संसदीय समितिमा शिक्षकहरूको गुहार- हाम्रो जागिर जोगाइदिनुस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा साबिक उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफूहरूको जागिर जोगाइदिन आग्रह गरेका छन् । 

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष टिकाप्रसाद न्यौपानेले साबिक उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरूको जागिर जोगाइदिन आग्रह गरेका हुन् । 

उनले साबिक उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरूलाई तत्कालीन समयमा लाइसेन्स बिना नियुक्त गरेको भए पनि अहिले आएर लाइसेन्स खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले अहिले स्थानीय तहहरूले जबरजस्त लाइसेन्स ल्याउन न नल्याएको खण्डमा बर्खास्ती समेत गर्ने धम्की दिन थालेकाले त्यस्ता शिक्षकहरूको जागिर जोगाइदिन नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरे । उनले शिक्षकहरूको आत्महत्या गरेको खबर आउन सक्ने भन्दै यसतर्फ सचेत समेत गराए । उनले शिक्षक महासंघले छुट लाइसेन्सको सम्बन्धमा सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने पनि बताउँछन् । 

त्यस्तै, बैठकमा बोल्दै माध्यमिक विद्यालय शिक्षक युनियनकी सहअध्यक्ष कल्पना पनेरुले स्थानीय तहहरूले सामुदायिक विद्यालयहरूलाई नजिकबाट हेर्नुपर्ने बताइन् । उनले माध्यमिक विद्यालयहरूलाई व्यवस्थित गर्न आग्रह समेत गरिन् । उनले व्यक्ति हेरेर शिक्षक नियुक्ति गर्ने कारणले गर्दा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताइन् । 

बैठकमा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गर्नुपर्ने बताए । उनले विद्यालय कर्मचारीहरूलाई आन्तरिक रूपमा स्थायी प्रक्रियामा लगेर शिक्षक सरहको सेवा, सुविधा प्रदान गर्न माग गरे । 



अध्यक्ष तिवारीले विद्यालय कर्मचारीहरू स्थानीय तहको मातहतमा जान पनि तयार रहेको उल्लेख गरे । उनले संघ सरकारले दरबन्दी स्वीकृत गरे स्थानीय तहमा जान पनि सकिने धारणा राखे ।  



  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १६:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया