हेवाखोलामा बनेन डाइभर्सन, वारपार गर्न तुइन र फड्केको सहारा

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो । टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो ।   

‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्‍यो’, अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेसहित हेवाखोलामा भेटिएका पाँचथरवासीलाई भने, ‘ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो । डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियो ।’  

वर्षायामका लागि पहाडी र हिमाली क्षेत्रका नागरिकले खाद्यान्नको जोहो गर्नै नपाई खाद्यान्न आपूर्ति रोकिएपछि ताप्लेजुङका खाद्य सामग्रीको अभाव हुन लागेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष थापाको भनाइ छ । यही २ असारको राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि ताप्लेजुङ र पाँचथरकै दुई गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ । तर, एक साता बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माण हुन सकेको छैन ।

विगत तीन दिनदेखि हेवाखोलामा पानीको सतह निकै घटेको छ । पाँचथर उद्योग वाणिज्य संघसहितका निकायको अगुवाइ तथा सुरक्षा निकायको सक्रियतामा हेवाखोलामा तुइन निर्माण गरिएको छ । मेची राजमार्गमा हेवाखोलाको वारिपारि दुईतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पुर्याइरहेका छन् । 

तुइनको माध्यमबाट खोला पार गर्दै आएका यात्रुले आजबाट भने बाँसको फड्केबाट खोला तर्न पाएका छन् । राष्ट्रिय युवासङ्घ पाँचथरसहितका निकायले फड्के निर्माणका लागि बाँसको प्रबन्ध गरिदिएपछि नेपाली सेनाले फड्के निर्माण गरेको हो । तर छोटो समयमै सम्पन्न हुने डाइभर्सन निर्माणको कार्य एक साता बित्न लाग्दा पनि पूरा नहुँदा जिल्लाको हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासीले समस्या भोग्दै आएका छन् । 



बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ । खाद्यान्नको अभाव हुन लागिसक्दा पनि पाँचथरतर्फबाट यथेष्ट चासो नदिइएकामा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाले गुनासो पोखे ।  

डाइभर्सन निर्माणका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, सुरक्षाकर्मी, फिदिमका केही निर्माण व्यवसायी, पाँचथर उद्योग वाणिज्य सङ्घसहित सामाजिक क्षेत्रका अगुवाको सक्रियता देखिन्छ । तर, चाँडो काम सम्पन्न गराउन सीमा जोडिएका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रशासनिक कर्मचारीलगायतले निरन्तर सहयोग र समन्वय नगरिदिएको प्राविधिक गुनासो गर्छन् ।



पानीको सतह घटेको तीन दिन बितिसक्दा डाइभर्सन निर्माणका लागि शनिबार आठवटा ह्युमपाइप ल्याइएको छ । यस्तै, डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको छ । प्राविधिकको सल्लाहबमोजिम १२  ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो । तर बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन । 

यसअघि सडक पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि जारी छ । सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाका अनुसार बेलीब्रिज निर्माण कार्य सुरुआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर सो कार्य अहिलेकै गतिमा अघि बढे एक महिनामा पनि सम्पन्न हुन कठिन छ । 

बाढीले पुल बगाएर जनजीवन प्रभावित बने पनि समस्याको तत्कालीन र दीर्घकालीन हल खोज्न समन्वयकारी निकायको भूमिका कमजोर देखिएको छ । रासस 

  • प्रकाशित मिति : असार १०, २०८० आइतबार ८:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया