किसानले पाएनन् आलुको मूल्य, प्रतिकिलो २५ रुपैयाँमै बिक्री
फाइल तस्बिर

भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरू चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ ।   

विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताए । किसानले गत वर्ष प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री गर्न थालेको उनको भनाइ छ ।   

चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरूपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन् । ‘यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निराशा बढेको छ’, विष्टले भने, ‘मूल्यमा भारी गिरावट आएपछि किसानलाई लागत उठाउन समस्या परेको छ ।’

यहाँका किसानले घरबाट नै आलु बिक्री गर्दै आएका छन् । यस वर्ष आलुको उत्पादन बढे पनि मूल्यमा  गिरावट आएको छ । लामो समयसम्म भण्डारण गर्दा कुहिने समस्या हुने भएकाले २ हजार ५ सय किलो आलु बाध्य भएर कम मूल्यमा बिक्री गरेको उनको भनाइ छ । आलुबाट मिहिनेतअनुसारको प्रतिफल नपाएपछि निराशा थपिएको विष्ट बताउँछन् ।  

‘आलुको उचित मूल्य नपाए पनि कुहिने बिग्रने डरले बिक्री गरे’, उनले भने, ‘लामो समयसम्म भण्डारण गर्न पाएको भए मूल्य राम्रै पाइने थियो । आलु उत्पादक किसानका लागि भण्डारण केन्द्रको व्यवस्था भए उचित मूल्यमा बेच्न सकिन्थ्यो । राज्यले यसमा ध्यान दिनसके किसानलाई राहत हुने थियो ।’

ठेकेदारले किसानले बोकेर सडकमा ल्याएको आलुलाई  २८ रुपैयाँ तथा घरमा पुगेर २५ रुपैयाँमा खरिद गर्ने गरेका छन् । यहाँको चोलन्ती र मझौले गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । चोलन्ती गाउँबाट मात्र यस वर्ष करिब १५ मेट्रिक टन आलु खाँदबारी, धरान, इटहरी विराटनगर, काठमाडौंलगायत शहरमा बिक्री भएको स्थानीय व्यापारी लालबहादुर किसानले बताए ।  



‘यस वर्ष तराई क्षेत्रका बजारमा पनि आलुको राम्रो मूल्य छैन’, उनले भने, ‘यहाँका किसानको घरबाट प्रतिकिलो २५ देखि २८ रुपैयाँमा खरिद गरेर लैजाँदै आएका छौँ  । विगतका वर्षमा आलुको मूल्य निकै राम्रो थियो । तर यस वर्ष बाह्य बजारमा पनि आलुको उचित मूल्य छैन ।’ 

मझौलेका किसानको भने हालसम्म आलु बिक्री नभएको स्थानीय हिरालाल लुइँटेलले बताए । मूल्यको कारण यहाँका अधिकांश  किसानको आलु बिक्री नभएको उनको भनाइ छ । ‘हाम्रो मझौले र चोलन्ती गाउँमा आलुको धेरै उत्पादन हुन्छ’,  उनले भने, ‘आलुले यस वर्ष राम्रो मूल्य पाउन सकेन । मझौले गाउँका धेरै किसानको आलु हालसम्म बिक्री भएको छैन । किसान मूल्यको पर्खाइमा बसेको अवस्था छ ।’



उत्पादित आलुको बजारीकरणमा राज्यले सहयोग गरे किसान मारमा नपर्ने किसान लुइँटेलको भनाइ छ । बजारको पर्खाइमा बस्दा किसानको आलु कुहिएर नष्ट हुने अवस्था आएको उनले बताए । ‘उत्पादन भएको आलुको उचित मूल्य लिएर बिक्री गर्न सकिएको छैन’, उनले भने, ‘भण्डारण गरेको ठाउँमा आलु कुहिन थालेको अवस्था छ । राज्यले उत्पादित आलुलाई बजारीकरणमा सहयोग गरे हामीलाई राहत पुग्ने थियो ।’ 

मझौले गाउँका एउटा किसानले पाँच सय किलोदेखि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको स्थानीय सन्तोष विष्टले बताए । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रूपमा आलुको खेती गर्दै आएका उनको भनाइ छ । ‘यहाँको मुख्य उत्पादन नै आलु र मकै हो’, विष्टले भने । यस क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पंखदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ । रासस 

  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार ८:४४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया