सत्तासँग आमनागरिक रुष्ट छन् : पूर्वप्रधानन्यायाधीश कार्की

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले आमनागरिक अहिलेको शासन पद्धतिप्रति रुष्ट रहेको दाबी गरेकी छिन् । आज काठमाडौंमा आयोजित सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उनले अहिले सत्तामा बस्नेहरूले आफ्नो र आफ्नाहरूका मात्रै हित हेरेको उनको आरोप छ ।

‘अहिलेको शासनबाट हुँदैन भन्ने कुराको विमति हरेक जनताको मनमा छ । सत्तामा बस्नेहरु आफू हास्नुहुन्छ, आफू नै नाच्नुहुन्छ, आफू खुसी आनन्द मनाइरहनुभएको छ । जनतालाई दुःख भएको छ । जनताले भएन भन्दा पनि आफूले के–के नै गरेको जस्तो मुखमा जे आए पनि बोल्या छ,’ उनले भनिन् ‘कहिले आफैँले राम्रो काम गरेको छु भनेको पनि सुनिन्छ । उहाँहरु एकोहोरो ताली पड्काएर हिँडिरहनुभएको छ । यता जनताभने उहाँहरुको कामबाट विरक्त छन् । यो बीचमा कसरी समायोजन गर्ने यो अहिलेको मुख्य कुरा हो ।’

उनले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सत्तामा बस्नेहरुले त्यसतर्फ ध्यान नै नदिएको बताइन् । ‘सुशासन, विकास र समृद्धि यो तीवटा कुराको खाचोँ छ तर यसको स्थापनाको लागि इमान्दारीको आवश्यकता हुन्छ । जसले शासन गर्छ, जो सत्तामा बस्छ त्यो व्यक्तिमा इमानदारी र निष्ठा हुनुपर्छ,’ उनले भनिन्, ‘वर्तमानमा गलाभरि माला लगाउन पाए पुग्यो, इतिहासमा मेरो मूल्यांकन के छ, के भन्लान् त्यो कुराको हेक्का नै राख्नुहुन्न भने हामी के भन्नु, देशमा काण्डैकाण्ड र भ्रष्टाचारबाहेक केही छैन । सत्तामा टिक्नका लागि फोहोरी काम गर्नुभएको छ ।’ मुलुक कमिसन र भ्रष्टाचारमा फसेको भन्दै उनले नागरिकले पनि त्यसको खुलेर विरोध गर्न नसकेको बताइन् । 

सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सुशासनको अभ्यासमा देश चुकेको तर्क गरे । उनले भने, ‘संसारको सबैभन्दा ठूलो एजेण्डा भनेकै सुशासन हो, हामी सुशासनको अभ्यास गर्दै जाँदा त्यसबाट जन्मिने भनेकै विकास र प्रगति हो । 

'आलोचना गर्ने, सबैलाई खराब भनेर आफूलाई अब्बल देखाउनुभन्दा सबै अब्बलहरुको बीचमा अलि राम्रो बन्ने कोसिस गर्नुपर्छ,’ उनले भने, ‘यो अभियानमा रहेका एजेण्डा जबसम्म सामाजिकीकरण हुँदैन, समाजले आत्मसम्मान गर्न सक्दैन, त्यसलाई कार्यान्वयन गर्न गाह्रो हुन्छ । यसलाई सामाजिकीकरण गर्ने हो भने हामीले चाहेको सुशासन, विकास त्यति टाढाको विषय होइन ।’





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार २१:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया