छाङरु र तिंकरको मतदान दार्चुला सदरमुकाम खलंगामै

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ ।

व्यासमा अहिले चिसो बढेका कारण अधिकांश मतदाता खलंगा झरिसकेकाले छाङरु र तिंकर दुवै गाउँवासीले जिल्ला सदरमुकाम खलंगाबाटै मतदान गर्ने गरी तयारी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।  

वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलंगामै मतदान गर्ने व्यवस्था गरिएको छ । सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलंगामै कायम गरिएको दार्चुलाका मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिए । 

छाङरुको मतदान केन्द्रमा तीन सय ८३ र तिंकरको केन्द्रमा दुई सय ३४ जना मतदाताले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मताधिकार प्रयोग गर्ने छन् । 

तिंकरका मतदाताले सदरमुकाम खलंगाको बंगाबगरमा रहेको मोती महिला संघ आधारभूत विद्यालयमा मतदान गर्ने बताइएको छ भने छाङरुका मतदाताले कैलासपति आधारभूत विद्यालयमा मतदान गर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

गएको  ३०​ वैशाखमा भएको पालिका तहको चुनावमा यो क्षेत्रमा नेपाली भूमिबाट छाङरू र तिंकर जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत चुनाव सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको थियो । दार्चुलाका एक सय ४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन समेत गरिएको छ ।  



प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी चुनाव सामग्री बुझेर मतदान केन्द्रमा पुगेका तयारी गरिरहेका छन् । 



  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १४:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया