युक्रेनका पाइलटलाई तालिमका लागि नर्वेले लडाकू विमान पठाउने

युक्रेनका पाइलटहरूलाई विमान प्रयोगमा प्रशिक्षित गर्न सहयोग पुर्याउन डेनमार्कमा दुई एफ–१६ लडाकू जेट पठाउने नर्वे सरकारले बताएको छ । 

गत वर्ष नर्वेले डेनमार्क र नेदरल्यान्ड्स जस्ता मुलुकसँग मिलेर युक्रेनलाई एफ–१६ लडाकू जेट दान दिएका थिए । अत्याधुनिक एफ–३५ ले प्रतिस्थापन गर्नका लागि ती मुलुकले एफ–१६ लाई अवकास दिएका थिए । 

यद्यपि ओस्लोले अहिलेसम्म दान दिइने एफ–१६ को सङ्ख्या र डेलिभरीको तालिका घोषणा गरेको छैन । युक्रेनलाई दिइने एफ–१६ विमान सीमित सङ्ख्यामा हुने अपेक्षा गरिएको छ । 

नर्वेका रक्षामन्त्री ब्योर्न एरिल्ड ग्रामले एक विज्ञप्तिमा भनेका छन्, ‘युक्रेनका लागि दिगो र आधुनिक वायु सेना स्थापना गर्ने लक्ष्यका लागि सहयोगी साझेदार र राज्यहरूले दिनरात काम गर्नेछन् ।’ 

स्क्यान्डिनेभियाली मुलुक नर्वेले यसअघि नै करिब १० प्रशिक्षकका साथ प्रशिक्षण कर्मचारी आपूर्ति गरिरहेको छ । नर्वेली एफ–१६ लडाकू जेटलाई अझै अनिश्चित अवधिका लागि डेनिस स्क्रिडस्ट्रप्स विमानस्थलमा तैनाथ गरिनेछ । त्यहाँ युक्रेनी पाइलटहरूलाई बहुराष्ट्रिय अपरेसनको हिस्साका रूपमा प्रशिक्षित गरिनेछ । 

नयाँ वर्षको सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘देशका पाइलटहरू पहिलादेखि नै एफ–१६ जेटमा निपूण छन् र हामी निश्चितरूपमा तिनीहरूलाई हाम्रो आकासमा देख्नेछौँ ।’ 



उनले रुसी सेनाले सन् २०२४ मा युक्रेनको ‘क्रोध’ महसुस गर्ने वाचा पनि गरे ।   



  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार ६:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया