कसरी राखिन्छ आँधीतुफानकाे नाम ?

अहिले भारतको ओडिशा राज्यलगायतका क्षेत्र आँधीको प्रकोपमा परेको छ । ‘फानी’ नाम दिइएको यो तुफानले धेरै ठूलो धनजनको क्षती पुर्याउन सक्ने देखिएपछि ओडिशा सरकारले तटीय क्षेत्रका लाखौं जनतालाई सुरक्षित स्थानमा सारेको छ । 

हिन्द महासागरमा आउने आँधीकाे प्रभाव नेपालमा पनि देखिने गरेकाे छ । ‘फानी’ काे पनि नेपालमा असर देखिने माैसम तथा पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

भारतीय मौसम विभागका अनुसार शुक्रबार ओडिशा तटमा आँधीको ल्यान्डफल हुनेछ । याे आँधी ओडिशाका विभिन्न ठाउँबाट पश्चिम ब‌ंगाल हुँदै ब‌ंगलादेश पुग्नेछ र यसकाे प्रभाव आइतबारसम्म रहनेछ ।

तुफानले पुर्याउने क्षतीबाट तत्काल उद्दार, सहयाेग र मर्मतका लागि भारतीय जलसेना, तटरक्षक बल र राष्ट्रिय विपद व्यवस्थापन बललाई विभिन्न ठाउँमा तैनाथ गरिएको छ । सेना तथा वायु सेनालाई पनि तयार गरिराखिएको भारतीय अधिकारीले जानकारी दिएका छन् । 

योभन्दा पहिला अक्टुबरमा आएको आँधी ‘तितली’ ले ओडिशा र आन्ध्र प्रदेशमा ठूलो क्षती पुर्याएको थियो । धेरै वर्षा र भुक्षयले दुवै राज्यको ठूलो क्षेत्रमा जनजीवन ध्वस्त पारेको थियो । 



योभन्दा पहिला ओडिशामै ‘डे’ नामको आँधी आएको थियो । त्यस्तै २०१३ मा ‘फैलिन’ ले आन्ध्र प्रदेश र ओडिशामा तहल्का मच्याएको थियो । समय–समयमा आउने यस्ता आँधीकाे नाम कसरी र केबाट राखिन्छ भन्ने जान्नु पनि महत्वपूर्ण हुन्छ । 

बिबिसीका अनुसार १९५३ देखि अमेरिकाको मायामीस्थित नेशनल हेरिकेन सेन्टर र संयुक्त राष्ट्र संघको वल्र्ड मेटिरियोलजिकल अर्गनाइजेशन (डब्ल्युएमओ) को अगुवाइमा विशेषज्ञकाे एक प्यानलले आँधीतुफानको नाम राख्दै आएका थिए । 



पहिले उत्तरी हिन्द महासागरमा उठ्ने आँधीको कसैले पनि नाम राख्दैनथे । जानकारहरुका अनुसार साँस्कृतिक विविधता भएको क्षेत्रमा नाम राख्दा निकै सावधानी अपनाउनु पर्ने थियो । यस्ता क्षेत्रमा नाम राख्दा मानिसहरुकाे भावना चाेट पुग्न सक्ने र नामकै कारण विवाद उत्पन्न हुन सक्ने अवस्था पनि हुन सक्थ्याे । 

२००४ मा डब्ल्युएमओको अगुवाईमा बनेकाे अन्तर्राष्ट्रिय प्यानल भंग गरियो । यसपछि सम्बन्धित देशले आफ्नो आफ्नो क्षेत्रमा आउने आँधीको नाम आफैँ राख्न थाले । यही वर्ष भारतकाे पहलमा हिन्द महासागर क्षेत्रका आठ देशले आँधीतुफानको नाम राख्ने व्यवस्था सुरु गरे ।

भारतबाहेक यसमा बंगलादेश, पाकिस्तान, म्यान्मार, माल्दिभ्स, श्रीलंका, ओमान र थाइल्यान्ड सहभागी छन् । यी देशले ६४ नामको सूची बनाएका छन् । सूचीमा प्रत्येक देशले आठ वटा नाम राखेका छन् । अब आँधी विशेषज्ञको प्यानलले प्रत्येक वर्ष बैठक बस्ने र आवश्यक परे यो सूची फेरि भर्न सक्नेछ । 

याेपटक ‘फानी’ को नामाकरण बंगलादेशले गरेको हो । बंगलादेशमा यसको उच्चारण फोनी हुन्छ, जसको अर्थ सर्प हो ।

तरपनि धेरै सावधानीपूर्वक नाम राख्दासमेत  समय समयमा विवाद हुनेगर्छ । २०१३ मा ‘महासेन’ आँधीको नाममा विवाद भएको थियो । श्रीलंकाले राखेको नाममा केही वर्ग र अधिकारीहरु सहमत थिएनन् ।

उनीहरुका अनुसार राजा महासेनले श्रीलंकामा शान्ति र समृद्धि ल्याएका थिए, यसकारण विपदको नाम महासेन राख्नु गलत हो । यसपछि उक्त आँधीको नाम फेरेर ‘वियारु’ राखिएको थियो । 


  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार ११:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया