गुरुनानकको मार्गदर्शन पालना गर्नसके राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर रहेका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

‘समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु,’ राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

गुरुनानकले समाजमा शान्ति, सद्भाव र लोककल्याणका लागि सबै धर्मका बीचमा सहिष्णुताका लागि गरेको मार्गदर्शनको परिपालना गर्न सकेमा सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम अभिवृद्धि भई राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने उनको विश्वास छ ।  

हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ सिख धर्मका प्रवर्तक तथा आदिगुरु गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरुनानक एक समाज सुधारक धार्मिक गुरु थिए । 

गुरुनानकले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीति विरूद्ध मानिसलाई सचेत गराउने काम गरेका थिए । गुरुनानक जयन्तीको अवसरमा आयोजना गरिने विना भेदभाव निःशुल्क सामूहिक भोजन गर्न ‘लंगर परम्परा’ लाई यसैको एक कडीको रूपमा लिन सकिन्छ । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार ६:३९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया