राष्ट्र बैंकले खुलायो एकहप्ते रिपो, के हो ‘रिपो’ ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले ५ अर्बको रिपो जारी गरेको छ । बिहीबार सूचना निकाल्दै बैंकले सातदिने रिपोका लागि बोलपत्र आह्वान गरेको हो । 

बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई रिपो खरिद खुल्ला गरेको जनाएको छ । रिपोका लागि कम्तीमा ५ प्रतिशत ब्याजदर कबोल गर्नुपर्नेछ । 


के हो रिपो ?

रिपर्चेजको छोटकरी रुप हो, रिपो । बजारमा तरलता अभाव भएको खण्डमा छोटो समयको लागि तरलता समस्या समाधान गर्ने साधनको रुपमा बैंकले रिपो खुलाउँछ । 

बैंक तथा वित्तीय संस्थामार्फत केन्द्रीय बैंकले तरलता समस्या समाधानका लागि रिपो जारी गर्छ । यो निकै छोटो अवधिको लागि मात्रै जारी गरिन्छ । अहिले नेपाल राष्ट्र बैंकले एक हप्ताको लागि रिपो जारी गरेको छ ।

पछिल्लो समय बजारमा तरलता अभाव रहेको चर्चा छ । केन्द्रीय बैंकमा पैसा थुप्रिएको तर बजारमा पैसा नभएको बैंकरहरु बताइरहेछन् । त्यसैले, राष्ट्र बैंकले बजारको समस्या समाधान गर्न रिपोमार्फत ५ अर्ब रुपैयाँ बजार पठाउन लागेको हो । 



कसरी जारी हुन्छ रिपो ?

बैंकहरुले अपेक्षा गरेको ब्याजदर खुलाई आफूलाई आवश्यक रकम राष्ट्र बैंकसँग माग गर्छन् । सबैभन्दा बढी ब्याज दिने बैंकलाई नै राष्ट्र बैंकले पैसा दिन्छ ।यसपटक राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम ब्याजदरमा रिपोको बोलकबोल गर्नेलाई प्रक्रियामा सामेल नगर्ने बताएको छ । 



एक सातापछि के हुन्छ ?

राष्ट्र बैंकले एकहप्ते रिपोका लागि बोलपत्र आह्वान गरेको छ । एक हप्तापछि बैंकहरुले रिपोस्वरुप लिएको पैसा फिर्ता गर्नुपर्छ । 

त्यसैले, यसलाई निकै छोटो अवधिको तरलता समस्या समाधानको साधन मानिन्छ । यदि एक सातामा पनि समस्या समाधान नभए राष्ट्र बैंकले पुनः रिपो जारी गर्छ ।
 

  • प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार १८:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया