मधुमेहले निम्त्याउन सक्छ अन्धोपन

विश्वमा कूल अन्धोपनमध्ये ४.८ प्रतिशत मधुमेहकै कारणले हुने गरेको एक अध्ययनले पत्ता लगाएको छ। मधुमेहले शरीरका हरेक अंगमा असर गरेझैँ यसले आँखामा पनि ‘डायबेटिक रेटिनेप्याथी’को समस्या निम्त्याउने वरिष्ठ आँखाको पर्दा विशेषज्ञ डा. रबा थापाले जानकारी दिइन् । 

उनका अनुसार मधुमेहले गर्दा आँखाको पर्दामा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ। मधुमेहको असरले गर्दा सुरुमा आँखाको पर्दामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुन्निने हुनसक्छ।

विश्वका कुल मधुमेहका रोगीमध्ये ८० प्रतिशत नेपालजस्तै अल्पविकसित राष्ट्रका मात्र हुने गरेका छन्। अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन्।

मधुमेहका तीन रोगीमध्ये  एक जनाले कुनै न कुनै तहको आँखाको दृष्टिमा क्षति बेहोर्नुपर्छ। यो सङ्ख्या २५ वर्षमा तीन गुणाले बढेको हो। तथ्यांक अनुसार सन् २००० मा डाइबेटिक रेटिनोप्याथीको समस्या ४.२ प्रतिशतमा थियो भने हाल बढेर ९.२ प्रतिशत पुगेको छ।

चिकित्सकका अनुसार डाइबेटिक रेटिनोप्याथी मधुमेहले आँखामा पुर्‍याउने  प्रमुख जटिल समस्या मध्येमा पर्छ। सबै प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखामा असर परिसकेको हुन्छ।

मधुमेहले कतिपयमा कुनै लक्षण नदेखिने हुनाले प्रभावित उपचारमा ढिला पुग्ने क्रममा पनि आँखाको दृष्टिमा क्षति पुग्ने गरेको चिकित्सक डा. थापा बताउँछिन् । 



‘मधुमेहले आँखामा हुने हानिबाट बच्न हरेकले समयमै मधुमेहको पहिचान गरी आँखा परीक्षण गराउनुपर्छ,’ डा. थापा भन्छिन्, ‘आँखामा अन्य कारणले हुने दृष्टि समस्या भए उपचार गरिसकेपछि निको हुन सक्छ। तर, मधुमेह नियन्त्रण नभए पुनः आँखामा कुनै पनि समय असर पर्न सक्ने भएकाले मधुमेहलाई नियन्त्रणमा राख्न र समय समयमा परीक्षण गर्न आवश्यक छ ।’ 



  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १५:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया