ढाडको बांगोपनाको उपचार : विदेशमा भन्दा नेपालमै आधा खर्चमा

ढाड बांगिने समस्या १६ वर्षमुनिका बच्चामा बढी देखिने विभिन्न अध्ययनले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बांगिन्छ । २० डिग्रीभन्दा माथिको ढाड बांगिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरूले बताउँदै आएका छन् । धेरैजसो १० वर्षको उमेर गइसकेपछि बालिकालाई यो समस्या देखिने गरेको छ । ढाडको बांगोपनाको समस्या सात महिलाबराबर एक पुरुषमा देखिन्छ । 

अस्पतालहरूबाट ढाडको बांगोपनाको उपचार नेपालमा सर्वसुलभ रूपमा रहेको र सफल उपचार हुँदै आएको छ । तर, कतिपय नागरिक भने यसमा अनभिज्ञ छन् । ढाड बांगिने रोगसँग केन्द्रित रहेर एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेसँग गरिएको कुराकानीको सम्पादित अंश 

ढाडको बांगोपना के कारणले हुन्छ ?

एउटा जन्मजात नै हुन्छ । जन्मिँदा नै ढाड बांगोे हुन्छ । अर्को किसिमको बांगोेपना कारण नै थाहा नहुने खालको हुन्छ । जसलाई इडियोप्याथी भन्छौँ । त्यो धेरैजसो १० वर्षको उमेरपछि बालिकालाई देखिन्छ । योचाहिँ छोराभन्दा छोरीहरूलाई बढी देखिन्छ । सातजना छोरीमा देखियो भने एकजना छोरामा देखिन्छ । कारण ठ्याक्कै के हो भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन । 

ढाड बांगो भएको समस्याको उपचार सम्भव छ भन्ने कुरा नेपालमा धेरै मानिसहरूलाई थाहा पनि छैन । ए ! ढाड बांगो भएछ, कसैकसैले त भगवानको श्रापले गर्दा भएको हो भन्ने गरेको पनि सुनिन्छ । त्यसैले उनीहरू उपचार नै नगरीकन त्यसै बसिरहेका हुन्छन् । त्यसैले यसको उपचार सम्भव छ । र, समयमा उपचार गरियो भने भविष्यमा आउने समस्याबाट बचाउन सकिन्छ । ढाडको बांगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्छ । सानो उमेरमा नै अक्सिजनको मात्रा धेरै चाहिने भयो भने के हुन्छ ? एकछिन हिँड्दा पनि स्वाँस्वाँ हुन्छ । त्यो कुरा हामीले समयमा नै पत्ता लगाएर समयमै उपचार गर्न सक्यौँ भने उसको क्वालिटी अफ लाइफ नर्मल बनाउन सक्छौँ ।



ढाडको बांगोपन भएको कसरी थाहा पाउन सकिन्छ ?

सबैभन्दा सामान्य उपाय भनेको बच्चालाई हात जोडेर निहुरिन भन्नुपर्छ । हातले भुइँ छुन  कोसिस गरेजस्तै घुँडालाई सीधा राखेर । त्यसरी निहुरिँदा अगाडीबाट अथवा पछाडिबाट विद्यालयमा शिक्षकले हेरे पनि हुन्छ, आमा–बुबाले घरमा हेरे पनि हुन्छ । त्यसरी हेर्दाखेरि ढाडको एकातिरको लेभल अलिकति माथि र अर्कोतिरको लेभर अलिकति तल भएको देखिन सक्छ त्यसलाई हामीले रिभर्म वा लम्बर हम्प भनेर भन्छौँ । 



त्यो करङ नै घुमेर आएको देखिन्छ, एउटा तल एउटा माथि । त्योचाहिँ सबैभन्दा सरल उपाय हो । घर–घरमा अथवा स्कुल–स्कुलमा गर्न सकिन्छ । यदि बांगोेपना देखिएको शंका लाग्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । त्यसपछि हामीले एक्सरे गरेर हेर्छौं । एक्सरेले क्लियर गर्छ ।

उपचार कत्तिको खर्चिलो छ ?

हाम्रो एसोसिएसनमा दर्तावाल चिकित्सकको संख्या झन्डै एक सयजना हुनुहुन्छ । त्योबाहेक दर्ता नभएका झन्डै १५ जना हुनुहुन्छ । उहाँहरू सबै विज्ञ नै हुनुहुन्छ । हामीले एक्सरे गरेर हेरिसकेपछि बांगोेपना कति डिग्री रहेछ भनेर नाप्छौँ । यदि २५ डिग्री भन्दा सानो छ भने केही पनि गर्नुपर्दैन । हामीले अब्जर्भ मात्रै गर्ने भनेर भन्छौँ । प्रत्येक ६–६ महिना वा वर्ष दिनमा फलोअप गर्छौं । यदि बांगोेपना २५ देखि ४० डिग्री छ भने पेटी दिन्छौँ । त्यसलाई प्रेस भनेर भन्छौँ । 

यदि बांगोेपना ४० डिग्रीभन्दा माथि छ भने अप्रेसन गर्नुपर्छ भनेर भन्छौँ । जे उपचार गरे पनि मुख्य कुरा मेरुदण्ड सन्तुलित हुनुपर्यो । हामी उभिँदाखेरि टाउकोको लेभल कम्मरको बीचमा पर्नुपर्यो । यदि बांगोेपन धेरै छ भने अप्रेसन गर्छौं । अप्रेसन गर्दा रडहरू लगाउनुपर्छ । रडहरू विदेशबाट मगाउनुपर्छ । यो अलिकति महँगो पर्छ । विदेशमा उपचार गर्ने खर्चभन्दा झन्डै–झन्डै आधाभन्दा पनि कम खर्चमा उपचार हुन्छ ।

कुन उमेर समूहमा बढी देखिन्छ ?

यो धेरैजसो बच्चाहरूमा देखिन्छ । आमा–बुबाले तेल लगाउन सुरु गरिसकेपछि ढाड बांगोे भएको देखिन्छ । योचाहिँ एक्सरे हेरेर हड्डी चारकुने बन्नुपर्ने नबनेर तीनकुने बनेको हुन्छ । इडियोप्याथिक १० वर्षको उमेरपछि देखिन्छ । बच्चाहरू आफैँले नोटिस गरेका हुँदैनन् । आमा बुवाले नोटिस गर्नुपर्छ । कहिलेकाहीँ लुगा लगाएको फिटिङ हुँदैन । त्यसपछि थाहा हुन्छ । 

कहिलेकाहीँ शिक्षक, साथीहरूले थाहा पाउँछन् । फिटिङ नै भएन भन्छन् । चेक गरेर हेर्यो भन बांगोेपना रहेछ भन्ने थाहा हुन्छ । हामीले स्कुल स्क्रिनिङ प्रोग्राम भनेर पनि गरेका थियौँ । स्कुलमा बांगोेपना भएका बच्चाहरू छन् कि छैनन् भनेर पत्ता लगाउनका लागि स्कुल–स्कुलमा गएर बच्चाहरूलाई परीक्षण गर्ने गथ्र्यौँ ।

ढाडको बांगोपनाको उपचार नेपालमा सम्भव छ ?

ढाडको बांगोपनाको उपचार नेपालमा सम्भव छ । आज भन्दा १४–१५ वर्षअगाडि टेक्नोलोजिको पनि विकास भइसकेको थिएन । विषय विज्ञहरू पनि थिएनन् । विषयविज्ञहरू विकास हुँदै गए, उनीहरूले आज आएर ढाडको कुनै पनि समस्या विशेष गरेर ढाडको बांगोेपना, ढाडको चोटपटक, नसा च्यापिएको अवस्था, हात खुट्टा नचलेकोलगायतको उपचार गर्न नेपालमा सम्भव छ । प्रविधिमा युरोप अमेरीकामा जति धेरै अघि छन्, त्यहाँ त पुग्न नसकौँला, तर त्यो प्रविधिअनुसार उनीहरूको उपचार खर्च पनि एकदमै धेरै नै छ । तर, हामीले जुन टेक्नोलोजी र विशेषज्ञले नेपालमा सुविधा दिइरहेका छौँ । र, नतिजा प्रकाशन गरिरहेका छौं । विश्वको जुन राम्रो अस्पतालमा नतिजा आइरहेको छ, त्यो नतिजा हामीले पनि दिन सक्छौं र दिइरहेका पनि छौँ ।

सरकारको भूमिकालाई कसरी लिनुहुन्छ ?

सरकारले विभिन्न किसिमका स्वास्थ्य नीतिहरू त ल्याइरहेको छ । ढाडमा चोट लागेको, हेड इन्जुरीसम्बन्धी उपचारमा सरकारले सहयोग गरिरहेको छ । स्पाइन भनेको शरीरको त पिलर हो नि । यदि मेरुदण्ड बलियो भयो भने मात्रै कुनै पनि मान्छे आफ्नो काममा अगाडि बढ्न सफल हुन्छ । स्कोलिओसिस सर्जरीका लागि सरकारले अहिलेसम्म केही सहयोग त गरेको छैन । तर, ढाडमा चोट लागेकोलाई सरकारले एक लाख रुपैयाँसम्म बिरामीलाई सहयोग गर्ने गरेको छ । र, हातखुट्टा नचल्ने नै भएको छ भने महिनाको पाँच हजार रुपैयाँ जति भत्ता पनि दिने गरेको छ ।

ढाडको बांगोपना हुन नदिन के गर्नुपर्छ ?

जन्मदेखि नै बांगोपना हुनसक्छ । आमाको पेटमा हुँदाखेरि नै जुन हिसाबमा हड्डी बन्नुपर्ने हो त्यो नबन्न पनि सक्छ । इडियोप्याथिक (कारण नै थाहा नभएर बांगोपना हुने)ले पनि हुन सक्छ । चोटपटक लागेर पनि ढाड बांगोे हुन सक्छ । चोटपटक लाग्नबाट बच्ने उपाय अपनाउनुपर्छ । ट्राफिक नियम पालना गरियो भने चोटपटकबाट बच्न सकिन्छ । रुख चढ्दा ख्याल गर्नुपर्छ । ढाडमा केही समस्या भएको छ भने र बांगोपना हुनसक्ने देखिएको छ भने समयमै उपचार गराउनुपर्छ ।

  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार १६:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया