भन्छन् ।
 
मानौँ, मैले तिमीलाई भनेँ ‘तिम्रो कुकुर मर्यो ।’ त्यो सुनेर तिमी दुःखी हुन्छ्यौ । तिमी सोधौली, ‘साँच्चै ? कसरी थाहा पायौ ?’ मानाैँ, मैले भनेँ, ‘प्रमाण त छैन । तर, मेरो भित्री मनमा बलियो किसिमले लाग्यो, कुकुर मर्यो ।’ विनासित्ति दुःख दिएकोमा तिमी मसँग रिसाउनेछ्यौ । तिमी यसरी पनि सोचौली, भित्र केही लाग्नु आफैँमा भरपर्दो कारण हुन सक्दैन । कुकुर मरेको थाहा गर्न प्रमाण चाहिन्छ । समय–समयमा हामीभित्र भिन्न अनुभूति (फिलिङ्स) आउँछ । त्यसमध्ये केही सत्य पनि हुन सक्ला । असत्य पनि । भिन्न मात्र होइन, कहिले विपरीत अनुभूति पनि आउँछन् । तर, कसरी थाहा पाउने, कुन अनुभूति सत्य हो ? माथिको उदाहरणमा, कुकुर मरेको निश्चित गर्ने भरपर्दो प्रमाण कुकुर मरेको देख्नु अथवा त्यसको मुटुको धड्कन बन्द भएको थाहा पाउनु वा जसले स्वयं कुकुर मरेको देखेको छ वा कसैबाट सुनेको छ, त्यो व्यक्तिबाट सुन्नु हो । 

मानिसहरू भन्छन्, भित्र उठेका अनुभूतिलाई हामीले विश्वास गर्नुपर्छ । नत्र हामी कसरी आश्वस्त हुने कि  श्रीमतीले माया गर्छिन् । मेरो विचारमा त्यो कुतर्क हो । श्रीमतीले माया गर्छिन् भने त्यहाँ अनेकौँ प्रमाण भेट्न सकिन्छ । जसले कसैलाई माया गर्छ, त्यस विषयमा उसलेले पक्कै केही सुनेको, देखेको हुन्छ । धेरै विषय समयक्रममा जोडिँदै जान्छ । त्यो विशुद्ध भित्रको अनुभूति मात्र हुँदैन, जस्तो धार्मिक व्यक्तिहरू दाबी गर्छन् । असंख्य बाह्य कारण हुन्छ, जसले भित्रको अनुभूतिलाई कच्चापदार्थ जुटाइरहेको हुन्छ । जस्तो, श्रीमतीको आँखामा, उनको स्वरको कम्पनमा, भावभंगिमामा र व्यवहारमा देखिने कोमलपन, उनले माया गर्छिन् भन्ने प्रमाण हुन् ।

कहिलेकाहीँ मानिसलाई भित्रैदेखि बलियो भाव आउँछ । मानौँ, कसैले उनलाई प्रेम गरिराखेको छ, तर त्यो शतप्रतिशत असत्य हुन सक्छ । त्यस्ता मानिस पनि छन्, जसलाई भित्रैदेखि लाग्छ कि कुनै सिनेमाको अभिनेत्रीले उसलाई मन पराउँछिन् जबकि ती अभिनेत्रीले उनलाई भेटेकी पनि छैन । भित्रको अनुभूतिलाई प्रमाणले नथामेसम्म विश्वास गर्नुहुँदैन ।

अनुवादक राेशन शेरचनभित्री अनुभूतिहरू विज्ञानमा पनि मूल्यवान् छन् । तर, विचारको तहमा मात्र । यसले प्रमाण जुटाउने दिशातिर अघि बढ्न वैज्ञानिकलाई प्रेरित गर्दछ । वैज्ञानिकलाई पनि भित्र मनमा अकस्मात् विचार (हन्च वा आइडिया)  प्रष्फुटित भएको लाग्न सक्छ । तर, हन्च वा आइडिया आफैँमा विश्वासको भरपर्दा कारण भने होइनन् । बरु त्यसले वैज्ञानिकलाई उक्त विषयमा थप अनुसन्धान वा परीक्षण गर्न उत्प्रेरणा दिन्छ । वैज्ञानिकहरूले भित्री अनुभूतिमार्फत आइडिया प्राप्त गरेका कैयौँ उदाहरण छन् । तर, जबसम्म प्रमाणले त्यसलाई टेको दिँदैन, त्यसको अर्थ छैन । 

मैले बाचा गरेको थिएँ, पत्रको अन्त्यतिर परम्पराको विषयमा केही फरक भन्नेछु । परम्परा किन महत्वपूर्ण छ ? त्यसबारे केही भन्नेछु । सबै प्राणी आफ्नो वातावरणमा जीवविकासको सिद्वान्तअनुसार अनुकूल बन्दै गइरहेका हुन्छन् । सिंह अफ्रिकाको सभाना जंगलमा बाँच्न फिट छ । त्यस्तै, क्रे माछा स्वच्छ पानी र गंगटो समुद्रको नुनिलो पानीमा । मानिस खासमा प्राणी हो, ऊ आफूजस्तै असंख्य मानिसले भरिएको संसारमा बाँच्न फिट छ । अधिकांश हामी सिंह वा गंगटोजस्तो सिकार गर्दैनौँ, तर अरू मानिसबाट खाद्यान्न किन्छौँ, जसले फेरि अन्यबाटै किनेको हुन्छ । भन्न सकिन्छ, हामी मानव समुद्रमा पौडिन्छौँ । जसरी माछाले पौडिन गिल्सको प्रयोग गर्छ, मान्छेले दिमागको । समुद्र नुनिलो पानीले भरिएझैँ, मानव समुद्र पनि थरीथरी तत्वले भरिएको छ । त्यसैबीच मनिसले सिक्ने गर्छ । जस्तैः भाषा । 

तिमी अंग्रेजी बोल्छ्यौ । तिम्रो साथी जर्मन । तिमी आफ्नो अनुकूलको भाषा बोलेर आफ्नो मानिसको समुद्रमा बाँच्छ्यौ । तिम्रो साथी आफ्नो । भाषा पनि परम्पराबाटै आएको हो । अरू उपाय छैन । अंग्रेजीमा पेपे कुकुर हो । जर्मनीमा इन हुन्ड । यी दुवै शब्द एक–अर्काभन्दा न त बढी सही छन्, न त सत्य । दुवै शब्द परम्पराबाट हस्तान्तरण हुँदै आएका हुन् । मानव समुद्रमा राम्ररी तैरिन बालबालिकाले आफ्नो भाषा र आवश्यक कुरा सिक्नुपर्छ । त्यसको अर्थ ब्लटिङ कागजजस्तै ठूलो परिमाणमा परम्परागत सूचना (स्मरण रहोस्, परम्परागत सूचना भन्नाले बाउबाजे, पूर्वजबाट सन्ततिमा सर्दै आएको सूचना) संकलन गर्नुपर्छ । 

काँचो उमेरमा कुन सही, कुन उपयोगी सूचना हो, छुट्याउन कठिन छ । जस्तै, भाषामा प्रयोग हुने शब्द, खराब र अर्थहीन सूचना, बोक्सी र सैतानप्रतिको विश्वास । दुर्भाग्यवश त्यो उमेरका बालबालिका वयस्कले जे भन्छन्, त्यसैलाई अकाट्य मान्छन् । बहुसंख्यकले साँचो कुरा नै गर्छन् । तर, त्यसमध्ये केही गलत र सिल्ली कुरा छन् भने पनि बालबालिकालाई पत्याउन कसैले रोक्दैन । जब ती बालबालिका हुर्किन्छन् र वयस्क हुन्छन् । ती के गर्छन् ? त्यसरी नै आफ्ना विश्वासहरू आफ्ना सन्तानलाई सुनाउँछन् । त्यसैले एकपटक बलियो गरी समातेको विश्वास जतिसुकै असत्य किन नहोस्, सन्ततिमा सहजै हस्तान्तरण भइरहन्छ । 

के धर्मको सन्दर्भमा पनि त्यस्तै भएको हो ? ईश्वर र स्वर्ग सत्य भएको, मेरीको कहिल्यै मृत्यु नभएको, जिससको बुबा मानिस नभएको, प्रार्थना सधैँ सुनिने वा वाइन रगतमा बदलिने । यस्ता विषयमा कुनै प्रमाण भेटिएको छैन । तर, करोडौँ मानिस यसैमा विश्वास गर्छन् । कारण सानो हुँदा उनीहरूलाई त्यसैमा विश्वास गर्न भनिएको थियो । करोडौँ मानिस साथै भिन्दै–भिन्दै कुरामा विश्वास गर्छन् । कारण बालबालिकामा उनीहरूलाई भिन्दै–भिन्दै कुरा भनिएको थियो । इस्लाम बच्चालाई क्रिश्चियन बच्चाभन्दा फरक भनिएको थियो । 

त्यसैले हुर्किंदै जाँदा उनीहरूलाई आफू सत्य, अरू झुटो लाग्न थाल्यो । क्रिश्चियनभित्र पनि रोमन क्याथोलिकलाई इपिस्कोपालियन्स, क्वाकर वा मरमोन्स असत्य लाग्न थाल्यो । उनीहरू ठ्याक्कै त्यस कारणले भिन्न कुरामा विश्वास राख्न थाले, जस्तो तिमीले अंग्रेजी र तिम्रो साथीले जर्मन सिक्यौ । दुवै आफ्ना देशका उपयुक्त भाषा हुन् । तर, एकै देशमा विभिन्न धर्महरू एकसाथ सत्य हुन सक्दैन जब ती धर्महरूले भिन्न मात्र होइन, विपरीत विश्वास बोक्छन् । मेरी क्याथोलिक गणतन्त्रमा जिउँदो र प्रोटेस्टेन्ट उत्तरी आयरल्यान्डमा मृत हुन सक्दैन ।

यस्तोमा के गर्न सकिन्छ ? भर्खर १० वर्ष टेकेकाले तिमीले धेरै गर्न पनि नसकौली । तर, तिमी केही प्रयास गर्न सक्छ्यौ । अर्कोपटक कुनै व्यक्तिले महत्वपूर्ण कुरा सुनाउँदै छजस्तो लागे, ध्यान दिएर सोच्नू– ‘त्यो उसले प्रमाणको आधारमा भनेको छ वा परम्परा, अख्तियार वा आत्मज्ञानको भरमा ।’ फेरि अर्कोपटक कसैले मैले भनेको कुरा सत्य हो भनेर दाबी गरे, किन नसोध्ने, के प्रमाण छ ? भनेर । यदि भरपर्दो जवाफ नसके, त्यो कुरालाई विश्वास गरिनहाल्नु । बरु सोच्नू । 

माया गर्ने,
बुबा 

(रिचर्ड डवकिन्स जीव वैज्ञानिक हुन् । यो चिठी उनको  डेभिल्स चापलेन निबन्ध संग्रहबाट साभार गरिएको हो । अवैज्ञानिक र जड दृष्टिकोणप्रति आफ्नी छोरीलाई सचेत गराउने उद्देश्यले यो चिठी लेखिएको छ । )



यो पनि नछुटाउनुहोस्