नेकपा पार्टी एकतामा सहमति नजिक

काठमाडौं– पूर्व एमाले र माअ‍ोवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीबीच एकीकरण भएको एक वर्ष पुग्नै लाग्दा सत्तारुढ नेकपाका जिल्ला कमिटीहरूको एकीकरण टुंगो लगाउने प्रयास हप्तादिनदेखि भइरहेको छ ।

भोलि वैशाख ९ गतेका दिन कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो सदस्यहरूको नाम सार्वजनिक गर्ने तयारी भइरहेको नेकपाले जनाएको छ । 

जिल्ला कमिटीका अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो र उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरूको नाम टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचवालयका सदस्यबीच आज पनि छलफल भइरहेको छ । 

अध्यक्षद्वयले पार्टी एकतामा असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । सचिवालय सदस्य तथा पार्टी महासचिव विष्णु पौडेल पनि आइतबार बिहानैदेखि शीर्ष नेताहरुसँग परामर्शमा छन् ।

पछिल्लो छलफल सकारात्मक रहेको र बीचमा छलछाम नगरिए जिल्ला कमिटीका पदाधिकारी र पोलिटव्यूरो चयनमा ठूलो विवाद नरहने नेकपा स्रोतले बताएको छ । 

स्रोतका अनुसार विभिन्न मापदण्डमा छलफल हुँदा पनि विशेषगरी पूर्वएमालेभित्र केपी ओली र माधव नेपाल समूहबीच सहमति हुन नसकेपछि जनप्रतिनिधिलाई जिल्ला नेतृत्वबाट बञ्चित नगर्ने समझदारी नजिक नेताहरू पुगेको बताइएको छ ।  



यसअघि पूर्व एमालेको जिल्ला अध्यक्ष रहेका नेताहरु अहिले जनप्रतिनिधि भए पनि उक्त जिल्ला अध्यक्ष एमालेको भागमा परेमा सोही जिम्मेवारीमा रहन स्रोत जानकारी दियो । 

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपाल गुटले माग गरे बमोजिम पोलिटव्यूरो कमिटी पनि गठन हुने बताइएको छ । 



पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयको गठन भइसकेको छ । अब पोलिटव्यूरो पनि गठन गर्न नेताहरू सहमत भएको स्रोतको दाबी छ ।  


 


  • प्रकाशित मिति : वैशाख ८, २०७६ आइतबार १३:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया