एजेन्सी– भारत प्रशासित कश्मीरको पुलवामामा सिआरपिएफको दफ्तरमाथि भएको आतंककारी आक्रमण पाकिस्तानले गराएको भारतीय सरकारले आरोप लगाएको छ । भारतीय नेताहरुले पनि यो आक्रमण पाकिस्तानले नै गराएको बताउँदै आएका छन् ।
पाकिस्तानले चाहिँ यसको खण्डन गरेको छ ।
पाकिस्तानको जियो समाचार च्यानलसँग कुराकानी गर्दै पाकिस्तनी विदेशमन्त्री शाह महमूद कुरैशीले यो आक्रमणको निन्दा गरेका छन् । ‘यो जुन घटना भएको छ, त्यसको म निन्दा गर्छु, हिंसा न हाम्रो बाटो थियो न हुनेछ,’ उनले भनेका छन् ।
उनले यस्ता आक्रमण सरकारको नीति नभएको पनि स्पष्ट पारेका छन् ।
तर, उनले भारतमाथि आरोप पनि लगाउन भुलेका छैनन् । ‘मलाई अफसोस यो कुरामा छ कि भारतले यसको छानबिन सुरु नै गरेको छैन र पाकिस्तानप्रति आरोप लगाइदिएको छ । आफ्नो दोष सबै हामीतिर फालिँदिँदा पनि अहिले संसारले वास्तविकता बुझिहाल्छ,’ उनले भनेका छन् ।
यो अन्तर्वार्तालाई ट्विट गरेको जियो च्यानलको ट्विटलाई पाकिस्तानको सत्तारुढ दल पिटिआईको ट्विटरले पनि रिट्विट गरेको छ ।
अन्तर्वार्तामा कुरैशीले भनेका छन्, ‘यो अबको चुनावका लागि भारतमा रचिएको राजनीतिक खेल पनि हुनसक्छ ।’
उनले यो मुद्दामा अब मोदीसँग दुई विकल्प भएको पनि बताएका छन् । उनका अनुसार पहिलो विकल्प अबको निर्वाचनलाई ध्यान दिँदै आफ्नो नीति भन्नु र यसबारे विज्ञप्ति निकाल्नु हो । कुरैशीले दोस्रो विकल्प दिएका छन्, ‘एक राजनेताका रुपमा उनले देशबारे सोच्नुपर्छ, यदि उनीसँग कुनै प्रमाण छ भने हामीलाई दिए हुन्छ, पाकिस्तान यसविरुद्ध लड्न तयार छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।