चीनको नीति नेपालको लागि राम्रो अवसर : कार्यवाहक राष्ट्रपति पुन

कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका छन् । 

बिहीबार नेपाल–चीन उद्योग वाणिज्य संघको २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका हुन् । नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भई निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने उनले बताए । 

नेपाली उत्पादित वस्तु चीनमा निर्यात बढाउनको लागि नेपाल–चीन उद्योग वाणिज्य संघलगायत संस्थाहरुले समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताउँदै कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरे । 

गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्यांक हेर्दा चीनतर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै उनले यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको बताए । अल्पविकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुहरुको भन्सार शुल्क शून्य बनाउने चीनको नीति नेपालको लागि राम्रो अवसर हुनसक्ने उनले बताए । 

नेपालका मौलिक उत्पादनहरु चिनियाँ बजारमा निर्यात गर्नसके देशको अर्थतन्त्रको मुहार परिर्वतन हुने उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति पुनले नेपालको कृषिजन्य उत्पादन, जडिबुटी र खनिजजन्य सामग्री चीन निर्यातको ठूलो सम्भावना रहेको बताए । 

नेपाल र चीनबीच पुरानो सम्बन्ध रहँदै आएको भन्दै कार्यवाहक राष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध रहेको बताए । दुई वर्षअघि चीनका राष्ट्रपतिको नेपाल भ्रमणपश्चात् चीनसँगको सम्बन्ध थप नयाँ उचाइमा पुगेको उनको भनाइ छ । पञ्चशिलको सिद्धान्तमा आधारित दुई देशबीचको सम्बन्ध विविध क्षेत्रमा विस्तार हुँदै आएको उनले बताए । 



नेपालले चीनसँग थप सम्बन्ध सुधारको लागि नयाँ सहयोगका क्षेत्रहरु पनि पहिचान गरेको भन्दै उनले आर्थिक र कूटनीतिका माध्यमबाट दुई देशको सम्बन्ध अझै विस्तार हुने विश्वास व्यक्त गरे । 
 



  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १८:२७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया