१६ औँ पञ्चवर्षीय योजनाले राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने आश गर्न सकिँदैन : विष्णु पौडेल
फाइल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताएका छन् । 

उनले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताएका हुन् । उनले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५औँ योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको आरोप लगाए । 

उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै योजना आयोग १६ औँ योजनाको निर्माणमा अलमलिरहेको बताए । उनले १६ औँ योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरू र तिनले दिएका अनुभवको जगमा उभिएर वर्तमान र दीर्घकालीन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको दाबी गरे ।

योजना आयोग आगामी १६ औँ योजना बनाउने विषयमा कुहिरोभित्रको काग जस्तै भइरहेको टिप्पणी गरे । नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको १५ औँ योजना धेरै दृष्टिकोणले महत्वपूर्ण रहेको पौडलको भनाइ छ । उनले १५ औँ योजनाले नेपालको योजनावद्ध विकासमा डिपाचर हुने गरी नयाँ दिशाबोध दिएर विकासका परम्परागत अभ्यासहरूलाई ब्रेक थुर गरेको उल्लेख गर्नुभयो ।  

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले योजना आयोगको १६ औँ योजना निर्माणको तयारी गतिलो योजना आउने अवस्था नदेखिएको उल्लेख गरे । उनले १६ औँ योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यावहारिक रुपमा उपलब्ध कसरी गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

योजना आयोग १५ औँ योजनालाई अस्वीकार गर्ने तर अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन पनि नसक्ने दुविधामा १६ औं योजनाको तयारी गरिरहेको पौडेलको भनाइ छ । उनले १५ औँ योजनाले अघि सारेका योजनाहरूलाई निरन्तरता दिँदै थप आवश्यकतालाई पहिचान गरेर आयोगले योजना निर्माण गरिनु पर्ने बताए । 





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १०:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया