जहाँबाट संसदीय राजनीतिलाई रछ्यान बनाउने शृङ्खला सुरु भयो... [भिडियोसहित]
गुरु गिरिजाप्रसाद कोइरालाले छिर्के हानेर चेला शेरबहादुर देउवालाई सिंहदरबारबाट गलहत्त्याए तर किन ?

बिपी कोइरालाले ‘गुड ब्वाय’ भनेर राजनीतिमा अघि बढाएका शेरबहादुर देउवा । तिनै शेरबहादुर देउवा, जो आफ्नै पार्टी त्यसमा पनि आफ्नै गुटका दुई सांसदको ‘गद्दारी’ ले प्रधानमन्त्री पद गुमाउन पुगे ।

को कति बेला कहाँ, कोसँग मिल्छ र को प्रधानमन्त्री बन्छ भनेर अनुमान गर्न नसकिने भएको छ, अहिले नेपालको राजनीति ।

अहिलेसम्म ३२ सिट भएको माओवादी पार्टीका अध्यक्ष प्रचण्डको इच्छाअनुसार गठबन्धन बनिरहेको छ । कहिले कांग्रेसलाई साथमा लिएर त कहिले एमालेलाई साथमा लिएर उनी राजनीतिको कम्पासको सुईलाई फनफनी नचाइरहेका छन् । 

पछिल्लो समय जसरी नयाँ गठबन्धन निर्माण भएको छ,त्यसले राजनीति धुव्रीकृतमात्र गरेको छैन, संसदीय राजनीतिलाई विकृर्तीको थलो बनाउने खेल पनि प्रारम्भ भएको छ । अबका दिनमा सांसद किनबेचदेखि संसदीय अंकगणितमा लुछाचुंडको राजनीति देख्नुपर्ने नियतिबाट हामी नेपालीले पार पाउन सक्ने स्थिति छैन । 

ठ्याक्कै यस्तै थियो २०५२ सालताकाको नेपाली राजनीति । अहिले सत्ताको केन्द्र प्रचण्ड भएजस्तै कुनै बेला, शेरबहादुर देउवा राजनीतिको शिखरमा थिए । त्यस बेला पनि देउवा सत्ताकालागि जुन हदसम्म पनि जाने गर्थे,अहिले प्रचण्ड पनि देउवाकै त्यही बाटो हिँडिरहेका छन् । 

त्यो आजकै दिन थियो–२०५३ फागुन २६ । २७ वर्ष अघि नेपाली राजनीतिमा एउटा यस्तो प्रहसन भयो जसले नेपाली राजनीतिलाई फोहरी साबित गर्न कुनै कसर बाँकी राखेन । पहिलो पटक प्रधानमन्त्री बनेका देउवालाई ठिक १८ महिनामै आजकै दिन सिंहदरबारबाट बाहिरको बाटो देखाइएको थियो । 



भयो के भने २०५१ को मध्यावधि निर्वाचनपछि संसदमा कुनै दलको स्पष्ट बहुमत रहेन । नेकपा (एमाले) सबैभन्दा ठूलो र कांग्रेस दोस्रो दल बन्यो । निर्वाचन लगत्तै नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी संसद्को ठूलो दलको नेताका हैसियतमा अल्पमतको प्रधानमन्त्री बने । मुलुकका प्रथम कम्युनिस्ट प्रधानमन्त्री अधिकारीको अल्पमतको सरकार नौ महिनामै ढल्यो । अनि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सद्भावना पार्टीको समर्थनमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने ।

यसबीच देउवा सरकारले अविश्वास प्रस्ताव सामना गरे पनि संसदीय राजनीतिको चरम दुरुपयोग गरेरै तत्कालकालागि आफ्नो सत्ता जोगाए । तर देउवाको यो फण्डा धेरै दिन चलेन । चर्को दबाबकाबीच २०५३ फागुन २३ मा देउवा आफैले विश्वासको मत लिन संसदमा प्रस्ताव पेश गर्न बाध्य भए । त्यसपछि कांग्रेसभित्रैबाट सुरु भयो देउवालाई सत्ता च्युत गर्ने खेल । 



मतदानको बेला आयो । सभामुख थिए,रामचन्द्र पौडेल । हो–अहिलेका राष्ट्रपति । उनले मतदानका निम्ति सदन सुरु गर्नै लाग्दा कांग्रेसका दुई सांसद बेपत्ता भएको खबर एक कान दुई कान मैदान हुदैँ फैलियो । तर देउवालाई आफूप्रति बफादार भनिएका ती दुई सांसद सदनमा अनुपस्थित होलान् भन्ने हेक्कै थिएन । ती दुई सांसद थिए,चक्रबहादुर शाही र दीपकजंग शाह । 

मतदानमा आफ्नै दुई सांसद अनुपस्थित हुँदा देउवाकालागि आवश्यक बहुमत संख्या १०३ पुगेन । सभामुखबाट परिणाम घोषणा भयो–विश्वासको मतको पक्षमा १०१ र विपक्षमा ९२ मत । 
वरिष्ठ पत्रकार तथा अहिले हिमालय टाइम्सका प्रधानसम्पादक रहेका पुरुषोत्तम दाहालसँग हामीले देउवा प्रधानमन्त्री भएदेखि उक्त पदबाट हट्दासम्म कांग्रेसभित्र कस्तो खिचडी पाकिरहेको थियो भनेर सोधेका थियौँ ।

लुकेका वा भनौँ लुकाइएका कांग्रेसका ती दुई सांसद शाह र शाही उपस्थित भएको भए देउवा सरकार जोगिन्थ्यो । तर त्यसो भएन । कांग्रेस मुखिया गिरिजाप्रसाद कोइरालाको ‘ग्राण्ड डिजाइन’ मा देउवा नेतृत्वको सरकार अपदस्थ भयो । देउवा सरकार ढलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले र सद्भावना पार्टी मिलेर सरकार बन्यो । कांग्रेसभित्रको आपसी झगडा,अंहकार र इष्र्याले देउवाले १८ महिनाभन्दा बढी सरकारको नेतृत्व गर्न पाएनन् । 

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले आफ्नो पुस्तक ‘मेरो पत्रकारिता’ मा  प्रधानमन्त्रीका रूपमा देउवाको पहिलो कार्यकालबारे उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ...नेपाली राजनीतिमा यो यस्तो घटना थियो जहाँबाट संसदीय राजनीति कम्युनिष्टहरुकै भाषामा ‘खसीको टाउको देखाएर बोकाको मासु बेच्ने थलो’ मा परिणत भयो । आफ्नै पार्टीका सांसदले समेत कसरी छेपारोले जस्तै रङ फेर्छन भन्ने कुराको नजिर बन्यो । देउवाको  पहिलो कार्यकाल पजेरो काण्ड, सुरासुन्दरी काण्ड, सांसदहरुको बैंकक शयरदेखि जम्बो मन्त्रीमण्डल गठन जस्ता घटनाले बदनाम भएको थियो । देउवा सत्ता टिकाउनका लागि जुनसुकै हदसम्म पुग्न सक्ने ‘सम्झौता परस्त’ प्रधानमन्त्रीका रूपमा चित्रित भएको त्यसैबेलादेखि हो ।

त्यही कालखण्डमा नेपालको संसदीय राजनीतिमा भारतको बिहारी शैलीको राजनीतिक अभ्यासको बीजारोपण हुँदैथियो । छ–छ महिनामा सरकार ढाल्ने, एउटा सरकार बन्न पाएकै छैन, अविश्वासको प्रस्ताव राखिहाल्ने अनि आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन सांसदहरू लोकल कुखुरा झैँ विक्री भइरहेका थिए । प्रजातन्त्र र संसदीय व्यवस्थालाई बदनाम गराउने काम यही बेला भयो । यसकालागि पञ्चायतका दुई पात्रहरू लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा सक्रिय रहे । नैतिकता,इमानदारी र सिद्धान्तका लागि लडेको भनिएका कांग्रेस र एमालेले पञ्चहरूसँग मिलेर राजनीतिलाई रछ्यानमात्र बनाएनन्,दुवैलाई प्रधानमन्त्रीसमेत बनाए । यो सब खेलामा नारायणहिटी दरबार सक्रिय रह्यो । छिमेकी शक्ति पनि नेपाली राजनीतिमा हाबी हुन खोज्ने नै भयो । 

फागुन २६ मा देउवालाई सत्ताबाट हटाइएपछि त्यसको अर्को दिन लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री बने,एमालेको सहयोगमा । जसलाई व्यंग्य गर्दै मिडियाले लेख्यो–चमाले सरकार । यो गठबन्धनलाई एमाले अध्यक्ष मनमोहन अधिकारीले ‘अपवित्र गठबन्धन’ भने । अहिले एकपटक इतिहास फेरि दोहरिएको छ, कांग्रेससंग चुनावी गठबन्धन गरेको नेकपा माओवादीले उसलाई हटाएर एमालेसहितका दलहरुसंग नयाँ गठबन्धन गरेको छ । के यो पनि त्यही २७ वर्ष अघिकै जस्तो ‘अपवित्र गठबन्धन’ साबित हुने त होइन ? हेर्दै जाऊँ ।

  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १४:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया