लोकगायक प्रकाश दुतराजले आत्महत्या प्रयासको समाचारमा सत्यता नरहेको बताएका छन् । कार्यक्रमका लागि हाल अस्ट्रेलियामा रहेका उनले सामाजिक सञ्जालमार्फत आफ्नोबारे बाहिर आएको समाचारमा सत्यता नरहेको बताएका हुन् ।
दुतराजले आत्महत्या प्रयास गरेका भन्दै सोमबार विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए । तर, उनले भने समाचारमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन् । ‘कहिलेकाहीँ हराई दिन्छु, यसै यसै । कहिले हरियाली पाखा पखेरी, उकाली ओराली, चौतारी अनि देउरालीहरूसँगै । कहीँ उजाड बगर, मरुभूमिहरू सँगै बालुवा झैँ उडिदिन्छु । कहिले समुद्रका छालहरूले अँगाल्दै गहिराइमा पुर्याई डुबाई दिन्छन् । कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैँलाई थुनिदिन्छु । हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ प्रकाशले कवितात्मक शैलीमा सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘यसलाई रोग भनुँ या मेरो विशेषता । यही कारण पनि म आफूले आफैंलाई दुःखी बनाउँछु । धेरै समाचारहरू हेरेँ, पढेँ अलिक अप्ठ्यारो असजिलो महसुस गरेँ । केही छिन हराउनु म मर्नु हैन नि!’
साथै, उनले आफूले आत्महत्या गर्ने कुनै कारण नरहेको पनि प्रष्ट पारेका छन् । ‘बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो, सानो दुःखले जन्माएको हुर्काएको होइन नि तिमीहरूलाई । माया गर्नेहरूको आँसुले सराप्छ । कसरी मार्न सक्थेँ र यो शरीरलाई! गलत बुझाइ तथा सूचनाको आधारमा प्रकाशित समाचारले मलाई माया गर्नुहुने, सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै–सबैमा पर्न गएको असरप्रति क्षमा माग्दछु ।’
पश्चिम भेगको लोकलयका संगीत तथा नृत्यलाई नयाँ पुस्तामाझ परिचित गराएका दुतराजका लोकलयका ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’र ‘मन भुल्छ’ लगायत गीत लोकप्रिय छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।