सर्वोच्चबाट अवकाश हुँदा पनि ‘चोखो’ भएर निस्कन चाहन्छु : प्रस्तावित न्यायाधीश पौडेल

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्च अदालतबाट अवकाश हुँदा कुनै विवादमा नफसीकन निस्कन चाहेको बताएका छन् । आइतबार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै उनले आफूले ३० वर्षे न्यायिक सेवा निष्ठा र इमानदारिता साथ बिताएको दाबी गरे । 

प्रस्तावित न्यायाधीश पौडेलले आफूले हिंसाले राज्यको आत्मालाई अशक्त बनाउने र भ्रष्टाचारले राज्यको आत्मा नै मारिदिने निष्कर्ष निकालेकाले त्यस्ता काममा आफू नलाग्ने अठोटका साथ काम गरिरहेको जिकिर समेत गरे । पौडेलले आगामी दिनमा सर्वोच्च अदालतमा मुद्दा फर्स्यौटको कामले गति लिने विश्वास समेत व्यक्त गरे । उनले भारत र पाकिस्तानमा भन्दा नेपालको सर्वोच्च अदालतले मुद्दा फर्स्यौटको कामलाई छिटो सम्पन्न गर्ने गरेको दाबी समेत गरे 

उनले भने, ‘हिंसाले राज्यको आत्मालाई अपांग बनाउँछ । भ्रष्टाचारले राज्यको आत्मानै मारिदिन्छ । यो मेरो आफ्नो अनुभूति हो । आजसम्म मैले यो ३० वर्ष काम गरेँ । निष्ठा र इमानदारितामा रहेर काम गरेँ । मेरो बाँकी साढे ६ वर्ष छ । म त्यो चोखो भएर निस्कन चाहन्छु । तैँले के गर्छस् भन्दा मसँग अहिले समय छैन । म यति नै भन्न चाहन्छु ।’

अर्का प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले आफूले संघीयताको बारेमा न्यायकर्मीहरुबीच छलफल गराउन कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरे । राजनीतिक तहमा मात्रै संघीयताबारे धेरै छलफल भए पनि अदालतमा त्यसको छलफल नभएकाले त्यसमा जोड दिन आवश्यक रहेको उनको तर्क थियो । ढुंगानाले न्यायकर्मीहरूको बीचमा संघीयताबारे बहस चलाउने काममा पहल गरिदिन सरकार र सांसदहरूलाई समेत आग्रह गरे ।  





  • प्रकाशित मिति : पुस १, २०८० आइतबार १८:१५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया