पञ्चेबाजा संरक्षणमा चुनौती

हिजोआज विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा कम गुञ्जिन्छन् । पश्चिमा संस्कृतिको नक्कल गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग बढ्न थालेपछि मौलिक संस्कृति हराउँदै गएका छन् । मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारी निकायबाट पहल हुनुपर्ने बुढापाका बताउँछन् । 

पछिल्लो एक दशकयता पञ्जेबाजाको सट्टा ठूलाठूला साउण्ड सिस्टममा रेकर्डेड गीत बज्ने गर्छन् । मौलिक संस्कृतिका रुपमा रहेको पञ्चेबाजा दलित समुदायअन्तर्गतका दमाइँ जातिले बजाउने प्रचलन रहेकामा पछिल्लो समय मगर र गुरुङ समुदायका युवाले पनि बजाउन थालेका स्थानीय बताउँछन् ।

बुढापाकाले नसक्ने र युवा पुस्ताले चासो नदिँदा पञ्चेबाजा लोप हुन थालेका स्थानीय भक्तबहादुर दर्जीले बताए । उनले बागलुङ जिल्ला पञ्चेबाजाका लागि चर्चित मानिए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बताए । सहर बजारमा एक दशक अगाडिदेखिनै बाजाको सट्टा साउण्ड सिस्टम बजाउने गरिएको उनको भनाइ थियो ।

‘अहिले दूर दराजका गाउँमा पनि रेकर्डेड गीत बजाउने प्रचलन बढेको छ । विवाहका लागि पञ्चेबाजा नभइ नहुने माध्यम थियो । अझ पश्चिम बागलुङको केही ठाउँमा मृत्यु पश्चात् पनि बाजा बजाउने चलन थियो’, दर्जीले भने, ‘अचेल दहसंस्कारका लागि शवलाई मसानघाट लैजाँदा बाजा बजाउने चलन पनि हराउँदै गएको छ ।’ उनका अनुसार एकदशक पहिले जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा दर्जन बढी बाजा बजाउनेको समूह रहेकामा अहिले हराउँदै गएका छन् । 

अहिलेका युवा शक्ति विदेशीन थालेपछि समूह बनाउन सङ्ख्या नपुग्दा बाजा बजाउन छोडिएको दर्जीले बताए । गाउँमा भएका युवाले पनि चासो नदिँदा पञ्चेबाजा हराउँदै गएको उनले गुनासो गरे । छ वर्षको उमेरदेखि बाजा बजाउन थालेको सुनाउँदै उनले पछिल्लो तीन वर्षदेखि भने बजाउन छोडेको बताए । 

पञ्चेबाजाको एक समूहका लागि न्यूनतम आठ जना चाहिने भन्दै गाउँमा त्यो सङ्ख्यामा युवा नभएको दर्जीको भनाइ छ । अहिलेका युवाले बाजा बजाउन लजाउने र बजाइ हाले पनि ताल मिलाउन नसक्ने उनले बताए । आफूले बाजा बजाएरै परिवार पालेको भन्दै अहिले बाजाको सट्टा आधुनिक विद्युतीय बाजाको चलन बढे्को उनले बताए ।



‘बाजा जोकोहीले बजाउन जान्दैनन् । सबै जातिमा बाजा बजाउनका लागि कला हुँदैन । हामीले सानैदेखि बाउबाजेले बजाएको देखेर बजाएका हौँ । अहिलेका छोरा नातिले हामीलाई पनि नबजाउ भन्छन् । पहिले बाजा बजाउनेलाई हेपाइको दृष्टिकोणले हेर्थे’, दर्जीले भने, ‘अहिले हेराइ परिवर्तन भएको छ । अन्य जातिकाले पनि पञ्जेबाजा बजाउन थालेका छन् ।’

पहिले बाजा बजाउनेलाई हेपाइको दृष्टिकोणले हेरिने भए पनि अहिले आधुनिकतासँगै शिक्षाका कारण मानिसको हेराइँमा परिवर्तन आएको स्थानीय भीमबहादुर नेपालीले बताए । उनले यहीँ पेसाबाट जीविकोपार्जन भएको भन्दै अहिलेसम्म गाउँमा बुढापाकाले नै पञ्चेबाजा संरक्षण गर्दै आएको बताए । 



सानैदेखि बाजा बनाउने, बजाउने र नाचगानमा बढी चासो भएकाले बुढेसकालमा पनि नछोडेको नेपालीको भनाइ थियो । पहिलेपहिले गाउँका साथै सहरबजारमा पनि बाजा बजाउन जाने गरेको अनुभव सुनाउँदै उनले आधुनिक प्रविधिको विकासले पञ्चेबाजालाई विस्थापित गर्न थालेकामा चिन्ता व्यक्त गरे । अब पञ्चेबाजाको संरक्षण गर्न नसके एक दशकपछि गाउँ/सहर कतै पनि पञ्चेबाजा नबज्ने स्थिति आउने उनको भनाइ थियो ।

‘वैशाख, मङ्सिर र माघमा धेरै विवाह हुने गर्थे । विवाह हुने सिजनमा कहिल्यै खाली बस्नु पर्दैनथ्यो । अहिले विवाह गर्ने चलन पनि फेरियो । पहिलेको जस्तो भातखुवाई, छैटी, छेवारलगायत परम्परामा बाजा बज्न छोडेका छन्’, नेपालीले भने, ‘त्यहीँ भएर बाजा बजाउने काम पनि कम भयो । अहिले महिनामा चार दिन पनि बाजा बजाउनु पर्दैन । हरेक दिन बाजा बजाउने समूहमा सदस्य घटिरहेका छन् ।’ उनले सिजनमा एकै महिनाको कमाइ पचास हजारभन्दा बढी हुने गरेको भएको सुनाए । बढ्दो पाश्चात्य संस्कृतिलाई नियन्त्रण गर्न नसके मौलिकता हराउने र पञ्चेबाजा पनि लोप हुने नेपालीको भनाइ थियो । 

जिल्लामा पञ्चेबाजा हराउँदै जान थालेपछि केही पालिकाले संरक्षणमा चासो दिएका छन् । बाजा बजाउने दलित समुदायकालाई प्रोत्साहनस्वरुप बागलुङ र गलकोट नगरपालिकाले पञ्चेबाजा, सनाइँ, झ्यालीलगायतका आवश्यक सामग्री सहयोग गरिरहेका छन् । 

कला संस्कृतिको संरक्षण गर्ने जिम्मा आफूहरुको भएको भन्दै बेलाबेला प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए । बाजा समूहलाई नगरपालिकाले बाजासहित, कर्नाल र पोसाक उपलब्ध गराएको उनले बताए । स्थानीयस्तरमा हुने हरेक कार्यक्रममा मौलिक संस्कृतिसँग जोडिएका बाजा बजाउनुपर्ने गरी नीतिसमेत बनाउन थालिएको उनको भनाइ थियो ।    

  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १३:४०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया