प्रधानन्यायाधीश श्रेष्ठको दाबी- न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थालेको छ

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताएका छन् । उच्च अदालत जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित फरक मुद्दा व्यवस्थापन र यसको कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको जिम्मेवारीमा रहेका सबैको सामूहिक प्रयास र प्रतिबद्धतापछि न्याय क्षेत्रमा सकारात्मक अवस्था सृजना भएको बताए । 

उनले संविधान, आम नागरिक र राष्ट्रपतिको न्यायपालिकाप्रतिको अपेक्षा स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवम् प्रभावकारी न्याय सम्पादन हुनुपर्छ भन्ने रहेकाले सोहीअनुसार क्रियाशील हुन निर्देशनसमेत दिए । ‘मुद्दाको फछ्र्यौट र बक्यौता न्यूनीकरणलाई वाञ्छितस्तरमा नल्याएसम्म सुधारका प्रयासले सार्थकता पाउन सक्दैनन् । न्याय सम्पादन र व्यवस्थापकीय पक्षमा सुधारका लागि अन्य थुप्रै प्रयास भइराखेका छन् । तिनलाई निरन्तरता दिने, नतिजामूलक बनाउने, संस्थागत गर्ने भूमिका र जिम्मेवारी हामी सबैको हो’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘मैले जिम्मेवारी सम्हालेदेखि नै न्यायिक सुधारका विभिन्न पक्षमा आफूलाई केन्द्रित र समाहित गर्दै आएको छु । न्यायिक सुधारप्रति सबैको स्वामित्व र प्रतिबद्धता पनि देखिएको छ । सुधारका सङ्केत पनि देखिएका छन् । त्यसमा यहाँहरू सबैको सत्प्रयास र प्रतिबद्धता जरुरी छ ।’ 

कार्यबोझ र बक्यौताको दृष्टिकोणबाट बढी चुनौतीपूर्ण अवस्था रहेको सर्वोच्च अदालतमा केही समयदेखि नयाँ दर्ताको तुलनामा बढी मुद्दा फछ्र्यौट गर्ने नीतिअनुसार काम भइरहेकाले बक्यौता मुद्दाको लगत क्रमशः घट्दै गएको पनि उनले जानकारी दिए । प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गरिएकाले मुद्दा फछ्र्यौटले थप गति लिने विश्वास रहेको बताए । उनले उच्च अदालतको पछिल्लो नियुक्तिको कारण जिल्ला न्यायाधीश रिक्त हुन पुगेकामा त्यहाँ पनि पदपूर्तिको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । 

सर्वोच्च अदालत र उच्च अदालतमा मुद्दामा पेसी तोक्ने कार्यलाई स्वचालित पद्धतिमा आधारित बनाइएकाले राम्रो नतिजा दिइराखेकाले अब छिट्टै जिल्ला अदालतमा पनि सो पद्धति लागू गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । त्यसैगरी, भौगोलिक कारणबाट अदालतमा भौतिकरूपमा उपस्थित हुँदा लाग्ने खर्च र समयको बचत गर्न अनलाइन बहस पैरवी गर्ने पद्धतिलाई थप विस्तार गर्न जुम्ला इजलास, धनकुटा इजलास, महेन्द्रनगर इजलास र हेटौंडा इजलास गरी चार स्थानमा भिडियो कन्फरेन्सिङमार्फत बहस पैरवीको व्यवस्था गरिसकिएको र अब त्यसलाई व्यवस्थित गर्दै लगिने श्रेष्ठको भनाइ छ । 

सूचना र प्रविधिको प्रयोगमार्फत न्यायप्रणालीलाई सहज, सुलभ र छिटोछरितो बनाउन मुद्दाको अनलाइन रजिष्ट्रेसनको कार्य सर्वोच्च अदालतमा नमूनाका रुपमा प्रारम्भ गरी क्रमशः विस्तार गर्दै लैजाने तयारी अन्तिम चरणमा रहेको छ । त्यस्तै, अनुचित लेनदेनबाट धेरै नागरिक समस्यामा परेको विषयका मुद्दा अदालतमा आउँदा इमान्दारितापूर्वक न्याय दिने मनसायका साथ हेर्नुपर्ने आवश्यकताका बारेमा पनि सचेत रहन सबैलाई प्रधानन्यायाधीश श्रेष्ठले ध्यानाकर्षण गराए ।  





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १६:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया