डिजिटल माध्यमबाट पर्यटन क्षेत्रको प्रचार गर्न गैरआवासीय नेपाली संघको आग्रह

गैरआवासीय नेपाली संघले नेपालको पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ ।

सोमबार काठमाडौंमा ‘नेपालको पर्यटन क्षेत्रको विकासमा गैरआवासीय नेपाली संघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्दै संघले नेपाल पर्यटन बोर्डलाई यस्तो आग्रह गरेको हो । संघले अबको युग डिजिटल युग भएकाले नेपालको पर्यटन क्षेत्रको प्रचार पुरानो शैलीमा नभएर नेपालको समग्र पर्यटन क्षेत्रको जानकारी दिनेगरी छोटो भिडियो बनाएर प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । 

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले नेपालको पर्यटन क्षेत्रको प्रचार अब डिजिटल माध्यमबाट गर्नुपर्ने बताए । नेपालको पर्यटन क्षेत्रको प्रचार भिडियो बाहिर देशको भाषामा नै बनाएर प्रचार गर्दा प्रभावकारी हुने बताउँदै उनले त्यसका लागि संघ बोर्डसँग सहकार्य गर्न तयार रहेको बताए । 

सापकोटाले गैरआवसीय नेपाली नेपालमा आउँदा नेपाली एयरलाइन्स र होटलमा नेपालीसरहको भाडा कायम गर्न माग गरे । नेपालमा होटल तथा अन्य पर्यटन क्षेत्रमा लगानी गर्ने सहज वातावरण भए लगानी गर्न तयार रहेको उनले बताए । 

त्यस्तै, कार्यक्रममा होटल एसोसिएसन नेपालका उपाध्यक्ष विनायक साहले पछिल्लो समय नेपाली पर्यटन क्षेत्र बिस्तारै लयमा आउन लागेको बताए । नेपाली पर्यटन व्यवसायीहरुको अनुभव र क्षमता देखाउने समय आएको उनले बताए । 

उपाध्यक्ष शाहले गैरआवासीय नेपाली संघले नेपाल हरेक कुराले सामान्य भएको भनेर प्रचार गर्नुपर्ने बताए । अहिले कोभिडपछि विदेशी पर्यटक कम आउने गरेको र त्यसमा पनि नेपालको प्याकेजमा अन्य देशहरुसँग प्रतिस्पर्धा गर्नुपरेको उनले बताए । हान नेपाली पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गैरआवासिय नेपाली संघसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए । 



त्यस्तै, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीले प्रतिष्ठानले नेपाली खाना खाएर नेपालमा नै होटल व्यवस्थापन पढाउने योजनाका साथ सातै प्रदेशमा शाखा विस्तार गर्ने भौतिक पूर्वाधार बनाउन सहयोग माग गरे । 

प्रतिष्ठानलाई सरकार तथा अन्य कतैबाट सहयोग नभएको गुनासो गर्दै उनले त्रिभुवन विश्वविद्यालयले बिएचएमको कोर्ससमेत नदिएर काठमाडौं विश्वविद्यालयसँग भर्खरै सम्झौता भएको बताए । पछिल्लो समय कुनै पनि सम्भाव्यता विना क्याम्पस खोल्न दिने गरेको उनको दाबी छ । 



कार्यकारी निर्देशक उप्रेतीले प्रतिष्ठानमा पढ्ने विद्यार्थीलाई इन्टर्नको लागि आफ्नै मन्त्रालयअन्तर्गतको नेपाल वायुसेवा निगममा राखिदिन बारम्बार आग्रह गर्दा समेत नराखिएको गुनासो गरे । मन्त्रालय, निगम र विश्वविद्यालयलाई समेत चाकरी गरेर प्रतिष्ठान चलाउन नसकिने उनले बताए ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार २१:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया