Sun, 15 Dec, 2019


कथा
[फिक्सन] शिखर इज सट डेड, इन बानेश्वर
फरकधार / कात्तिक ३०, २०७६

दिनभर काम गरेर थाकेर कोठामा आइपुगेको थिएँ । विहान निस्किँदा टिभी बन्द गर्न बिर्सिएको रहेछु । टिभी खुलै थियो । एक्लै बस्ने मेरो कोठा यस्तै लथालिङ्ग हुन्छ ।



सोफामा बसेपछि मैले टिभीको च्यानल चेन्ज गरेँ । विहान म उठ्नेवित्तिकै टिभी खोल्दा धार्मिक च्यानल खोल्छु, भजनमय बनाउँछु मेरो कोठा । 

भजनबाट समाचार च्यानलमा मात्र के गएको थिएँ,  टिभीमा आइरहेको फ्ल्यास न्युजमा मेरो आँखा पर्यो । 

ठूला अक्षरमा त्यहाँ लेखिएको थियो– शिखर घिमिरेको गोली हानी हत्या । 

त्यसपछि एक एंकर टिभी स्क्रिनमा देखिइन् । झोलाबाट मोबाइल झिकेकाे थिइनँ । मेरो मोबाइल बज्न थाल्यो । म आफूमाथि गोली प्रहार भएको समाचार हेरिरहेकाे थिएँ । ती समाचारवाचिकाले भनिन्– केहीअघि मात्र शिखर घिमिरेलाई मिड बानेश्वरमा गोली हानी हत्या गरिएको छ, प्रहरीले यसबारे अनुसन्धान सुरु गरिसकेको छ, कसले गोली चलायो भन्नेबारे र अन्य थप जानकारी हामी दिँदै जानेछौँ, हेर्दै गर्नुहोला– लाइभ टिभी !

झोलामा मोबाइल बज्न छाडेन । म सोफाबाट उठेँ, किचनमा पुगेँ । फ्रिजमा मैले विहानै केही स्याउ काटेर राखेको थिएँ । लिएर फेरि लिभिङ रुममा नै आएँ । टेबलमा स्याउको प्लेट राखेपछि झोलाबाट मोबाइल झिकेँ । 

ममीको फोन रहेछ । सायद ममीले पनि टिभीहरुमा आइरहेको फ्ल्यास न्युज हेरेको हुनुपर्छ, त्यो समाचार पुष्टि गर्न उहाँले मलाई फोन गर्नुभएको हुनुपर्छ ।

मैले चार पटकसम्म ममीको फोन उठाइनँ । यो मेरो पुरानै बानी हो, हत्तपत्त परिवारका सदस्यको फोन उठाउने गर्दिनँ म ।

तर, यी चार फुल रिङको बीचमा मलाई अरु साथी र नातेदारका पनि १४ कल आएका थिए । मलाई थाहा छ, यी सबै कल त्यही मेरो हत्या भएको हो भन्ने निश्चित हुनका लागि थिए ।

टिभीको छेउमै हिजो राति खाँदाखाँदै छोडेको रेड वाइनको हाफ बोतल बाँकी थियो, मैले गिलासमा खनाएँ । खासमा म त्यति रेड वाइन खान्नँ, आइ लभ ह्विस्की । तर, यो वाइन मेरो साथीले ल्याइदिएको थियो, युकेबाट फर्किँदा । अनि साथीले ल्याइदिएकाले यसलाई मैले एक वर्षदेखि प्रिजभ गरेर राखेको थिएँ ।

हिजोमात्र यो रेडवाइन खोलेको थिएँ, आज आफूमाथि गोली चलेको समाचार सुनिरहेको छु । मैले टिभीमा अरु समाचार च्यानलहरु पनि खोलेँ । सबैमा स्क्रोलमा र फ्ल्यास न्युज भन्दै शिखर घिमिरेमाथि गोली चलेको समाचार आइरहेको थियो । 

मैले टिभी बन्द गरेँ ।

गिलासमा हालेको रेड वाइनको एक सिप लिएँ । एक टुक्रा स्याउ टोकेँ । अरु दिन यस्तै थकित हुँदा यति बेला म बाथटबमा हुन्थेँ, तातो पानीमा । आज टिभीमा छु, समाचारमा । 

वाइन ग्लास अगाडिको सिसा टेबलमा राखेँ । यो सिसाको टेबल मलाई खास लाग्छ, यसमा स्वस्तिक चिह्न छ, बीचमा । तर, जतिबेला म यो टेबलको ठिक अगाडि बसिरहेको हुन्छु, मैले हत्या र हिंसाका घटनामात्र सुनिरहेको हुन्छु । आज आफूमाथि गोली हानेको समाचार मैले सुनेँ । 

फेरि ममीको फोन आयो । खासमा मलाई फोन उठाउन मन थिएन, तर ममीकै भएकाले मैले उठाएँ । 

‘बाबु,’ यही एउटा शब्द मात्र भन्नु भयो ममीले, त्यसपछि म बोलेँ । 

कुरा सकियो, मैले फोन राखेँ ।

 

खासमा शिखर घिमिरे मारिनु पर्ने कोही होइन । काठमाडौंको कलंकी नजिकै एउटा घरको सबैभन्दा माथिल्लो फ्ल्याटमा डेरागरि बस्ने शिखर घिमिरेले यसअघि कसैलाई मारेको पनि छैन ।

तर, सहरमा जो मारिनु पर्ने हो, उसलाई मारिँदैन । जो मारिनु पर्ने होइन, उसमाथि आजभोलि गोली प्रहार हुन थालेको छ । र, यो गोली प्रहार भएको विषयमा समाचार नबन्नु पर्ने हो, तर आजभोलि प्रत्येक घन्टा यस्तै गोली प्रहारका नयाँ समाचार आइरहेका छन् । 

मेरो मोबाइल फेरि बज्यो । यो पुतलीसडकको रेस्टुरेन्टको साहुको नम्बर हो । म बेलाबेला त्यहाँ गइरहेको हुन्छु, कफी पिउन, ह्विस्की पिउन । 

मैले मोबाइल उठाइनँ ।

उसको रिङ सकिने वित्तिकै एउटा टेक्स्ट आयो । ‘हे, ब्रो ह्वाट्स अप ?’ यो म गइरहने अर्को बारको म्यानेजरको हो । यी दुवै रेष्टुरेन्ट र बारमा मैले केही पैसा तिर्न बाँकी छ । त्यसैले उनीहरु मेरो मृत्यु भएको हो कि भनेर हायलकायल छन्, म मारिएको खण्डमा मेरो क्रेडिटको पैसा उनीहरुले कसैबाट उठाउन सक्ने कुरा नै भएन । 

तर, टिभीमा समाचार आउन छाडेको छैन । एउटा टिभीले भर्खर बानेश्वर चोकको भिडियो देखायो । ट्राफिक निकै बढेको रहेछ । मानिसहरु एक छेउमा किनै ठूलो भीड बनाएर बसिरहेका थिए । टिभीको क्यामेरा पर्सन अगाडि बढ्यो । भीडलाई छिचोल्दै ऊ प्रहरीले क्राइम सिनको ब्यारिकेड लगाएको ठाउँसम्म पुग्यो । 

अनि जुम गर्यो क्यामेरा । मेरो अनुहारमा फोकस गर्यो र देखायो– मेरो मृत शरीर, मेरा मृत आँखा । 

ठिक यही बेला मेरो गर्लफ्रेन्डको फोन आयो । 

‘हेलो, हु द हेल सट यु,’ मेरीले सोधी । 

म केही बोलिनँ । खासमा आज म मारिनु पर्ने दिन नै थिएन । गलत दिनमा ममाथि गोली प्रहार भएको थियो, गलत दिनमा ममाथि गोली प्रहार भयो भनेर समाचार आएको थियो । 

आजकै दिन विहान नुहाइधुवाइ गरेर म संकटा मन्दीर पुगेका थिएँ । केही दिनअघि एकजना ज्योतिषीले मलाई संकटा मन्दिर गएर दान गर्नू भनेका थिए । मैले त्यहाँ एउटा त्रिशुल किनेको थिएँ, मन्दिरमा चढाएको थिएँ । मन्दिर बाहिर रहेका जोगीहरु प्रत्येकलाई २० रुपैयाँ दिएको थिएँ । यति दान गर्दा ममाथिको संकट हराउँछ भन्ने विश्वास थियो । 

त्यहाँबाट म सोझै द एक्स पार्टीका प्रमुखलाई भेट्न पुगेको थिएँ । उनीसँग मेरो सम्बन्ध अहिले अत्यन्त राम्रो छ । एक्स पार्टी अहिले सरकारमा छ र प्रहरी र सहरमा गोली चलाउन सक्ने ठूला तस्करहरु उसकै ‘अन्डर’मा छन् । आज विहान भएको हाम्रो भेटमा पनि कुनै नराम्रो कुरा भएको थिएन, हामीले गर्ने कामहरुबारे राम्रो छलफल भएको थियो । आज विहान मेरा कुनै प्रस्ताव थिएनन् । एक्स पार्टीसँग वा सरकारसँग मैले यति बेला कुनै ठेक्काको कुरा पनि गरेको थिइनँ । 

त्यसैले ममाथि गोली एक्स पार्टीको निर्देशनमा हानिएको पक्कै थिएन ।

एक्स पार्टीका प्रमुख तथा सरकारका प्रमुखसँग भेटेर फर्किएपछि म द वाइ पार्टीका प्रमुखसँग लन्चमा गएको थिएँ । द वाइ पार्टी अहिले देशको मुख्य प्रतिपक्ष हो । उसको मातहतमा पनि केही तस्करहरु छन् जसले सहरमा आजभोलि गोली चलाउन थालेका छन् ।

द एक्स र वाइ पार्टीका तस्करहरु जसले गोली चलाए पनि १६ मिनेट १८ सेकेन्ड पहिले नै पार्टी प्रमुखहरुलाई थाहा दिइन्थ्यो । यो मैले उनीहरुले भनेकै कारण थाहा पाएको थिएँ । उनीहरुले बढो जोड दिएर १८ सेकेन्ड भनेका थिए । त्यसलाई पनि मैले नोट गरेको थिएँ ।

द एक्स र वाइ पार्टी दुवैले ममाथि गोली चलाएका थिएनन् । 

तर, कसले चलायो त त्यो गोली ? किन मारियो शिखर बानेश्वरमा ? 

मैले मेरीलाई कुनै जवाफ दिइनँ । उसले मोबाइल राखिसकेकी थिइनँ । उसको आवाज सुनिएको पनि थिएन । मैले गिलासमा भएको रेड वाइन सकाएँ । 

अनि मोबाइलमा भनेँ, ‘डियर ।’

उसले रुन्चे स्वरमा भनि, ‘म आउँदै छु ।’

रातको ठिक नौ बजेको थियो । उभन्दा २२ किलोमिटर पर भक्तपुरमा बस्थी । ऊ आउने नै भइ । मैले रेड वाइन फेरि गिलासमा थपेँ, दुई टुक्रा स्याउ खाएँ । 

अनि फेरि टिभीको च्यानल फेरेँ । 

टिभीमा ममाथि गोली हानिएको समाचारको विश्लेषण आइरहेको थियो । दुई जना विश्लेषक थिए, एक जना प्रहरी अधिकारी टिभी प्रस्तोताका अगाडि बसेका थिए । मैले उनीहरुको विश्लेषण सुन्न चाहिनँ । टिभी बन्द गरेँ । मोबाइल फेरि बज्यो ।

मैले यो कल पनि उठाइनँ । कल सकिने वित्तिकै मोबाइल स्विच अफ गरेँ । 

मेरो कोठाबाट ठ्याक्कै बाहिर हेर्दा स्वयम्भू देखिन्छ । स्वयम्भूको टुप्पोमा रातो बत्ती बालिएको थियो । यो बत्ती ११ औं शताब्दिमा नेपालमा इनोभेट गरिएको हो भन्ने एक्स पार्टीका नेताहरुले बारम्बार भनिरहन्थे । केही वर्षअघि यो बत्ती निभेको थियो । फेरि बल्न थालेको केही साता मात्र भएको थियो । र, यो भएको थियो, द एक्स पार्टीको सफलता, उपलब्धि ।

मैले यस विषयमा कहीँ आलोचना पनि गरेको छैन, कुनै प्रतिक्रिया पनि दिएको छैन । त्यसैले एक्स पार्टी मसँग रुष्ट छैन । रुष्ट भएको खण्डमा एक्स पार्टीले जे पनि गर्न सक्छ । केही दिन अघि उसले आफ्नै नेता पक्राउ पर्दा कुनै प्रतिक्रिया दिएन, उसलाई निर्वाचनमा लाखौँ सहयोग गरेका धनाढ्य पक्राउ पर्दा उसका नेताले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । यसरी नै देश चलिरहेको छ, एक्स पार्टी रुस्ट हुनुहुँदैन । भएको खण्डमा जे पनि हुनसक्छ, केही पनि नहुन पनि सक्छ । 

मैले आफूमाथि गोली प्रहार भएको समाचारमा थप तथ्य आइसकेको होला भन्ने अनुमान गरेँ । फेरि टिभी खोलेँ । 

‘छाती र टाउकोमा गोली लागेको प्रारम्भिक रिपोर्ट आएको छ,’ एउटा टिभीमा समाचार आइरहेको रहेछ । मैले छाती छामेँ, टाउको छामेँ । म मारिएको थिइनँ । अघि जुन टिभीमा जुम गरेर अनुहार देखाइएको थियो, त्यो फेरि मेरै थियो । 

‘यस्तो कसरी हुनसक्छ ?’ मैले आवाज निस्किने गरि आफैंलाई सोधेँ । 

मैले मोबाइल अन गरेँ । अन गर्नेवित्तिकै मेसेज पप अप भयो । अफिसको सर्भरबाट आएको मेसेज रहेछ । ‘भोलि अफिस बिदा गर्ने निर्णय सन्चालक समितिले गरेको छ, शिखर घिमिरेलाई गोली हानिएको प्रति अफिस दुःख व्यक्त गर्दछ,’ मेसेजमा लेखिएको थियो । 

यसबीचमा अफिसबाट मेरा सहकर्मी र हाकिमको पनि फोन आएको थियो, मैले फोन रिसिभ गरेको थिइनँ । उनीहरुले टिभीको समाचारलाई अन्तिम सत्य माने, मेरो मृत्युमा एक दिन अफिस बिदा दिने निर्णय तत्काल लिए । मैले सोचेँ– म साँच्चिकै मारिँदा पनि अफिसले एक दिन चाहिँ बिदा दिने रहेछ !

तर, म किन मारिएँ वा ममाथि किन गोली चलाइयो ?

यो प्रश्नको उत्तर मसँग पनि छैन । भोलिका पत्रिकाहरुमा हेर्दा यसबारे केही नयाँ तथ्य पक्कै आउनु पर्छ । केही बेरमा अनलाइनहरुमा पनि यसबारे आउँछ । मैले फेसबुक चलाएको छैन, मेरो कोठामा इन्टरनेट छैन । फेसबुकमा पक्कै केही पोस्टहरु मेरो सम्झनामा लेखिएका छन्, मेरो गुणगान गाइएको छ । किनकि आइ एम सट डेड, इन बानेश्वर ।

तल गेट बज्यो । पक्कै मेरी प्रिय तल आइपुगेकी होलिन् । नभन्दै केही बेरमा कोठाको ढोकामा ढकढक बज्यो । मैले ढोका खोलेँ । 

उसले गल्र्याम्म अँगालो हाली । अनि सोधी त्यही अघिको प्रश्न, ‘ह्वाट द हेल, हु सट यु, यो के समाचार आइरहेको छ ?’

ऊ रुन थाली । उसलाई थाहा छ, मलाई द एक्स पार्टी र द वाइ पार्टीले मार्दैनन् ।

त्यसो हो भने कसले गोली चलायो त ममाथि ? 

यो भोलि थाहा हुनेछ । मिडनाइटमा अनलाइनहरुमा अपडेट हुनेछ, भोलिको पत्रिकाको फ्रन्ट पेजमा आउनेछ । 

 

शिखर घिमिरेकाे याे कथा पनि पढ्नुहाेस्:

द क्राइङ कम्पनी 
 



यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्