विश्वभर असफल भएको वामपन्थी व्यवस्था नेपालमा लाद्न खोज्नु दुर्भाग्यपूर्ण : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनीतिक विचार निषेध गरे पनि सधैँ निषेधित र समाप्त नहुने बताएका छन् । 

आज पार्टीद्वारा काठमाडौंमा आयोजित ‘त्रिभुवन जयन्ती, प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सव’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरण भएको समेत टिप्पणी गरे । देशमा वामपन्थी विचारको वर्चस्व र हावी भएको भन्दै उनले विश्वभर असफल भएको व्यवस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको बताए । 

जनताको अभिमतविना गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै उनले अर्बौँ खर्च गरेर योजनाबद्ध रुपमा नेपाली धर्म संस्कृति नष्ट गरेकोमा आपत्ति प्रकट गरे । विकृत मान्यता र दर्शन बोकेर देश विकास हुन नसक्ने बताउँदै उनले देश वैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको दाबी गरे । 

कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न नसकेको बताउँदै उनले ०८४ को चुनावअगावै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए । विचार मिल्नेहरु सबैले मोर्चा निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए । 

वैकल्पिक विचार र शक्ति निर्माण गर्न राप्रपा नेपाल बलियो हुनुपर्ने तर्क गर्दै थापाले सम्पूर्ण नेता कार्यकर्ताहरुलाई संगठन केन्द्रित हुन आग्रह गरे । 

कार्यक्रममा नेताहरु विष्णु भट्टराई, राजाराम बर्तौला, माधव खत्री, हिक्मतजंग भण्डारी  सुनिता कुरुङ्वाङ, श्याम घिमिरेलगायतले बोलेका थिए ।





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार २१:२७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया