गण्डकी प्रदेशमा ६ वर्षमा थपिए ३५ हजार साना उद्योग

पछिल्लो ६ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार ७१६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार यो अवधिमा ३२ हजार ९९४ व्यवसाय दर्ता भएका छन् ।   

जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग दर्ता हुने गरेको मन्त्रालयका उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद आचार्यले बताए । ‘प्रदेश सरकार स्थापना भएयता ३५ हजार ७१६ घरेलु तथा साना उद्योग दर्ता भएको देखिन्छ’, उनले भने, ‘स्वरोजगारसँगै स्थानीय बजार चलायमान बनाउन साना उद्योग तथा व्यवसायको महत्त्वपूर्ण योगदान छ ।’ 

घरेलु तथा साना उद्योगको सङ्ख्या बढ्दैमा ठूलो पुँजी लगानी र रोजगारी वृद्धि भने नहुने महाशाखा प्रमुख आचार्यले बताए । १० करोडभन्दा कम स्थिर पुँजी भएका उद्योग पर्यटन तथा उद्योग कार्यालय दर्ता गराउन सकिने कानुनी व्यवस्था छ ।  

स्थानीय सरकार सञ्चालन ऐनले लघु, घरेलु तथा साना उद्योग स्थानीय तहमै दर्ता गर्न सकिने व्यवस्था गरे पनि बैंक कर्जाका लागि उद्योग पर्यटन तथा उद्योग कार्यालयमै दर्ता हुने क्रम बढिरहेको मन्त्रालयले जनाएको छ । उद्योग स्थानीय तह वा प्रदेशका ११ वटै जिल्लामा रहेका पर्यटन तथा उद्योग कार्यालयमा दर्ता गर्न सकिने महाशाखा प्रमुख आचार्यले बताए ।

डिजिटल गण्डकीको नीतिअनुरूप १ लाख ८ हजार २५३ उद्योग तथा वाणिज्य फार्मको विद्युतीय अभिलेखन गरिएको जनाइएको छ । उद्योग तथा वाणिज्य प्रशासनमा विद्युतीय सेवा प्रवाह सुरु गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा बन्ने औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार पारी वातावरणीय अध्ययनको काम अघि बढाएको छ । गण्डकी प्रदेश सरकारले ६ वर्षअघि निर्माण घोषणा गरेका ती आयोजनाको वातावरणीय अध्ययनका लागि परामर्शदाता कम्पनी गौमुखी इन्जिनियरिङले जिम्मा पाएको महाशाखा प्रमुख आचार्यले बताए । 



वातावरणीय प्रभाव मूल्यांकन नगरेसम्म औद्योगिक क्षेत्रका लागि संघ सरकारबाट जग्गा उपलब्ध नहुने भएपछि वातावरणीय अध्ययन प्रदेश सरकारले अगाडि बढाएको हो ।

समयमा जग्गा व्यवस्थापन हुन नसक्दा घोषणा गरेको वर्षौँ बित्दासमेत औद्योगिक क्षेत्र निर्माणको काम शुरु हुन सकेको छैन । ‘एक स्थानीय तह, एक उद्योग ग्राम’ अन्तर्गत गण्डकी प्रदेशका २९ स्थानीय तहमा पूर्वाधार निर्माण भइरहेको छ । यसमध्ये २३  उद्योग ग्राममा प्रदेश सरकारको ८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । रासस  



  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १०:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया