विदेशीएका नेपालीलाई पहिचानसँग जोड्दै नेपथ्य, दुबईमा कार्यक्रम सम्पन्न

अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरूको पहिचानसँग जोड्दै नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ । युनाइटेड अरब इमिरेट्स अन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र हो दुबई । यो शहरभित्र विभिन्न खाले खेलकुद स्टेडियमहरू समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मै आइतबार नेपथ्य तेस्रो पटक प्रस्तुत भएको थियो ।

अघिल्ला कन्सर्टहरूभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्नेगरि 'हो रामा रामा' बाट सुरुगरेको थियो । यसरी प्रारम्भबाटै तीव्रता बोकेको साङ्गीतिक माहौलले गर्दा अरुबेला ‘आइस हकी’ खेलिने ‘कार्पेटले ढाकिएको बरफ मैदान’ सुरुदेखि तातिन पुग्यो ।

खाडी राष्ट्रहरू नेपाली कामदारका निम्ति प्रमुख गन्तव्य बन्दै आएका हुन् । युएई ले भने पछिल्लो समय नेपाली विद्यार्थीहरूलाई पनि आकर्षित गर्दै आएको छ । अमेरिकाको ‘न्यु योर्क युनिभर्सिटी’ले एक दशकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्यालयमा पढ्दै आएका एक हुल विद्यार्थीहरू दुई घण्टा लामो राजमार्ग यात्रा गरेर नेपथ्य अनुभवका लागि दुबइ आइपुगेका पनि भेटिए ।

‘हामी १७ जना साथीहरू समूह बनाएरै आएका छौँ,’ अल नासेरको परिसर भित्र भेटिएका संयम लामिछाने भनिरहेका थिए, ‘इन्टरनेटबाट नेपथ्य आउने खबर पाउनासाथ सङ्गीतमा रुचि राख्ने साथीहरू यो यात्राको तयारीमा जुट्न सुरु गरेका थियौँ ।’

संयम एक वर्षदेखि उक्त विश्वविद्यालयमा कम्प्युटर र गणितका विद्यार्थी हुन् । ‘सानैदेखि नेपथ्यको गीत सुनेर हुर्किएको भएता पनि बुढानीलकण्ठ स्कुलको होस्टल जीवनले गर्दा कन्सर्ट हेर्ने मौका पाएको थिइनँ,’ संयम भनिरहेका थिए, ‘उच्च शिक्षाका लागि विदेश आएपछि भने बल्ल यो मौका जुरेको छ ।’



संयम र उनीसँगै आएका थुप्रै छात्रछात्राहरूको हुल कन्सर्टभरि नाच्ने मात्र होइन, सकिएपछि ब्यान्डका सदस्यहरूसँग भेट्न पनि निकै आतुर देखिन्थे ।

कात्तिकको तेस्रो साता सकिँदा पनि दुबई अझै न्यानो छ । यस्तो सहरमा एक त दर्शक श्रोताहरूले टेकेको भुईँ मुनितिर जमेको बरफ तापक्रम र खुट्टाका चापले टुक्रिँदै गरिरहेको आभास मिलिरहेको थियो भने यस्तो मैदानमा फेरि माथिबाट हिउँ परेकै भान पार्नेगरी कृत्रिम हिउँको वर्षा हुन थाल्यो । अर्थात्, दोस्रो गीत थियो ‘भेडाको ऊनजस्तो’।



तेस्रो गीत नेपथ्यको सर्वकालिक लोकप्रिय ‘छेक्यो छेक्यो’ सम्म आइपुग्दा मैदानभरि जताततै नृत्य गर्नेहरू मात्र होइन, साथीहरूबाट बोकिएर नाच्न खोज्नेहरूको दृश्य पनि देखिन सुरुभइसकेको थियो ।

खाडी राष्ट्रका बारेमा व्याप्त कतिपय धारणाहरूले दुबई सहर आइपुगेपछि बेग्लै अवतार ग्रहण गर्छ । यहाँ कन्सर्टमा रमाउन आउने युवा युवतीको पहिरन र उन्मुक्तता कतिपय पश्चिमा मुलुकहरूसँग तुलना गर्न मिल्ने स्तरको देखिन्छ ।

यसरी यतैको वातावरणमा ढालिँदै गएका प्रत्येक फरक आकृतिहरूलाई झकझक्याउने गरी गायक अमृत गुरुङले ‘तपाइहरुलाई तपाइको देशको माया लाग्छ?’ भनेर सोध्दा भएभरका दर्शकहरू एकाकार भएर ‘लाग्छ’ भन्न छुटाउँदैन थिए ।

चौथो गीत अर्थात् ‘लामपाते सुरती’ गाउने बेलासम्म पनि हलमा दर्शकहरू आउने क्रम जारी थियो । यसरी प्रवेश गर्दैगरेका दर्शकहरू गेटैदेखि समुहमा नाच्दै भित्रिएको दृश्य रोचक देखिन्थ्यो ।


‘चरी म¥यो’, ‘यो जिन्दगानी’ र भर्खरैको ‘शिरफूल शिरैमा’ जस्ता गीतहरु एकपछि अर्को बढ्दै गए । त्यसपछि घरपरिवार छाडेर खाडीको तातो मरुभूमिमा कमाउन आएकाहरूको चित्र अंकित भिडियोलाई पृष्ठमा देखाउँदै ब्याण्डले गाउन सुरुगर्यो –

‘मै मरी जाउँला, जीवन छोट्टो छ’
यो क्रमलाई निरन्तरता दिँदै फेरि अर्को गीत आयो–
‘आमाको कोखमा बास मात्रै पाएँ नि, कुन देशको मरन हौ हजुर’

घरी मायालु त घरी आमाको सम्झना गराउने आफूहरूको परिस्थितिलाई टपक्क टिपेर तयार पारिएका यस्ता गीत गाइरहँदा अरबको हलमा उपस्थित नेपाली आँखा सलबलाइरहेको देखिन्थ्यो।
‘लाहुर जाने परम्परा उहिले देखिको हो,’ दर्शक भावनासँगै एकाकार हुँदै मञ्चबाट गायक अमृत भनिरहेका थिए, ‘संसार फेरियो, तर हाम्रो भाग्य फेरिएन । जेजस्तो भए पनि त्यो नेपाल आमालाई चाहिँ नबिर्सिदिनुस् है ।’

त्यसपछि उही लाहुरे परम्परालाई सम्झाउने गरी भर्खर सार्वजनिक अर्को मीठो गीत उनले प्रस्तुत गरे–
‘नैना ताल नैना ताल
घुमि आयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल
नैना ताल’

मुलुकको राजनीतिमा धेरै उथलपुथल भएता पनि नेपालीको अवस्थामा कुनै परिवर्तन नआएको उल्लेख गरिरहँदा अमृतले यसरी विदेशमा बसेका नेपालीहरू फर्केपछि सबै मिलेर एक दिन जनस्तरबाटै मुलुकको भाग्य रेखा फेरिने आशा व्यक्त गरे ।

यसरी गीत सँगसँगै एउटा कथा पनि अघि बढिरहेको भान पार्ने कन्सर्टमा अबको पालो थियो राजनीतिक चेतनासँगै जोडिएको गीत ‘गाउँ गाउँबाट उठ– बस्ती बस्तीबाट उठ’ ।
यतिन्जेल मानिसहरू मात्र होइन, सिंगो हल उफ्रिरहेको भान पर्न थालिसकेको थियो ।

दर्शकहरूमा जागेको नृत्यको यो तीब्र लयलाई समात्दै ब्याण्डले ‘मै नाचे छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ गाउन्जेल जे जस्ता दृश्य देखिए त्यसले नेपथ्य कन्सर्ट उत्तेजक बनाउनुमा प्रस्तोता मात्रै होइन दर्शकको पनि उत्तिकै भूमिका रहन्छ भन्ने पुष्टि गरिरहेको देखिन्थ्यो ।

अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरिरहँदा हलभरि जताततै साथीको काँधमाथि चढेर राष्ट्रिय झण्डा हल्लाउनेहरूले चरमोत्कर्षको अनुभूति गराइरहेका थिए । ‘नेपथ्यको उपस्थितिसँगै संगीत र देशप्रतिको माया दुवै जोडिएर आउने गर्छ,’ कन्सर्ट सकिएपछि पत्रकार महासंघ युएइका अध्यक्ष लक्ष्मण खनालको प्रतिक्रिया थियो, ‘प्रस्तुतिको हिसाबले यस पटक नेपथ्य कन्सर्ट अघिल्लो अनुभव भन्दा अझ उत्कृष्ठ पाएँ ।’

अन्यत्रका कन्सर्टहरूभन्दा अलिक बेग्लै अर्को दृश्य पनि दुबइमा देखिन्थ्यो, त्यो हो आयोजक स्वयं दर्शकहरूको हुलमा बसेर असिनपसिन हुँदै नाचिरहेको देखिनु ।‘यो व्यावसायिक सोच भन्दा पनि लामो समयदेखिको सपनामा उभिएको आयोजना थियो,’ आयोजक आशिष पुरुष भनिरहेका थिए, ‘नेपथ्यलाई ल्याएर एउटा राम्रो कन्सर्ट प्रस्तुत गर्ने मेरो त्यो सपना पुरा भएको छ ।’

व्यवस्थापन, प्राविधिक लगायत १४ जनाको टोली बोकेर दुबइ आइपुगेको ‘टिम नेपथ्य’ मध्ये मञ्चमा भने गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । नेपथ्य टोली कात्तिक २३ गते स्वदेश फर्कनेछ । 

  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १५:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया