मन्त्री भण्डारी भन्छन्- वैदेशिक रोजगारीलाई देश विकासको आधार मान्नुपर्ने अवस्था छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन् ।  

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताएका हुन् । उनले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताए ।  

मन्त्री भण्डारीले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सुरक्षित र सम्मानित ढंगले गन्तव्यसम्म पठाउनुपर्नेमा जोड दिए ।  

‘वैदेशिक रोजगारमा जानु भनेको बाध्यता हो । नेपालको अहिलेको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र अहिले रहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दी सम्पूर्ण कुराले गर्दा नेपालको रोजगारको क्षेत्रमा जुन प्रभाव परेको छ, अहिले बाध्यात्मक अवस्था भए पनि केही वर्षलाई हामीले वैदेशिक रोजगारीलाई नै नेपालको समष्टिगतरूपमा विकासको आधार मान्नुपर्ने अवस्था छ,’ मन्त्री भण्डारीले भने, ‘यो अत्यन्त दुःखदायी विषय हो । त्यसको बाबजुद पनि हामीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरू अथवा नेपाली युवाहरूलाई अहिलेको अवस्थामा उनीहरूलाई सुरक्षित गन्तव्यमा सुरक्षित ढंगबाट, सम्मानित ढंगबाट कसरी पठाउन सकिन्छ भन्ने चिन्ता गर्‍याैँ र त्योअनुसार काम गर्न सक्यौँ भने त्यो चाहिँ धेरै ठूलो कुरो हुन्छ ।’

उनले श्रमिकलाई सुरक्षितरूपमा गन्तव्यमा पुर्‍याउनका लागि मन्त्रालयले विभिन्न सुधारात्मक काम अगाडि बढाएको बताए ।  





  • प्रकाशित मिति : असार २८, २०८० बिहीबार १६:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया