जयनगर–कुर्था रेल दैनिक सञ्चालन गरिने

भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ । गत ०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो । 

उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन् । कुर्थाबाट बिजलपुरासम्मका निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको हो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर सुरुवात गरेका हुन् । रेल उद्घाटनपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए । जयनगर बिजलपुरा सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको उनले बताए । 

रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुधार हुने विश्वास लिएको बताउँदै मन्त्री ज्वालाले बर्दिवासदेखि निजगढसम्म यात्रुवाहक रेल पुर्याउने सरकारको प्राथमिकतामा रहेको बताए । निजगढदेखि काठमाडौंसम्मको डिपिआर तयारी भएको भन्दै निर्माणका लागि सरकार छलफलमा रहेको उनले बताए । 

सरकारले रेल यातायातलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने सरकारको तयारी रहेको बताउँदै उनले ठेक्का लागेका आयोजनाको निर्माण कार्य विभिन्न कारणले निर्माण कार्य रोक्ने कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने बताए । सरकारले मधेस प्रदेशलाई प्रमुख प्राथमिकता दिएको उनको भनाइ छ । मधेसमा मिटरब्याजी, लघुवत्त समस्या समाधान सरकार प्रतिबद्ध रहेको मन्त्री ज्वालाले बताए । 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन सुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक रेल सञ्चालन गरिने बताए । उनले दैनिक सेवा प्रवाह गरिने भन्दै त्यसबाट बिजलपुरा जनकपुर क्षेत्रको सामाजिक आर्थिक क्षेत्रमा ठूलो परिवर्तन गर्ने बताए । 



अब रेल्वे कम्पनी सधैँ घाटा नाफाको समाचार भन्दा पनि दीर्घकालीन सेवा विस्तार गरी कम्पनी आफ्नो क्षमतामा चल्नसक्ने बनाउने उनको दाबी छ । कम्पनीले यो क्षेत्रमा आवश्यकतालाई हेरेर आगामी दिनमा रेल थप गर्ने उनले प्रतिबद्धता जनाए । त्यसका लागि कम्पनीले योजना बनाएर अघि बढेको महाप्रबन्धक झाको भनाइ छ । 

कार्यक्रममा बोल्दै नेपालस्थित भारतीय दूतावासका पोलिटिकल अफिसर प्रसन्न श्रीवास्तवले रेल्वेको पहुँचलाई अझै विस्तार गर्नका लागि भारत सरकार तयार रहेको बताए । रेलको इन्फास्ट्रक्चर र रेल्वे मार्ग विस्तार गर्नका लागि भारत सरकार प्रतिबद्ध रहेको उनले बताए । 



कुर्थाबाट जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भए पनि १ किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ । रेल सञ्जाललाई नेपालमा बिस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। 

सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो। जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेसन÷हल्ट रहेका छन्। जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेसन थपिएका छन्।
 

  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार १६:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया