पाल्पाको सत्यवती मन्दिर जहाँ चिच्याएर वरदान मागिन्छ

पाल्पाको सत्यवतीमा आज चिच्चाएर वरदान माग्ने धार्मिक मेला लागेको छ । सत्यवती बज्यैले कान नसुन्ने भएकाले चिच्याएर वरदान माग्नुपरेको भनाइ रहेको छ । सत्यवती बज्यैसँग चिच्चाएर मागेको वरदान पूरा हुने भन्दै निकै टाढाटाढा बाट भक्तजन मन्दिरमा आउने गरेका छन् । 

सत्यवती बज्यैसँग रातिमा मात्र चिच्याएर वरदान माग्ने प्रचलनलाई आजभोलि दिउँसोमा पनि वरदान माग्ने गरिएको छ । सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनले तालको वरिपरि घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन् । सत्यवती मन्दिरनजिकै तालमा कार्तिक शुल्क चतुर्दशीको दिन सत्यवती बज्यैलाई सम्झेर बासको लिंगोे गाडी चिच्याएर वरदान माग्ने र अर्काे दिन बिहान उज्यालो नहुँदै पूर्णिमाको दिन गाडेको लिंगोे उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको छ । 

दर्शनका लागि र वर माग्न मन्दिर पुगेका चन्द्रकान्त खनाल र केशव खत्रीले चिच्याएर वर मागे पूरा हुने र कतिपय मागेका वरदान पूरा हुँदै आइरहेको बताए । धार्मिक आस्थाका कारण परापूर्व कालदेखिको परम्परालाई मान्दै आएको र आफूले मागेका वरदान सानैदेखि पूरा हुँदै आएको बताए । 

भक्तजनले मागेका कुरा सत्यवती बज्यैले पूरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने वा त्यत्तिकै जंगलमा छाडिदिने प्रचालन रहँदै आएको छ ।  
 
सत्यवती मन्दिरमा चिच्याएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत वागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायत क्षेत्रबाट आएका भक्तजनको भीड छ । 

वर्षको एकपटक मात्र पुग्ने धार्मिक पर्यटकलाई १२ महिना नै आकर्षित गर्न गुरुयोजना बनाएर काम गर्ने तयारी गरेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले  बताए । १२ महिना पर्यटकलाई ल्याउनसके सो क्षेत्रको विकास हुन समय नलाग्ने उनले बताए । 
अहिले गाउँपालिकाले मन्दिर व्यवस्थापनका लागि बजेट छुट्याएर अघि बढेको र आगामी दिनमा यसको संरक्षणका लागि पनि विशेष पहलकदमी लिने उनले बताए । 

सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडक खण्डको झुम्सा पानी मिलबाट करिब १ घण्टाको उकालो पैदल दूरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । परम्पराकालमा रातिमा मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै अहिले दिउँसो र राति दुवै समयमा पूजाआजा गर्ने र वरदान माग्ने प्रचलन सुरु भएको हो । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १६:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया