राजस्वले चालू खर्च धान्न सक्ने बजेट निर्माण गर्न पूर्वअर्थमन्त्री पौडेलको जोड

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्नेमा जोड दिएका छन् । बुटवलमा आजदेखि सुरु भएको राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै पौडेलले यसका लागि सरकारले सबै दल र विज्ञसँग छलफल गरी  फजुल खर्च कटौती गर्दै राजस्वले चालू खर्च धान्न सक्ने बजेट निर्माण गर्न सुझाब दिए ।

कानुनको अभावमा सामुदायिक वनभित्र सञ्चालित पार्कले समस्या र द्वन्द्व झेल्नुपरेको बताउँदै उनले सरकारले कानुन बनाएर वैज्ञानिक ढंग्ले दिगो व्यवस्थापनको बाटो खोल्नुपर्नेमा जोड दिए । 
पार्कहरूको विशिष्टीकरण र वर्गीकरण आवश्यक रहेको बताउँदै उनले सरकारले कानुन निर्माणमा बेवास्ता गरे निजी क्षेत्रबाट गैरसरकारी विधेयक दर्ता गरेर पनि कानुन बनाउन सकिने बताए । 

सम्मेलनमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले धेरैजसो पार्कहरू वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेला–बेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानुन बनाउन दबाब दिनुपर्ने बताए । 

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूलगायतले देसभरका पार्कहरूको सही ढंगले व्यवस्थापन गर्ने विषयमा सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । 

सम्मेलनमा पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानुनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । 
  
सम्मेलनमा समुदायबाट सञ्चालित पार्कलाई लगाइएको मूल्यअभिवृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माणका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि छलफल गरी आइतबार बुटवल घोषणपत्रसमेत जारी गर्ने सम्मेलनका सदस्यसचिव अनन्त सिलवालले जानकारी दिए । 

सम्मेलन बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)को आयोजनामा सुरु भएको हो ।





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार २१:४२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया