राजा चार्ल्सको उपचारका क्रममा राजकुमार विलियमले शाही जिम्मेवारी सम्हाल्ने

पिता तथा राजा चार्ल्स तृतीयको क्यान्सरको उपचार भइरहेको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नुपर्ने भएपछि बेलायती राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारीको थप भार बहन गर्नुपरेको छ । 

राजा एक्कासि क्यान्सर निदानका लागि अस्पतालमा भर्ना हुनुपर्ने र क्याथरिनको पेटको अपरेसन भएकोले विलियमलाई थप शाही बोझ काँधमा आएको हो ।

चार्ल्सका जेठा छोरा तथा सिंहासनका उत्तराधिकारी ४१ वर्षीय विलियमले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिनको र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए । 

राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधबारदेखि काममा फर्किएका हुन् । 

उनले आफ्नो बुबाको उपचारका क्रममा चार्ल्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ । उपचारका क्रममा राजा चाल्र्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चार्ल्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्नेछन्। 

बकिंघम प्यालेसले ७५ वर्षीय राजालाई कुन प्रकारको क्यान्सर भएको छ भन्नेबारे केही बताएको छैन, यद्यपि यो प्रोस्टेट क्यान्सर नभएको बुझिएको छ । 



बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजाको स्वास्थ्यबारे सार्वजनिक सन्देशमा समस्या ‘छिट्टै नै पत्ता लागेको’ बताएका थिए । 

सन् २०२२ सेप्टेम्बर ८ मा राजा चार्ल्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएको र उनको शासनकालको १७ महिनापछि नयाँ राजालाई यो समस्या रहेको पत्ता लागेको हो । 



  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १९:५४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया