मैत्रीपूर्ण क्रिकेट : नेपाल हङकङसँग पराजित

मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो । हङकङमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो । 

दुई सय १३ रनको लक्ष्य पाएको नेपालले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो । नेपालका लागि विनोद भण्डारीले २२ बलमा ४१ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३० रन र आरिफ शेखले ३८ रन बनाए ।

यसअघि हङकङका लागि बाबर हयातले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा तीन चौका र १३ छक्काको मद्दतमा एक सय १० रन बनाए । यस्तै, मार्टिन कोइत्जीले ३१ र अंशी राथले ३९ तथा अजिज खानले अविजित २१ रन बनाए । 

बलिङतर्फ नेपालका लागि आजैको खेलमा टी–२० क्रिकेटमा डेब्यु गरेका आकाश चन्दले तीन विकेट लिए । त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदै छ । 

त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्नेछ । यस्तै, नेपालले फागुन २९ गते पवुवा न्यूगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् । 



नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृंखला खेल्नका लागि बिहीबार हङकङ गएको हो ।



  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १७:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया