दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको जनाएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुऱ्याएको उल्लेख गरेका हुन्। 

‘पार्टी केन्द्रीय सल्लाहकार कमरेड सीता दाहालको आज बिहान ८:३३ बजे नर्भिक अस्पताल, काठमाडौंमा दुख:द् निधन भएकोमा हाम्रो सिंगो पार्टी स्तब्ध भएको छ,’ वक्तव्यमा भनिएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असिमीत समपर्ण उहाँका विशेषता हुन्। उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ।’ 

सीता दाहाल वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा जन्मिएकी हुन् । प्रचण्डसँग दाहालको २०२६ सालमा विवाह भएको थियो । वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन्। 

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । ६९ वर्षकी सीता लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित थिइन् । उपचारकै क्रममा आज बिहान करिब साढे ८ बजे उनको निधन भएको अस्पतालले जनाएको हो । 





  • प्रकाशित मिति : असार २७, २०८० बुधबार १०:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया