नेपाली कांग्रेस चितवनका पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र पूर्वसांसद भीमबहादुर श्रेष्ठले चितवन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका बागी उम्मेदवार दिनेश कोइरालालाई साथ दिने भएका छन् ।
गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उनीहरुले जगन्नाथ पौडेललाई साथ दिएका थिए । यसअघि भरतपुर महानगरपालिकाको मेयरको निर्वाचनमा पौडेललाई साथ दिएकी मीना खरेलले पनि कोइरालालाई समर्थन गरेकी छन् ।
आइतबार भरतपुर–६ चोकबजारमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले दिनेशलाई समर्थन रहेको घोषणा गरेका हुन् ।
स्थानीय निर्वाचनमा मेयरका प्रत्याशी पौडेलले पनि चितवन ३ बाट नै उम्मेदवारी दिएका छन् । कांग्रेसका पुराना दुई नेता सापकोटा र श्रेष्ठले यो अभियानमा साथ दिन नेता पौडेललाई आग्रह गरेका छन् ।
दिनेश र जगन्नाथले उठाएका मुद्दा मिलेपछि अलग–अलग उम्मेदवार हुन जरुरी नरहेको भन्दै उनीहरुले जगन्नाथलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । आफ्ना सारथिले साथ छाडेपछि कोइरालालाई समर्थन गर्न जगन्नाथलाई दबाब बढेको छ ।
स्वतन्त्र उम्मेदवार कोइरालाले आफूले ८० प्रतिशत कांग्रेसको मत पाउने दाबी गरे । छँदाखाँदाको केन्द्रीय सदस्य पदसमेत दाउमा राखेर कांग्रेस सुधार्ने अभियानमा हिँडेको उनको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।